कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३२ गते)

  ०७७ जेठ ३२ गते

नेपालमा जेठ ३२ गते ४ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेका छन् । योसँगै नेपालमा ५ हजार ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ५ हजार ३ सय २४ जना पुरुष र ४ सय ३६ जना महिला रहेका छन् । हाल सङ्क्रमितमध्ये ४ हजार ७ सय ६७ जना उपचारका क्रममा आइसोलेशनमा रहेका छन् भने डिस्चार्ज हुनेको सङ्ख्या ९ सय ७४ पुगेको छ । कोरोना सङ्क्रमणकै कारण १९ जनाको ज्यान गएको छ ।

प्रदेश १

प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ७१ पुगेको छ । प्रदेशमा जेठ ३२ गते २७ जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा जेठ ३२ गते १ सय १० जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार धनुषामा एक, सर्लाहीमा ६, रौतहटमा ७४, बारामा १२ र पर्सामा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार १४ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ४ सय ६२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाको क्वारेण्टाइनको समुचित व्यवस्थापन र आय–व्यय खर्च सार्वजनिक गर्नुपर्ने, राहतका लागि खाधान्नको उचित व्यवस्थापन गर्नुपर्ने लगायतको माग राखी स्थानीयले सङ्घर्ष समिति बनाएर जेठ ३२ गते जिल्ला प्रशासन कार्यालय, सप्तरीमा ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यलाई पाँच बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै समितिका पदाधिकारीहरूले माग पूरा नभए तालाबन्दी लगायतका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । केही जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भएको स्चेच्छाचारी व्यवहारले जनता पीडित भएको र अस्तव्यस्त क्वारेण्टाइनले कोरोनाको जोखिम बढेको टोलीको नेतृत्व गर्दै आएका समितिका संयोजक राहुल मण्डले बताउनु भयो ।

धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि हाल आइसोलेशन बेडको अभाव भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले बताउनु भयो । जेठ ३२ गते सार्वजनिक तथ्याङ्क अनुसार प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार १४ जना रहेको तर प्रदेशको विभिन्न जिल्ला गरी आइसोलेशन बेडको सङ्ख्या १ हजार ४ सय १६ मात्र रहेको उहाँले बताउनु भयो । आइसोलेशन बेड कम भएपछि सङ्क्रमितहरूलाई क्वारेण्टाइनमै आइसुलेट गरी राखिएको छ । झाका अनुसार रौतहटमा सङ्क्रमित सङ्ख्या ६ सय ७० छन् तर आइसोलेशन बेडको सङ्ख्या ३ सय ११ छ । २ सय ९ जनालाई आइसोलेशनमा राखिएको छ । त्यस्तै सर्लाहीमा सङ्क्रमित सङ्ख्या ४ सय ८२ छन् तर २ सय ८० आइसोलेशन बेड सङ्ख्या छ । २ सय ४१ जनालाई आइसोलेशनमा राखिएको छ । त्यस्तै धनुषामा सङ्क्रमित सङ्ख्या १ सय ५९ छन् तर आइसोलेशन बेड सङ्ख्या १ सय २७ छ । ७६ जनालाई आइसोलेशनमा राखिएको छ । त्यस्तै महोत्तरीमा सङ्क्रमित सङ्ख्या १ सय ८८ छन् तर १ सय ५६ आइसोलेशन बेड सङ्ख्या छ । ८० जनालाई आइसोलेशनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढिरहेको हुँदा समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्चजोखिमको सम्भावना रहेकोले समुदायलाई कोरोना सङ्क्रमणको जोखिमबाट जोगाउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन, २०२० को दफा २ अनुसार  जेठ ३२ गते जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मको लागि औषधी पसल बाहेक सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा हालसम्म २ सय १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४६ जना उपचारपछि निको भएर घर फर्केका छन्  भने १ सय ६२ जना आइशोलेसनमा रहेका छन् र चार जनाको मृत्यु भएको छ ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा आइसोलेशन बेडको अभाव भएको छ । आइसोलेशन बेडको अभाव भएपछि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरूलाई स्थानीय क्वारेण्टाइन सञ्चालन भएकै ठाउँ नीलकण्ठ माविमा राख्न थालिएको छ । उक्त क्वारेनटाइन र आइसोलेशनबाट मानिसहरू ठाउँबाहिर गएको भन्ने गुनासो आएकोले नीलकण्ठ माविमा राखिने आइसोलेशनको सुरक्षाको जिम्मा सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ३२ गते नवलपुरासी बर्दघाट सुस्ता पूर्वका थप दुई जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ सय ९९ पुगेको छ ।

