कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ७ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ७ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १२ हजार ६ सय ८४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ३ सय ६८ जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७०.१ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ७ गतेसम्म ४२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले २४ घण्टामा २ सय ७ जना निको भएका र १ सय जनामा कोरोना देखिएको जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ७ सय ७९ जनाको स्वाब परीक्षण गरिएको थियो ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका ५० वर्षीय एक व्यक्ति साउन ७ गते सम्पर्कविहीन भएका छन् । विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा स्वाब सङ्कलन गरेर परीक्षणका लागि कोशी अस्पतालमा पठाइएका व्यक्ति सम्पर्कविहीन भएका हुन् । साउन ६ गते गरिएको परीक्षणबाट उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिकाले खोजी थालेपनि सङ्क्रमित व्यक्तिको पहिचान हुन नसकेको र फेला पार्न नसकेको विराटनगर महानगरपालिकाका प्रवक्ता उद्धव अर्यालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो । स्वाब सङ्कलन गर्ने क्रममा ती पुरूषको स्थायी ठेगाना लेखिएको थिएन । ठेगानामा विराटनगर मात्रै उल्लेख गरिएको छ । पूरै ठेगाना नटिपेका कारण कोरोना पोजेटिभ देखिएका उनलाई फेला पार्न नसकिएको प्रवक्ता अर्यालले बताउनुभयो ।
एक जना प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि विराटनगरस्थित प्रदेश १ प्रदेश प्रहरी कार्यालय सील गरिएको छ । सङ्क्रमण पुष्टि भएका प्रहरीलाई केही दिन अघि ज्वरो र हाच्छ्यूँ आउने लक्षण देखिएपछि होम क्वारेण्टाइनमा बस्दै आएका थिए । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा साउन ७ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले बताउनुभयो । कोरोना पुष्टि भएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको एसपी पोखरेलले बताउनुभयो ।
प्रदेश २
प्रदेश २ मा साउन ७ गते सम्ममा जम्मा ४ हजार ७ सय २० जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ८ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ८ सय ७८ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ७ गते सम्ममा ७ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजमा समुदायमा कोरोना सङ्क्रमण फैलिए पछि सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यको अध्यक्षतामा साउन ७ गते बसेको जिल्ला सुरक्षा समिति सप्तरीको बैठकले साउन ८ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवम् प्रशासकीय अधिकृत आनन्द ठाकुरले फोन गरेर इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो । प्रवक्ता ठाकुरले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसामान ओसार पसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैङ्किङ् सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युतिय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाहरू बाहेकको सेवा स्थलहरूमा अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको बताउनु भयो । उपरोक्त अत्यावश्यक कामहरूसमेत तोकिए बमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डहरूको पूर्ण पालना गरी गर्न, गराउन निषेधाज्ञा जारी गरिएको बताउँदै ठाकुरले आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारवाही गरिने बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार रौतहटको सिमा नाका साउन ३२ गतेसम्म बन्द रहने भएको छ । मुलुकभर चैत ११ गतेदेखि लगाइएको लकडाउन नेपाल सरकारले साउन ७ गतेदेखि अन्त्य भएको घोषणा गरेको भएतापनि सिमा नाका भने साउन ३२ गतेसम्म बन्द रहने जनाएको छ । माल–सामान ढुवानीको लागि भने सिमा खुला नै रहने जनाइएको छ । रौतहटका अधिकांश व्यावसायीहरूले बरगनियाबाट विभिन्न सामग्रीहरू ल्याउने गरेका थिए । लकडाउनसँगै सिमा नाका बन्द भएपछि रौतहटका व्यवसायीहरू भारतीय बजार बरगनिया आवत जावतमा समेत बन्द हँुदै आएको छ । कोरोना भाइरसको अन्त्य नभएकोले तत्काल भारत प्रवेश नगर्न चन्द्रपुर नगरपालिका–६ का वडाअध्यक्ष खड्गबहादुर कुसवाहाले सुझाव दिनु भयो । तत्काल आम नागरिक सचेत रहनुपर्ने देखिएको र आवश्यकता भन्दा बढी बाहिर नहिँड्न, सिमा नाका पारी नजान र यदि नाकाबाट आएको जानकारी भएमा तुरुन्त क्वारेण्टाइनमा राख्ने जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…