कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १४ गते)
कोरोना भाइरसको सङ्क्रमणबाट असार १४ गतेसम्म सङ्क्रमितको सङ्ख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । तिमध्ये २८ जनाको मृत्यु भएको, ३ हजार १३ जना निको भएर घर फर्किएका र ९ हजार ७ सय ३१ जनाको उपचार भइरहेको पनि डाक्टर गौतमले जानकारी दिनु भयो । मन्त्रालयका अनुसार ८९ प्रतिशत पुरुष र ११ प्रतिशत महिला सङ्क्रमित छन् ।
प्रदेश १
प्रदेश १ मा असार १४ गते थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ५ सय ६० पुगेको छ । असार १४ गते एक जना कोरोनाको उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेशमा कूल डिस्चार्ज हुनेको सङ्ख्या ३ सय ७७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खोटाङ प्रतिनिधि रामधन राइका अनुसार खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित क्वारेण्टाइन अव्यवस्थित भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. २ खोटाङका सभापति तीर्थराज भट्टराईले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनु भएको छ । धादिङबाट असार ३ गते घर आएका आठ जनालाई जीर्ण र पानी चुहिने क्वारेण्टाइनमा राखिएको, सरसफाई, पिउने पानी र शौचालयको व्यवस्था नभएको भन्दै आयोगको उपक्षेत्रीय कार्यालय खोटाङको समन्वयमा केन्द्रीय कार्यालय काठमाडौँमा उजुरी एिको भट्टराईले जानकारी दिनु भयो । उजुरीमा क्वारेण्टाइन मापदण्ड बमोजिम हुनु पर्ने र स्थानीय तहले निर्माण गरेका क्वारेण्टाइनहरूको बारम्बार अनुगमन गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
प्रदेश २
प्रदेश २ मा असार १४ गते ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय ६४ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार ५ सय ९० जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार सम्सी गाउँपालिका–६ स्थित अजिजिया एकेडेमीमा बनाइएको क्वारेण्टाइनमा ४५ जनालाई एउटै कोठामा सुताउने गरेको एक बिरामीले बताउनु भयो । एउटा शौचालय र एउटा चापाकल उनीहरूका लागि व्यवस्था गरिएकोमा गाउँलेहरूले समेत चापाकलमा पानी लिन र खाना खान आइपुग्ने गरेका छन् । दिनभरी क्वारेण्टाइनमा बसेर कतिपय व्यक्ति रातिको समयमा आफ्नो घरमा सुत्न जाने गरेका छन् । आइसोलेशन नहुँदा क्वारेण्टाइनमा कोरोना सङ्क्रमित राख्नु परेको सम्सी गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्जयकुमार यादवले बताउनु भयो । यादवका अनुसार सम्सीका कोरोना सङ्क्रमित २ सय ७३ मध्ये ३५ जनालाई पिपरा, जलेश्वरको आइसोलेशनमा भर्ना गरिएको छ भने २ सय ३८ जना अझै क्वारेण्टाइन मै छन् । ‘क्वारेण्टाइनमा रहेका सङ्क्रमित र त्यहाँ बस्नेहरूलाई बाहिर ननिस्कन भन्छौँ । तर, उनीहरूले मनोमानी गर्छन् ।’–यादवले बताउनु भयो । सम्सी गाउँपालिका–६ का वडाध्यक्ष शेक उमेदले स्रोतसाधन नहुँदा कोरोना सङ्क्रमितलाई व्यवस्थान गर्न समस्या रहेको र क्वारेण्टाइनमा बस्नेहरूसँगै कोरोना सङ्क्रमित बस्नु परेको बताउनु भयो । ‘क्वारेण्टाइनमा बसेकाहरू त बाहिर ननिस्किनु पर्ने हो । त्यहाँ त प्रहरी खटाएका छौँ ।’