पर्वत प्रतिनिधि सन्तोष थापाकाअनुसार श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लैजाँदै गर्दा मृत्यु भएका एक पुरुषको शव कोरोना सङ्क्रमणको परीक्षणका लागि पर्वत अस्पतालमा राखिएकोमा आफन्तले जबरजस्ती उठाएर जेठ ३२ गते दिउँसो दाहसंस्कार गरेका छन् । अस्पतालले परीक्षण रिपोर्ट आउने समयसम्म पर्खिन आग्रह गर्दा पनि आफन्तले शवगृहको ताला फुटाएर शव अन्तिम संस्कारका लागि लगेको पर्वत अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो ।

प्रदेश ५

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार रेसुङ्गा नगरपालिका– ९ उपल्लो तम्घासको आइसोलेशनमा उपचाररत धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको मृत्यु जेठ ३१ गते राति भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनु भयो । मृतक दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए । उनी भारतबाट जेठ २ गते गाउँ आएर स्थानीय विद्यालयको क्वारेण्टाइनमा बसेका थिए । पहिलो पटक जेठ १२ गते गरेको परीक्षणमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । जेठ १३ गतेदेखि आइसोलेशनमा रहेका उनको पछिल्ला दुई ओटा रिपोर्ट पनि पोजेटिभ नै आएको डाक्टर कविराज भुसालले जानकारी दिनुभयो ।

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–४ का ४२ वर्षीय एक पुरुषको मृत्यु लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा जेठ ३२ गते भएको कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो । आठ दिनअघि भारतको दिल्लीबाट फर्किएर गुल्मी घुर्कोटकै क्वारेण्टाइनमा बसेका उनको आरडिटी परीक्षणमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको र ज्वरो, खोकी र  निमोनियाको समस्या भएर श्वास प्रश्वासमा समस्या भएपछि जेठ ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको थियो ।

इन्सेक नेपालगञ्जका अनुसार कोहलपुर मेडिकल कलेज, कोहलपुरमा कोरोना सङ्क्रमित भेटिएपछि डाक्टर सहित २५ जनालाई क्वारेण्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ८२ वर्षीय एक वृद्धमा जेठ ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी गत जेठ २२ गते अस्पतालमा भर्ना भएका थिए । पेटसम्बन्धी समस्या भएर अस्पताल भर्ना भएका रुकुम पश्चिम सानिभेरी नपा–१ का वृद्धको शल्यक्रिया पूर्व पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण पोजेटिभ देखिएपछि उनीसँग सम्पर्कमा रहेका डाक्टर, नर्स, अस्पतालका कर्मचारी र उनका आफन्त गरी २५ जनालाई क्वारेण्टाइनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९ सय १२ पुगेको छ । सङ्क्रमितमध्ये २५ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरी बडुका अनुसार सङ्घीय र प्रदेश सरकारले आरडीटी किट पठाउन छोडेपछि क्वारेण्टाइनमा रहेका व्यक्तिहरूको आरडीटी गर्न सकिएको छैन । क्वारेण्टाइनमा बसेका नागरिकमध्ये धेरैजसोलाई १४ दिन पुरा भइसक्दा पनि किट अभावमा परीक्षण हुन नसकेको हो ।

इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार भारतबाट फर्किएर लालझाडी गाउँपालिका–४ स्थित स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेण्टाइनमा बसेका ११ जनाको जेठ ३० गते नमूना सङ्कलनपछि रिपोर्ट नआउँदै घर पठाइएकोमा जेठ ३१ गते सबै जनामा कोरोना पुष्टि भएपछि फिर्ता ल्याउने तयारी भइरहेको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनु भयो ।


अनलाइन डेस्क