कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १६ गते)

  ०७७ वैशाख १६ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण भेटिएको जानकारी दिनुभएको छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा रौतहटका थप दुई जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हो । रौतहटमै क्वारेण्टाइनमा बस्दै आएका २४ र ३५ वर्षीय पुरुषको स्वाब काठमाडौँमा ल्याएर परीक्षण गरिएको थियो । वृन्दावन नगरपालिका भुसहाका २४ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । देवाही गोनाही नगरपालिकाका ३५ वर्षीय पुरुष पनि क्वारेण्टाइनमा बस्दै आएका थिए । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरूलाई वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रदेश १

प्रदेश १ सरकारले मोरङको मिक्लाजुङ गाउँपालिका-४ टाँडीबाट एक साता भित्रमा क्वारेन्टाइन सार्ने गरी तयारी थालेको छ । प्रदेश सरकारसँगको सहकार्यमा टाँडीमा नेपाली सेनाको सूर्यदल गणले सञ्चालन गरिरहेको क्वारेन्टाइन सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा सारिने भएको हो । यस विषयलाई लिएर मुख्यमन्त्री शेरधन राईले सबै पक्षसँग छलफल अघि बढाउनु भएको छ । सूर्यदल गणका प्रमुख सेनानी रघु पौडेलले टाँडीमा अनुकूल नभएका कारण गोठगाउँमा सारेर क्वारेन्टाइन सञ्चालन गरिने बताउनु भयो । कोरोना भाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएमा दाहसंस्कार एवम् अन्त्येष्टी गर्न मोरङमा शव व्यवस्थापन टोली तयार गरिएको छ । प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङले शव व्यवस्थापन टोली तयारी अवस्थामा राखेको हो ।

लकडाउनले गर्दा भौतिक पूर्वाधार विकासका कार्य ठप्प भएका छन् । सामग्री आपूर्ति सहज नहुँदा निर्माण कार्य सुचारू गर्न नसकिएको निर्माण व्यवसायीहरूले बताएका छन् । लकडाउन सुरू भएलगत्तै राहत बाड्ने होडबाजी चलेपछि लकडाउनको अवधि लम्बिदै जाँदा थप राहत बाड्ने कार्य कुनै निकायबाट भएको पाइएको छैन । यसले गर्दा अति विपन्न वर्ग तथा मजदूरहरूलाई दैनिक गुजारा चलाउन समस्या भएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका -२ भुटाहाका स्थानीयले राहतको चामल खाँदा पेट दुख्ने समस्या भएको र झाडावान्ता भएको आरोप लगाउदै वैशाख १६ गते चामल वडालाई फिर्ता गरेका छन् । वडाले वितरण गरेको राहत सामग्री गुणस्तरहीन भएको भन्दै फिर्ता गरेको मो. नौसाद सिद्धिकिले बताउनु भयो । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गुनासो आएको स्वीकार गर्दै त्यस विषयमा छानबिन हुने बताउनु भयो ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ 

प्रदेश २

प्रदेश २ अन्तर्गत रौतहट जिल्लाका थप दुई जना व्यक्तिमा पीसीआर परीक्षणमार्फत कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले वैशाख १६ गते मिडिया ब्रिफिङ्मार्फत जानकारी गराउनु भयो ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका-९ भुसहाका २४ वर्षीय युवक र देवाही गोनाही नगरपालिका-१ स्थित करुनीया टोलका ३५ वर्षीय युवकमा कोरोना भाइसर सङ्क्रमण पुष्टि भएको राष्ट्रिय प्रयोगशाला टेकुले जनाएको छ । २४ वर्षीय युवक गत चैत १७ गते भारतको कलकताबाट घर आएको र चैत २२ गते क्वारेन्टाइनमा राखिएको थियो भने ३५ वर्षीय युवक वैशाख ४ गते भारतको नयाँ दिल्लीबाट नेपाल आएका थिए । उनी नेपाल प्रवेश गरेको थाहा पाएपछि उनीसँगै परिवारलाई समेत क्वारेन्टाइनमा राखिएको थियो ।

