कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २५ गते)

  ०७७ असार २५ गते

पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको नमुना परीक्षण भएको छ । योसँगै नेपालमा १६ हजार ५ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ७ हजार ८ सय ९१ जना डिस्चार्ज भएका छन् । ३५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश २ मा ४ हजार २ सय ६२ जनामा कोरानो पुष्टि भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ७ सय २२ जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १

प्रदेश १ मा असार २५ गते थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ७ सय ४ पुगेको छ । प्रदेशमा असार २५ गते १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल सङ्ख्या ५ सय ४१ पुगेको छ ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार इन्सेकले असार २५ गते माई जोगमाई गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना जोखिम न्यूनीकरणका लागि इन्सेक प्रदेश १ कार्यालयले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार इन्सेकले असार २५ गते बेलका नगरपालिकालाई कोरोना जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

प्रदेश २

प्रदेश २ मा असार २५ गते सात जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ६८ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये २ हजार २ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार कोरोना भाइरस न्यूनिकरणका लागि नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावित भएका गरिब, विपन्न र मजदुरहरूका लागि प्रदेश सरकारले राहत वितरणको दोस्रो चरणमा बटेश्वर गाउँपालिकालाई उपलब्ध गराएको ३ सय पोका राहत सामग्री गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत (गणेश राउत) ले समयमा नबाँड्दा कुहिन थालेको छ । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालय धनुषामार्फत बटेश्वर गाउँपालिकाको पाँच ओटा वडाका लागि ६० पोकाको दरले तीन दिन भित्र वितरण गर्ने आदेशसहित उपलब्ध गराए पनि सो राहत सामग्री नबाँड्नाले स्थानीय बासिन्दाहरू राहतबाट वञ्चित भएका छन् । राहत समाग्रीमा प्रति पोका ३० किलो चामल, दुई किलो मंसुरी दाल, एक लिटर खाने तेल, एक प्याकेट नुन, आधा किलो सोयाबिन र एउटा हात धुने साबुन रहेको छ । बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत र गाउँपालिकाका कार्यकारी अधिकृत सावन चौधरीले राहत सामग्री वितरण कार्यमा उदासिनता देखाएकाले वितरण नभएको बटेश्वर गाउँपालिका–१ का वडा सदस्य पुष्पलाल महतोले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो । राहत नपाएकाले बटेश्वर गाउँपालिका–२ भुचक्रपुर बस्ने प्रदिप ठाकुरको लकडाउनले दैनिक काम गर्ने वातावरण नभएपछि ६ जनाको परिवारको खर्च धान्न नसकेर उधारो र छरछिमेकी, आफन्तहरू लगायतको सहयोगले घर खर्च चलाउँदै आएको उहाँले बताउनु भयो । बटेश्वर गाउँपालिका–१ चित्रपुर बस्ने जन्मजात दृष्टिविहीन रहेका मुसहरु महतोले सरकारले गरेको लकडाउनका बेलामा राहत सामग्री दिएको आफुले सुनेपनि आफ्नो परिवारलाई राहत भने नदिएको गुनासो गर्नु भयो । बटेश्वर गाउँपालिका अध्यक्ष राउतले प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालय धनुषामार्फत उपलब्ध गराएको राहत सामग्री वितरणमा ढिलाइ भएको स्वीकार गर्नु भयो । राहत सामग्रीमा किरा नलागेको उहाँले दाबी गर्नु भयो । तर, राहत सामग्री उपलब्ध गराएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका कार्यालय प्रमुख संजिप दुब्बेका अनुसार तीन दिनभित्र वितरण गर्नु पर्ने राहत सामग्री महिनौसम्म वितरण नगरिएकाले आफूहरूलाई गाउँपालिका अध्यक्षले स्पष्टिकरण दिनुपर्ने बताउनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार लकडाउनको मौका छोपी चन्द्रपुर नपा–१ मा रहेका बागमती बचत तथा ऋण सहकारी, श्रृजनशिल कृषि सहकारी र उन्नतिशिल महिला कृषि सहकारी संस्था र कृषि सामग्री कम्पनीबाट मल खाद्य लगेर महङ्गोमा कृषकलाई विक्री गरेको आरोपमा चन्द्रपुर नगरपालिका–१ बागमतिका ५० वर्षीय सत्यलाल साहलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भयो । सहकारीको नाममा मलखाद्य लगेर किसानलाई चर्को मुल्यमा बेच्नुका साथै मकवानपुरसम्म कालोबजारी गरेको गुनासोको आधारमा साहलाई गिरफ्तार गरेको डिएसपी शाहीले बताउनु भयो । कालोबजारी गर्न सिफारिस गर्ने तीन ओटै सहकारीलाई समेत कारबाहीको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ ।

बागमती प्रदेश

यस प्रदेशमा असार २५ गते थप ११ जनामा कोरोना सङ्क्रमणका बिरामीको पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ सय १८ जना पुगेको छ जसमध्ये २ सय ६९ जना उपचारपछि घर फकिएका र ६ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार २५ गते थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ४९ पुगेकोे छ भने सङ्क्रमणबाट निको हुनेको सङख्या ४ सय ६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।

सुदूरपश्चिम प्रदेश

अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार बयालपाटा अस्पतालमा उपचारमा संलग्न ३० वर्षीया एक जना स्वास्थ्यकर्मीमा असार २४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बयलपाटा अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू असार २५ गतेबाट बन्द गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताउनु भयो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएकोले अर्को पीसीआर परीक्षणको रिपोर्ट नआउँदासम्म अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर गौचनको भनाइ छ । जिल्ला सदरमुकामस्थित प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानमा कोरोना सङ्क्रमण भएपछि सूचना प्रकाशित गरेर मङ्गलसेन प्रहरी चौकीमा असार २४ गते साँझदेखि चौकीमा कार्यरत प्रहरी बाहिर जान र अन्य व्यक्तिहरूलाई प्रहरी चौकीमा आउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेशदत्त जोशीले जानकारी दिनु भयो । स्वास्थ्य अवस्था सामान्य भए पनि सङ्क्रमित प्रहरीलाई उपचारका लागि आइसोलेशनमा राखिएको छ । हालसम्म जिल्लामा ६ सय ३ जना कोरोना सङ्क्रमित भएकोमा ९२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।


अनलाइन डेस्क