–प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भन्नुभयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले असार १४ गते सूचना प्रकाशित गर्दै जिल्लाको बौधिमाइ र इशनाथ नगरपालिकामा कोरोना सङ्क्रमण समुदाय तहमा गएको देखिएको हुनाले उक्त नगरपालिकाहरूका समुदायहरूबाट अर्को समुदाय वा व्यक्तिमा सङ्क्रमणको जोखिम न्यूनिकरण गर्नका लागि दुवै नगरपालिकाको नागरिकहरूलाई नगरपालिकाबाट बाहिर जान र भित्र आउन नपाउने गरी असार १४ गतेबाट अर्को निर्णय वा आदेश नहुञ्जेलसम्म लकडाउन गरिएको साथै बौधिमाई नगरपालिकाका केही कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएको हुनाले नगरपालिकाका अत्यावश्यकीय आन्तरिक कार्य बाहेक नगरपालिका तथा नगरपालिकाका सम्पूर्ण सेवाहरू अर्को निर्णय नहुञ्जेलसम्मका लागि बन्द गर्ने तथा बौधिमाई नगरपालिका वडा नं. ७ तथा वडा नं. ८ को कार्यालयहरू अर्को निर्णय वा आदेश नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय भएको हुनाले र सोही अनुसार सूचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार १४ गते थप सात जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ८ सय ९५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार समुदाय स्तरमा कोरोना सङक्रमण फैलिएको पुष्टि भएपछि काठेखोला गाउँपालिका असार १४ गते राति १२ बजेबाट २० गतेसम्म सिल गरिने गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । असार १४ गते बसेको गाउँपालिकको आकस्मिक बैठकले दुध, एम्बुलेन्स, प्रहरी र विकास निर्माणको काममा प्रयोग भएका सवारी साधनलाई निर्वाध रूपमा सञ्चालन हुन दिने र अन्य सबै सवारी आवतजावतमा पनि रोक लगाएको छ । त्यसैगरी बैठकले काठेखोला गाउँपालिका भित्र पर्ने मध्यपहाडी लोकमार्गमा विभिन्न स्थानबाट अन्य स्थानीय तहका लागि छुटेका सवारी साधनलाई गाउँपालिकाको कुनैपनि स्थानमा नरोकी सरासर यात्रा गर्नुपर्ने निर्णय गरेको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएपछि भिमसेन थापा गाउँपालिकाको तीन गाउँलाई सङ्क्रमित क्षेत्र घोषणा गरिएको छ । असार १४ गते बसेको कोरोना भाइरसको रोकथाम नियन्त्रण र ब्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्ट सुरक्षा समितिको संयुक्त बैठकले सो क्षेत्रको अत्यावश्यक सेवा बाहेक कुनै पनि क्रियाकलाप गर्न रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताउनुभयो ।
कणाली प्रदेश
सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार श्रीनगर बजार क्षेत्रमा मास्क बिना प्रवेश निषेध गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्न सक्ने देखिएकाले असार १४ गतेदेखि श्रीनगर बजार व्यवस्थापन समितिले बजारमा आउने जो कोहीलाई पनि मास्क लगाउन अनुरोध गर्ने र मास्क नभएकाहरूको लागि मास्क उपलब्ध गराउने निर्णय गरेको छ । कोराना महामारीविरूद्ध हालसम्म कुनै औषधि नबनेको हुँदा मास्क लगाउनु, हात धुनु र सामाजिक दुरी कायम गर्नु नै मुख्य उपाय भएकाले बजार व्यवस्थापन समितिले यो अभियान सुरु गरेको बजार व्यवस्थापन समिति अध्यक्ष हपिस भण्डारीले बताउनु भयो । बजार क्षेत्रमा प्रवेश गर्नेहरूको लागि कति मास्क चाहिने भन्ने एकीन नभए पनि हरेक दिन यो अभियान सञ्चालन गर्ने र आवश्यक मास्कहरू बजार व्यवस्थापन समितिले आफैँ खरिद गर्ने उहाँले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…