रौतहटका दुवै नगरपालिका कन्ट्रयाक्ट ट्रे्सिङ लगायतका कार्य गर्नका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दुई ओटा टोली त्यसतर्फ पठाएको छ । मेडिकल डाक्टर र ल्याव टेक्निसियन सहितको टोली पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशका आठ ओटै जिल्लामा खुला सिमानामार्फत कुन कुन जिल्लामा के कति व्यक्ति आएका छन् ? उनीहरू कसरी बसोबास गरिरहेका छन् ? उनीहरू क्वारेन्टाइनमा बसेका छन् कि छैनन् ? उनीहरूको आरडीटी वा पीसीआर परीक्षण हुन सकेको छ कि छैनन् ? लगायतका विषयहरूलाई प्रदेश सरकार तथा सुरक्षा निकायले उच्च प्राथामिकतामा राखेर खोजी गरिरहेको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर घिमिरेले बताउनु भयो ।

राहत वितरणमा अनियमितता र पक्षपात भएको भन्दै सप्तरीको कञ्चनरूप नगरपालिका-९ को कार्यालयमा स्थानीय बासिन्दाले वैशाख १६ गते तालाबन्दी गरेका छन् । गरिबले पाउने राहत धनीले पाएको र पक्षपात गरेको भन्दै स्थानीय बासिन्दाले वडा कार्यालय र राहत राखिएको कोठामा तालाबन्दी गरेका हुन् । सर्वदलीय समितिको वैठकले वडाको गरिब, विपन्न ५ सय घरधुरीलाई राहत वितरण गर्न लागिएको जानकारी दिँदै वडा अध्यक्ष लक्ष्मण यादवले गरिब, विपन्नका लागि आएको राहतमा सबैले दावी गरेको र सरकारले पठाएको पैसामा सबैलाई भाग लगाउनु पर्ने भनेर विवाद गर्दै तालाबन्दी गरेको बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

चितवनस्थित कोरोना विशेष अस्प्तालमा रहेका सामानहरू चोरी भएको भनी अध्ययन गर्न समिति गठन भएको छ । अस्पतालको महत्वपुर्ण उपचार सामान चोरी गरेको सीसी क्यामरा फुटेज वैशाख १५ गते सार्वजनिक भएपछि अस्पताल सञ्चालन कार्यदल समितिका सदस्य राजु पौडेलको सयोजकत्वमा ३ सदस्यीय टोली वैशाख १६ गते गठन भएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरू सजय बराल, फणिन्द खनाल र सुर्य तिवारीले रातको समयमा चोरी गरेको भनी भिडियो नै सार्वजनिक भएपछि उनीहरूलाई तत्काल निलम्बन गर्न नेपाली कांग्रेस चितवनले १६ गते नै प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । चैत ११ गतेदेखि बन्द गरिएको वीपी कोइराला मोमोरियल क्यान्सर अस्पतालको ओपीडी सेवा वैशाख १६ गतेबाट सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ ।

इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडाले भक्तपुरको चाँगुनारायण नगरपालिकाको स्वास्थ्य संस्थाका लागि वैशाख १६ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को वैशाख १६ गतेको बैठकले गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समन्वय समिति गठन गर्ने, गण्डकी प्रदेशका ११ ओटा जिल्लामा सघन उपचार कक्ष निर्माणका लागि बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ ।

पर्वत जिल्लामा सञ्चालित कोरोना अस्पतालमा भर्ना गरिएकी एक महिला अस्पतालबाटै भागेकी छन् । फिभर क्लिनिकमा वैशाख १६ गते मध्यान्ह आएकी कुश्मा नगरपालिका-३ की एक महिलामा कोरोना लक्षण देखिएपछि चिकित्सकहरूको सल्लाह बमोजिम उनलाई आइसोलेसनमा राखेर पीसीआर विधिबाट स्वाब परीक्षणका लागि पोखरा पठाउन लागिएको र उनी भर्ना भए लगत्तै भागेपछि खोजी गर्ने क्रममा सुरक्षाकर्मीले कुस्मा-ज्ञादी झोलुङ्गे पुल नजिक फेला पारेर पुनः अस्पतालमा राखिएको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

