कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३ गते)
कोरोना भाइरसको सङ्क्रमणबाट असार ३ गते मात्रै ५ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार १ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । कोरोना सङ्क्रमणका कारण बाँकेमा एक जना महिलाको मृत्यु भएको बताउँदै उहाँले नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको जानकारी दिनु भयो ।
प्रदेश १
प्रदेश १ मा असार ३ गते थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा कूल सङ्क्रमितको सङ्ख्या ४ सय १६ पुगेको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्की अनुसार असार १ गतेदेखि सेवा बन्द गरेको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरले असार ३ गतेदेखि सेवा सुचारु गरेको छ । स्वास्थ्य केन्द्रमा उपचाररत झापाका ३५ वर्षीय यामबहादुर कार्कीको असार १ गते मृत्यु भएपछि स्वास्थ्य केन्द्रले सोही दिनदेखि सबैखाले सेवा बन्द गरेको थियो । मृत्तकको स्वाब सङ्कलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण भई असार ३ गते रिपोर्ट नेगेटिभ आएपछि सेवा सुचारु गरेको स्वास्थ्य केन्द्रका अध्यक्ष नेत्रबहादुर डाँगीले बताउनु भयो ।
बागमती प्रदेश
इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार नीलकण्ठ नगरपालिकामा रहेको क्वारेण्टाइनमा बस्ने ठाउँ अभाव भएपछि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएका व्यक्तिलाई घर पठाइएको छ । यसअघि क्वारेण्टाइन बनाइएको नीलकण्ठ माविमा सङ्क्रमितको सङ्ख्या बढेपछि आइसोलेशनमा रुपान्तरण गरिएको थियो । आरडीटी नेगेटिभ आएपछि घर गएकाहरूमा समेत कोरोना भाइरसको सङ्क्रमण भेटिएको अवस्थमा नगरपालिकाले कन्ट्याक ट्रेसिङ गरेपछि ५१ जनाको स्वाब सङ्कलन गरेको थियो । जसमध्ये २४ जनालाई मात्र क्वारेनटाइनमा राखिएको छ भने २७ जनालाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु रिजालले बताउनुभयो । नीलकण्ठ नगरपालिकामा यसअघि ३४ जना भारतबाट आएका व्यक्तिहरूमा आरडीटी परीक्षण नेगेटिभ आएर घर गएकाहरूलाई कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार ३ गते थप २१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ सय ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार समुदायको बीचमा रहेका क्वारेण्टाइनहरुबाट सङ्क्रमण फैलिन सक्ने खतरा बढेको भन्दै कुश्मा नगरपालिका–६ का स्थानीय बासिन्दाले क्वारेण्टाइनस्थल सुरक्षित बनाउन माग गरेका छन् । क्वारेण्टाइनमा बसेका नागरिकहरुको सम्पर्क समुदायसँग हुन लागेको भन्दै स्थानीयवासी सो माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा पुगेका हुन् । कुश्माको शिवालय माध्यमिक विद्यालय क्वारेण्टाइनमा रहेका नागरिकहरू खाद्यलगायतका विभिन्न सामग्री किन्न स्थानीय र आफन्तकै सहयोग लिन थालेको स्थानीय यज्ञ अधिकारीले बताउनुभयो । यसरी नगद तथा विभिन्न सामग्री आदानप्रदान गर्दा समुदायमा सङ्क्रमण फैलिने सम्भावना भएका कारण क्वारेण्टाइन थप सुरक्षित बनाउन माग गर्दै प्रशासन कार्यालयमा पुगेको अधिकारीले बताउनुभयो । समुदायबाट देखिएको सक्रियता र सुझाव सकारात्मक रहेको भन्दै थप सुरक्षाकर्मी परिचालन गरी नियमित गस्तीको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । क्वारेण्टाइन व्यवस्थित र सुरक्षित बनाउँदा मात्रै समुदायलाई सङ्क्रमणबाट बचाउन सकिने भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको रेग्मीको भनाइ छ ।
प्रदेश ५
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा असार १ गते मृत्यु भएकी बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि शव व्यवस्थापन स्थलसम्म लैजान कसैले गाडी दिन नमानेपछि गाउँपालिकाकै गाडीमा शव व्यवस्थापन स्थलसम्म लगिएको इन्सेक जिल्ला प्रतिनिधिसँगको प्रत्यक्ष सम्पर्कमा गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताउनु भयो । गाउँपालिका अध्यक्ष मानबहादुर रुचालको अगुवाइमा शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको थियो । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले मृत्यु भएकी सङ्क्रमित महिला लामो समयदेखि निमोनिया, मिर्गौलाको रोगबाट ग्रसित रहेको र पीसीआर परीक्षणमा पोजेटिभ आएको बताउनु भयो ।
अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार सितगङ्गा नपा–५ का ४५ वर्षीय पुरूषले सोही ठाउँको हरी माविको क्वारेण्टाइन नजिकै रहेको रूखमा झुण्डिएर असार २ गते आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी जेठ १० गते भारतको पञ्जाबबाट आएर उक्त क्वारेण्टाइनमा बसेका थिए । जेठ २४ गते आरडीटी परीक्षण पोजेटिभ आएपछि सोही दिन स्वाब सङ्कलन गरी भैरहवा पठाइएको थियो । इलाका प्रहरी कार्यालय ठाडाका इन्स्पेक्टर बावुराम बस्नेतले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बिहान करिब ४ बजे झुण्डिएको अवस्थामा शव फेला परेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
१४ दिनसम्म महाकाली अस्पतालको आइसोलेशनमा राखिएका १३ जना कोरोना सङ्क्रमितलाई परीक्षणबिना नै असार ३ गते घर पठाइएको छ । कञ्चनपुरका ६ जना र कैलालीका सात जनालाई क्रमशः जेठ २० र जेठ २१ गते अस्पतालमा भर्ना गरिएकोमा १४ दिनसम्म पनि स्वास्थ्यमा कुनै समस्या नआएपछि एक हप्ता होम क्वारेण्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न डाक्टर सरोज आचार्यले बताउनु भयो । कोरोना परीक्षणबिना अस्पतालबाट डिस्चार्ज गर्दा अझ बढी जोखिम हुन सक्ने डर रहेको डिस्चार्ज भएका सङ्क्रमितहरूले गुनासो गरेका छन् । महाकाली अस्पतालबाट कोरोना परीक्षण नगरी डिस्चार्ज हुनेको सङ्ख्या हालसम्म १८ पुगेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…