कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ५ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ८ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ५ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये ११ हजार ८ सय ६८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ९ सय ३६ जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ६६.५ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले २४ घण्टामा १ सय ७३ जना निको भएका र १ सय ८६ जनामा कोरोना देखिएको जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा १५ जना, प्रदेश २ मा ८५ जना, बागमती प्रदेशमा तीन जना, गण्डकी प्रदेशमा १२ जना, प्रदेश ५ मा १९ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा ४१ जनामा कोरोना देखिएको हो ।
प्रदेश २
प्रदेश २ मा साउन ५ गते सम्ममा ४ हजार ६ सय ३६ जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ६ सय ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ९ सय ३३ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ५ गते सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार तेस्रो मुलुक र भारतको कोरोना अति प्रभावित क्षेत्रबाट आएका मानिसहरूलाई पछिल्लो समय होम क्वारेण्टाइन भनी घरमै राख्न थालिएको र क्वारेण्टाइनमा बसेकाहरूलाई पनि परीक्षणको परिणाम नआउँदै घर पठाउन थालेपछि जोखिम बढेको राजविराज नपा–३ का दिपेन्द्रकुमार दासले बताउनु भयो । सुरुङ्गा नपा–१ स्थित शिशुवारी क्याम्पसको क्वारेण्टाइनमा बसेकाहरूको स्वाब लिएर परिणाम नआउँदै घर पठाइएकोमा तीन जनाको रिपोर्ट साउन ३ गते पोजिटिभ आएपछि गाउँमा सन्त्रास फैलिएको सुरुङ्गा नगरपालिकाका राजकुमार राउतले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश
नवलपरासी बर्दाघाट सुस्ता पूर्व जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार साउन ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मानव अधिकार संरक्षण तथा सम्बद्र्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको बिनयी त्रिवेणी गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहज होस भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको छ । इन्सेकले गठन गरेको मानव अधिकार समूह बिनयी त्रिवेणी गाउँपालिकाका संयोजक धर्मराज जिशी, सदस्य तेज प्रसाद कोईराला र भुना पंगेनीको उपस्थितीमा गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिशीलाई पाँच सय थान माक्स, एक लिटर सेनेटाइजर र दुई थान थर्मल गन हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष जीशीले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा सानो सहयोगले पनि ठूलो महत्व राख्ने बताउनुभयो । गाउँपालिकाले कोरोना रोकथामका लागि विभिन्न प्रयास गरिराखेको समयमा इन्सेकले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा फेरि यस प्रकारको सहयोग र सहकार्य गर्नसमेत उहाँले अनुरोध गर्नुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…