कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ७ गते)
कोरोना भाइरसको सङ्क्रमणबाट असार ७ गते ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार २६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । कोरोना सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा १ सय ९४ जना डिस्चार्ज भएका छन् । असार ७ गतेसम्म १ लाख ७५ हजार १ सय ७३ जनाको पीसीआर विधिबाट र २ लाख ६२ हजार १ सय ७४ जनामा आरडीटी गरिएको मन्त्रालयले वेभसाइटमा उल्लेख छ । मन्त्रालयका अनुसार आइसोलेशनमा ७ हजार २ सय ३१ र क्वारेण्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । आजसम्म २३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० वर्षसम्मका २ सय ३७ जना बालबालिकामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ११ वर्षदेखि २० वर्षसम्मका २ हजार १ सय ८७ जना, २१ वर्षदेखि ३० वर्षसम्मका ३ हजार ४ सय १४ जना र ३१ वर्षदेखि ४० वर्षसम्मका १ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ४१ वर्षदेखि ५० सम्मका ८ सय ४० जना, ६१ वर्षसम्म २ सय ९१ जनामा कोरोना सङ्क्रमण भएको छ । ६१ वर्षमाथिका ज्येष्ठ नागरिक ९६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश २
प्रदेश २ मा असार ७ गते ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार सप्तरीमा दुई, सिरहामा ५२, धनुषामा आठ, महोत्तरीमा दुई, सर्लाहीमा नौ, रौतहटमा एक र बारामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय २ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ९ सय ५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहा नगरपालिका स्थित सूर्यनारायाण सत्यनारायण मरवैता क्याम्पसको क्वारेण्टाइनमा रहेका ५२ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भएको छ । उनीहरूलाई जिल्ला अस्पताल सिरहाको मातहतमा रहेको चन्द्र माविको आइसोलेशनमा लाने तयारी भए पनि सात बजेसम्म नलगिएको प्रमुख यादवले बताउनु भयो । अस्पतालले नै उनीहरूको बस्ने, खाने तथा उपचारको व्यवस्था गर्ने जिम्मा रहेको प्रमुख यादवले बताउनु भयो । जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नागेन्द्रप्रसाद यादवले अस्पतालमा तयारी पूरा भए पनि राति भएपछि मात्रै सङ्क्रमितहरूलाई लगिने र अन्य व्यवस्थापनहरू गरिने बताउनु भयो । उहाँका अनुसार अहिले सङ्क्रमितहरू क्वारेण्टाइनमै रहेका छन् ।
बागमती प्रदेश
यस प्रदेशमा असार ७ गते तीन जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रदेशको नुवाकोट, ललितपुर र रामेछाप जिल्लाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ सय १ जना पुगेको छ । जसमध्ये ५६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने हालसम्म चार जनाको मृत्यु भएको प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार ७ गते थप १९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ सय २३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखाका कोरोना सङ्क्रमितलाई तीन दिन पछि बल्ल आइसोलेशनमा ल्याइएको छ । पालुङटार नगरपालिकाका सात जनामा असार ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपनि गोरा क्याम्पसको आइसोलेशन निर्माणमा ढिलाइ हुँदा तीन दिनदेखि क्वारेण्टाइनमै थिए । गोरखा अस्पतालको आइसोलेशन कक्ष भरिएसँगै गोरखा क्याम्पसमा ७० बेड क्षमताको आइसोलेशन तयार गरिएको छ ।
प्रदेश ५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा असार ७ गते १ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको होम क्वारेण्टाइनमा रहेको अवस्थामा असार ५ गते मृत्यु भएको छ । मृत्युपछि सोही दिन स्वाब परीक्षणका लागि भैरहवा पाठाइएकोमा कोरोना पोजेटिभ देखिएपछि असार ६ गते नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गरिएको छ ।
कर्णाली प्रदेश
दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको रकमबाट असार ६ गते कोरोना जाँच्ने पीसीआर मेशिन ल्याइएको छ । ‘माइक्रोपेट्टे प्लस डी–ल्याब’ ब्राण्डको उक्त पीसीआर मेसिन १२ घण्टा चलाउँदा ३ सय ओटा किटको रिपोर्ट निकाल्न सकिने कर्णाली प्रदेश प्रयोगशालाका बायोमेडिकल इञ्जिनियर राकेशकुमार साहले जानकारी दिनु भयो । पीसीआर मेशिन स्टलेशन गर्न प्रिफेबबाट बनाइएको भवनमा विद्युत वाइरिङ र फर्निचर व्यवस्थापन गर्न बाँकी रहेकाले प्रयोगमा ल्याउन एक साता लाग्ने इञ्जिनियर साहले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार जिल्लाका नौ ओटै स्थानीय तहले निर्माण गरेका २ सय ४६ ओटा क्वारेण्टाइनहरूमध्ये अधिकांस विद्यालयमा रहेकाले सुत्केरी तथा बालबालिकालाई बस्न, खान र शौचालयको समस्या भएको आदर्श गाउँपालिका–२ का खडक बागले बताउनु भयो । आदर्श गाउँपालिकामा २९ जना सुत्केरी तथा गर्भवती र २ सय ७६ बालबालिका क्वारेण्टाइनमा रहेका भए पनि उहाँहरूलाई बस्न र खान समस्या हुनुको साथै विद्यालयमा क्वारेण्टाइन बनाइएकाले शौचालयको समेत अभाव रहेको बागले बताउनु भयो । विभिन्न कारणले गर्दा क्वारेण्टाइन व्यवस्थापन राम्रोसँग नभएकाले गर्भवती, सुत्केरी र बालबालिकालाई समस्या भएको हुन सक्ने स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो । नौ ओटै स्थानीय तहले तयार गरेका क्वारेण्टाइनमा हालसम्म ६० जना गर्भवती र ५ सय १५ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय, डोटीका प्रमुख मलासीको भनाइ छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…