कोरोना भाइरसविरूद्ध लड्नका लागि प्रदेश ५ सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकहरूलाई परिचालन गर्ने भएको छ । आयुर्वेद चिकित्सामार्फत मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उनीहरूलाई परिचालन गर्न लागेको प्रदेश ५ सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयले 'आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन सन्दर्भमा स्रोत सामग्री-२०७७' समेत जारी गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कर्म गर्न जारी गरिएको लकडाउनले असर पारेको मजदुर तथा विपन्न वर्गको जीवनयापन सहज बनाउन गरिएको राहत वितरणको क्रममा गुणस्तरहीन राहत बाँडेको आरोपमा नवलपरासीको राजेश राइस मिलमाथि मुद्दा दायर गरिएको छ । रामग्राम नगरपालिकाले ०७६ चैत २८ गते वितरण गरेको चामल कुहिएको र खान अयोग्य भएको भन्दै रामग्राम नपा-११ का गरिब विपन्न वर्गले नगरपालिकाको मूल गेटमा ल्याएर राहतमा पाएको खाद्यान्न फ्याँकेका थिए ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

लकडाउनको समयमा भारतबाट लामा विद्या पढ्न डोल्पा जिल्ला आएका विद्यार्थीको आरडीटी परीक्षणका लागि किटको अभाव भएकोमा इन्सेकको पहलमा वैशाख १६ गते डोल्पा जिल्लाको डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा आरडीटी किटसहित टोली पुगेको छ ।

सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, गैसस, नागरिक समाज र पत्रकारबीच वैशाख १५ गते जुम्ला जिल्लामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन कडा पार्ने, कोरोना भाइरसबाट सङ्क्रमित बिरामीलाई अस्पताल ल्याउन र लैजानका लागि एम्बुलेन्सको व्यवस्थापन गर्ने, एम्बुलेन्स बनाउन नन्दा बक्सले प्राविधिक सहयोग गर्नेजस्ता विषयहरूमा निर्णय गरेका छन् । साथै, लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितिमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भयो ।

सामान्य अवस्थाभन्दा लकडाउनको समयमा खाद्यान्न वितरण पाँच गुणाले वृद्धि भएको कारण लकडाउनको समय लम्बिँदै गएमा चामल अपुग हुने खाद्य व्यवस्था तथा व्यापार सेवा कम्पनी रुकुम (पश्चिम) शाखाका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताउनु भयो । लकडाउनका कारण रोकिएको नियमित खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम (पश्चिम)का खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिनु भयो ।

कोरोना भाइरस सङ्क्रमणविरुद्ध परिचालन हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि प्रयोग हुने उपकरणहरू आधार नेपाल हुम्लाले वैशाख १५ गते उपलब्ध गराएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

लगातार रूपमा धनगढी तथा काठमाडौँबाट बझाङ जिल्ला भित्रिएका व्यक्तिहरूलाई अनिवार्यरूपमा १४ दिन क्वारेन्टाइनमा राख्ने स्थानीय प्रशासनले निर्णय गरेको भए पनि उनीहरूले बेवास्था गर्दै आ-आफ्नो घर गएका छन् । थलारा गाउँपालिकाका स्वास्थ्य संयोजक पदम ओलीले भने हामीले प्रत्येक वडाहरूमा क्वारेन्टाइनको व्यवस्था गरेको भए पनि बाहिरी जिल्लाबाट आएका व्यक्तिहरू समान्य स्वास्थ्य परीक्षण नगरिकन आ-आफ्नो घर गएका छन् । थलारा मात्र होइन जिल्लामा भित्रिएका झण्डै १ हजार जना क्वारेण्टाइनमा बसेनन् ।

जिल्ला विपद् व्यवस्थापन समिति डोटीको बैठक बसी सबै स्थानीय तहमा कोरानाका कारण हुन सक्ने खाद्य अभाव तथा विपद्को जोखिमबाट बच्न पूर्व तयारीस्वरूप यहाँका नौ ओटै स्थानीय तहमा खाद्य बैङ्क स्थापना गर्ने निर्णय भएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो ।

बैतडीको पुचौँडी नगरपालिका-३ का ८ सयभन्दा बढी नेपाली नागरिकहरू महाकाली पारी भारतीय क्वारेण्टाइनमा बसेको १ महिना बढी बितिसक्दा पनि क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यताप्रति नेपाल सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ । सीमामा रहेका नेपालीलाई स्वदेश ल्याएमा क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले प्रत्येक पालिकामा क्वारेन्टाइन निर्माण गरिएको भए पनि उनीहरूलाई कहिले ल्याउने भन्ने निर्णय नभएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क