कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १५ गते)
सरकारले लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । अहिले खुकुलो पारिएको लकडाउनलाई यही अवस्थामा लम्ब्याउने सरकारको निर्णय रहेको सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसैगरी हवाइउडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द नै रहने जनाइएको छ । गत जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो पार्ने तथा पैदल आवागमन खुला गर्ने र जोरविजोरका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार २ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २२ ओटा प्रयोगशालामा ७ हजार ७ सय ९१ जनाको स्वाब परीक्षण गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट असार १५ गतेसम्म १ हजार ५ सय ६८ जना महिला र ११ हजार ६ सय ६२ जना सङ्क्रमिट भएका मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । सङ्क्रमितमध्ये २९ जनाको मृत्यु, ३ हजार १ सय ३४ जना डिस्चार्ज र १० हजार ८५ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमितहरूको सङ्ख्याका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रौतहटमा १ हजार ३ सय ४३, दैलेखमा ७ सय ७६, कपिलवस्तुमा ७ सय ४४ र सर्लाहीमा ६ सय ४९ जना पुगेको छ । यी चार जिल्लालाई कोरोना सङ्क्रमणका अति जोखिम जिल्लाहरूको सूचीमा राखेको छ ।
प्रदेश २
प्रदेश २ मा असार १५ गते २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय ८९ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार ६ सय ३० जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा असार १३ गते मृत्यु भएका रौतहटको फतवा विजयपुर नगरपालिकाका दमका रोगी ३० वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई श्वासप्रस्वासमा समस्या भएपछि असार १३ गते घरबाट स्टार अस्पताल काठमाडौँ लगेर सोही दिन कोभिड आइसीयूको भेन्टिलेटरमा राखिएको थियो । उपचारका क्रममा उनको स्वाब सङ्कलन गरी पाटन अस्पतालमा पीसीआर परीक्षण गर्दा असार १४ गते कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो । ती युवकको छातीमा गम्भीर समस्या देखिएपछि केही महिना अघि भारतमा समेत उपचार गरिएको मेडिकल हिस्ट्रीमा देखिएको तिवारीले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा असार १५ गते १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ६ जना, चितवनका चार जना, धादिङाका दुई जना तथा भक्तपुर, ललितपुर, काभ्रे र मकवानपुरका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय ७ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।
ललितपुर जिल्लामा असार १५ गते कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको डाक्टर सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार १५ गते थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९ सय ४९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना अस्पताल बनाउँदा ओपीडी सेवाका बिरामी मर्कामा परेको भन्दै नागरिक संस्थाका अगुवाहरूले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनको ध्यानाकर्षण गराएका छन् । गैसस महासङ्घका महासचिव रामप्रसाद सुवेदी, गैसस गण्डकी प्रदेश अध्यक्ष विना सिलवाल, इन्सेक गण्डकी संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जाल अध्यक्ष विष्णु बराललगायतको टोलीले मन्त्रालयमा भेट गरी दैनिक ८ सयभन्दा बढी बिरामी नियमित जाँच हुने अस्पताललाई कोरोना अस्पताल बनाउँदा नागरिकहरूले सास्ती भोग्नु परेको भन्दै कोरोना सेण्टरको विकल्पको खोजीका लागि आग्रह गरेको हो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आँबुखैरेनी गाउँपालिका एक हप्ताको लागि बन्द गरिएको छ । कोरोना सङ्क्रमित देखिएपछि असार १४ गते बसेको गाउँपालिकाको आकस्मिक बैठकले अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत बुद्धिप्रसाद भुसालले बताउनु भयो ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा दैनिक ४ सयभन्दा बढी स्वाब परीक्षण गर्दै आएको पीसीआर मेसिन असार १३ गतेदेखि बिग्रिएकाले परीक्षणमा बाधा पुगेको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले सफ्टवेरमा समस्या आएको हो की भनेर जाँच गर्दा हार्डवेरमै समस्या देखिएकाले बिग्रिएको मेसिनलाई असार १४ गतेदेखि थप मर्मतका लागि पहल गरिएको बताउनु भयो । हार्डवेरमा देखिएको समस्यालाई तत्काल समाधान गर्न नसकिने, विदेशबाट प्राविधिक झिकाउने वा मर्मतका लागि विदेश पठाउने भन्ने बारेमा टुङ्गो नलागेको र मर्मतका लागि निर्देशनालयले सप्लायर्स कम्पनीलाई जानकारी पत्र पठाइसकेको निर्देशक भण्डारीले जानकारी दिनु भयो । भण्डारीका अनुसार पीसीआर परीक्षण गर्ने मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको स्वाब परीक्षण अर्को पोर्टेबल मेसिन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र अन्य स्थानबाट पीसीआर परीक्षण गर्ने कार्य भइरहेको छ । सञ्चालनमा आइनसकेको दैलेखको बाहेक कर्णाली प्रदेशमा तीन ठूलो र एक सानो गरी चार ओटा पीसीआर परीक्षण गर्ने मेसिन रहेका छन् ।
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार देशको दोस्रो र कर्णाली प्रदेशमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित सङ्ख्या भएको दैलेखमा कोरोना परीक्षण प्रयोगशालामा जडित पोलिमेराज चेइन रियाक्सन (पीसीआर) मेसिन असार १५ गतेदेखि प्रयोगमा आएको छ । जिल्लास्तरीय पहलमा प्रयोगशाला स्थापना गरिएको दैलेख पहिलो हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…