कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ८ गते)
नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार ८ गते प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २४ घण्टामा ६ हजार १ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिनु भयो । उहाँले २४ घण्टामा ५ सय ३५ जनामा कोरोना पुष्टि भएको र ३ सय ७६ जना डिस्चार्ज भएको जानकारी दिनु भएको छ । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमा ९१ प्रतिशत पुरुष र ९ प्रतिशत महिला रहेका छन् । त्यसैगरी डिस्चार्ज भएका २ हजार १ सय ४८ जनामध्ये ९२ प्रतिशत पुरुष र ८ प्रतिशत महिला रहेको मन्त्रालयले प्रकाशन गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमित पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश २
प्रदेश २ मा असार ८ गते ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार सप्तरीमा दुई, सिरहामा ५२, धनुषामा आठ, महोत्तरीमा दुई, सर्लाहीमा नौ, रौतहटमा एक र बारामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार २९ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार ४५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित वीपी मावि भारदहको क्वारेण्टाइनबाट राजविराजस्थित आइसोलेशन केन्द्र ल्याउने तयारी गरिएका एक कोरोना सङ्क्रमित सोही वडाका २४ वर्षीय पुरुष असार ८ गते भागेका छन् । असार ८ गते कोरोना सङ्क्रमितको रिपोर्ट आएपछि उनलाई अरूबाट अलग्याएर छुट्टै कोठामा राखिएकोमा पानी पर्न थालेपछि सुनसान भएको मौका छोपी भागेको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले बताउनु भयो । भारतको छत्तिसगढबाट जेठ २२ गते आएका उनको स्वाबको रिपोर्ट प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरले असार ८ गते पोजिटिभ भनेर पठाएको छ ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति माविको क्वारेण्टाइनमा बस्नेहरूले राम्रोसँग खाना पनि नपाएको र क्वारेण्टाइनमा बस्ने कोठा र क्वारेण्टाइन क्षेत्र सरसफाई गर्न आग्रह गरेपनि सुनुवाइ नभएको आरोप लगाएका छन् । दैनिक प्रयोगमा आउने साबुन, ब्रस र मञ्जनको पनि व्यवस्था नगरिएको एक बिरामीले आरोप लगाए । चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले क्वारेण्टाइन व्यवस्थापन समिति बनाएर जिम्मा दिएको र त्यसको हेर्ने सम्पूर्ण जिम्मा सो समितिलाई रहेको बताउनु भयो । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले क्वारेण्टाइन जिल्लाकै उत्कृष्ट रहेको र क्वारेण्टाइनमा बस्नेहरूलाई कुनैपनि समस्या नरहेको बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा असार ८ गते सात जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सिन्धुपाल्चोक जिल्लाका दुईजना र चितवन जिल्लाका पाँचजनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ८ जना पुगेको छ । असार ८ गते धादिङ जिल्ला अस्पतालबाट १७ जना उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै प्रदेशबाट ७३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने हालसम्म चार जनाको मृत्यु भएको प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार ८ गते थप २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ सय ४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो । तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार गाउँपालिकामा आइसोलेशन नहुँदा ऋषिङ गाउँपालिकाका २१ जना सङ्क्रमितहरूलाई तीन दिनदेखि क्वारेण्टाइनमै राखिएको छ । असार ६ गते बिहान कोरोना पोजेटिभ देखिएका उनीहरूलाई अहिलेसम्म आइसोलेशनको व्यवस्था नहुँदा क्वारेण्टाइनमै राख्नु परेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनु भयो ।
कर्णाली प्रदेश
सुर्खेतको छिञ्चुस्थित शारदा माविको क्वारेण्टाइनमा १४ दिन बसेर जेठ २९ गते घर फर्किएका सुर्खेत भेरीगङ्गा नपा–५ भर्लेनीका ३५ वर्षीय युवाको असार ७ गते मृत्यु भएको छ । झाडापखालाबाट ग्रस्त ती युवाको मेडिकलमा लैजाँदै गर्दा मृत्यु भएको भेरीगङ्गा नगरपालिकाका प्रमुख भुपेन्द्र चन्दले बताउनु भयो । कर्णाली प्रदेश अस्पतालमा असार ८ गते गरिएको पीसीआर परीक्षणमा मृतक युवाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताउनु भयो । असार ८ गते उनको दाहसंस्कार गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
बझाङ प्रतिनिधि रमेश केसीका अनुसार छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेण्टाइनमा बसेका सोही ठाउँका ३० वर्षीय एक युवकले असार ७ गते राति क्वारेण्टाइनभित्रै आत्महत्या गरेका छन् । तीन दिनअघि भारतको बैङ्लोरबाट आएर असार ६ गतेदेखि क्वारेण्टाइनमा बसेका युवक झुण्डिएको अवस्थामा भेटिएका वडा नम्बर ७ का वडाध्यक्ष पदम मण्डेलले बताउनु भयो । मृत फेला परेका युवकको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको वडाध्यक्ष मण्डेलको भनाइ छ । क्वारेण्टाइनभित्रै झुण्डिएको अवस्थामा फेला परेका युवक बसेको क्वारेण्टाइनमा चार जना बस्दै आएको भए पनि भारतबाट फरक–फरक मितिमा आएकाले सबै जनालाई अलग–अलग कोठामा राखिएको वडाध्यक्ष मण्डेलले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्ला अस्पतालमा ह्विलचियरको अभाव : सेवाग्राहीलाई सास्ती
जिल्ला अस्पतालमा बिरामी बोक्ने ह्विलचियरको अभाव भएको छ । अस्पतालमा ह्विलचियरको अभावपछि बिरामीलाई एक स्थानबाट अर्को स्थानमा लैजानका लागि सास्ती हुनेगरेको हो । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्र अर्थात जिल्लाकै एक…
२५ वर्षदेखि देउलीका स्थानीयलाई खानेपानीको समस्या
चंखेली गाउँपालिका–२ स्थित दार्म गाउँको देउलीका स्थानीयहरु विगत २५ वर्षदेखि खानेपानीको समस्या रहेको छ । खानेपानीको स्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएका कारण खानेपानीको समस्या भएको…
छुट्टाछुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा कठिनाई
नेपालको संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरे पनि रसुवामा पाँच ओटै स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष अभावले न्याय सम्पादनमा कठिनाई भएको छ ।…
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…