कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २७ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ८५ पुगेको छ । जेठ २६ गते ३ सय २३ जना सङ्क्रमित थपिएपछि सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको हो । कोरोना सङ्क्रमित पहिचान भएका जिल्ला ७२ पुगेको छ । ओखलढुङ्गा, रसुवा, मनाङ, मुस्ताङ र रुकुम पश्चिमबाहेकका जिल्लामा कोरोना सङ्क्रमित पहिचान गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ सय ८४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार चितवनस्थित भरतपुर अस्पतालको आइसीयूमा उपचाररत ६८ वर्षीय पुरुषको जेठ २७ गते मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
प्रदेश १
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ८२ पुगेको छ । प्रदेशमा जेठ २७ गते पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशबाट जेठ २७ गते ३५ जना डिस्चार्ज भएका छन् । प्रदेशमा डिस्चार्ज हुनेको सङ्ख्या १ सय १८ पुगेको छ ।
प्रदेश २
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी गाउँपालिका–७ स्थित जनता माविमा सञ्चालित क्वारेण्टाइनमा बस्दै आएका ४५ जनामध्ये ४० जना भागेको क्वारेण्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताउनु भयो । उनीहरू छिमेकी गैँडा भेटपुर, पोखरभिण्डा, सङ्ग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरू क्वारेण्टाइनबाट भागेको जानकारी लिखित रूपमै गाउँपालिका, वडा कार्यालय र प्रहरी चौकीलाई दिए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताउनु भयो । गाउँपालिका अध्यक्ष शेष फारुखले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर खोजतलास सुरू गरेको बताउनु भयो ।
दक्षिणी सीमावर्ती सम्सी गाउँपालिका–७ को पर्सादेवाड स्थित राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २ सय १० जना रहेका छन् । क्वारेण्टाइनमा एउटा ट्वाइलेट रहेको छ । त्यति धेरै मानिसको लागि एउटा ट्वाइलेट भएकोले क्वारेण्टाइनबाट १० मिनेट टाढाको खोलामा जानु पर्ने बाध्यता रहेको क्वारेण्टाइनमा रहेका सम्सीका ३४ वर्षीय पुरुषले बताए । क्वारेण्टाइनमा सुत्ने व्यवस्था नभएकोले दिउँसो क्वारेण्टाइनमा बस्ने र राति सुत्नको लागि घर जाने गरेको स्थानीयहरू बताउँछन् । क्वारेण्टाइनमा सुत्ने ठाउँ छैन, २ सय १० जनालाई जम्मा १७ ओटा त्रिपाल र ३९ ओटा तन्ना दिइएको छ, बाँकी भुइँमा सुत्ने हो । पानी पर्दा जस्ताको छानो चुहिएर सबै जना भिजिन्छ, रातभरि बरण्डामा ओत लाग्नु पर्छ । क्वारेण्टाइनमा नुहाउने, लुगा धुने साबुन, शौचालय, धारा, बत्ति, पङ्खा केही नभएको २५ वर्षीय पुरुषले बताए । क्वारेण्टाइनमा खाना खाएर राति सुत्न घर पुग्दा गाउँमा जोखिम बढेको पर्साको देवाड स्वास्थ्य चौकीका इञ्चार्ज सुखचन्द्र यादवले बताउनु भयो । वडा नं. २ मा तीन ओटा क्वारेण्टाइन स्थापना गरिए पनि व्यवस्थापन फितलो भएको यादवले स्वीकार गर्नु भयो । क्वारेण्टाइनमा रहेकाहरू शौचालय र नुहाउने बहानामा घरसम्म पुग्ने गरेको उहाँले बताउनु भयो । क्वारेण्टाइनमा एउटै व्यक्तिलाई एक महिनासम्म राख्नु पर्दा भीड घटाउन नसकिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भयो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार चार जना कोरोना शङ्कास्पद र ३६ जना सङ्क्रमित बिरामीलाई कविलासी नगरपालिका–५ अगर्वा स्थित श्री जनता माविको आइसोलेशनमा राखिएको छ । जिल्ला सदरमुकाम मलंगवामा रहेको ५० शैयाको अस्थायी कोरोना विशेष अस्पतालमा राख्न बेडको अभाव भएपछि उनीहरूलाई पहिलेदेखि बस्दै आएको श्री जनता माविको क्वारेन्टाइनलाई नै आइसोलेशन वार्डमा बदलेर चार जना शंकास्पद व्यक्ति सँगै ३५ जना कोरोना सङ्क्रमितलाई राखिएको छ । तर, उक्त ठाउँमा एउटा मात्र शौचालय रहेको त्यो पनि दुर्गन्धित रहेको एक बिरामीले बताए । विद्यालयसँगै टाँसिएको खुला चौरमा आइसोलेशनमा बस्नेहरूका लागि खुला शौचालय बनेको छ । एउटै कोठामा १५ जना भन्दा बढीलाई राखिएको र कक्षा कोठामा रहेका बेन्चहरूलाई जोडेर खाटजस्तो बनाएर जसोतसो सुत्नु परेको एक बिरामीले बताए । पानी परेको बेला जस्तापाताबाट पानी चुहिएर आफूहरूलाई रातभर जाग्राम बस्नु परेको बिरामीहरूले बताए ।
बागमती प्रदेश
यस प्रदेशमा हालसम्म १ सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो । डा. सेढाईका अनुसार ३४ जना उपचारपछि निको भएर घर फर्केका छन् । चितवन जिल्लाका एक जना पुरुषको कोरोना सङ्क्रमणको कारण जेठ २६ गते मृत्यु भएको छ । योसँगै यस प्रदेशमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोक, दोलखा र ललितपुरमा पनि एक÷एक जनाको मृत्यु भएको थियो ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रमा खुल्दै आएका पसलहरूलाई बन्द गराएको छ । यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले जेठ २२ गतेदेखि पसलहरू ११ बजेसम्म खोल्न सुरू गरेका थिए । जेठ २२ गते काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र व्यापारीबीचको छलफलमा लकडाउन उल्लङ्घनबारे कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने समझदारी भए पनि निर्णय नआउँदै व्यापारीहरूले पसल खोल्न थालेका थिए । जेठ २२ गते देखि खोलिएका पसलहरूलाई जेठ २७ गतेबाट भने रोक लगाइएको काठमाडौँको इन्द्रचोकमा व्यापार गदैँ आएका प्रेम केसीले जानकारी दिनुभयो । सरकारले लकडाउनको मोडालिटीमा कुनै परिवर्तन नगरेको बताउँदै प्रहरीले लकडाउन कार्यान्वयनमा कडाइ गरेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताउनुभयो ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा भिडिएम र आइसोलेशन अभाव भएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रमुख जिल्ला अधिकारी असमान तामाङले कोरोना जाँच गर्नका लागि बिरामीहरूको खकार सङ्कलन गर्ने किट (भिटिएम) अभाव भएकोले आवश्यकता अनुसार स्वाब सङ्कलन गर्न नसकिएको बताउनु भयो । हाल रहेको आइसोलेशन कक्ष ११ बेडको रहेकोले अब आउन सक्ने सङ्क्रमितलाई राख्न सक्ने अवस्था नभएको उहाँले बताउनु भयो । कोरोनाको लक्षण देखिएका चार जना बिरामीलाई मात्र आइसोलेशनमा राखिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य सहसंयोजक शिव रानाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश
इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले पीसीआर परीक्षणको दायरा बढाउँदै नागरिकको स्वास्थ्य सुरक्षा सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएको छ । ‘बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीले सहज बजार प्राप्त गर्न नसकेको तरकारी जन्य सामग्री कुहिएर सडाउनु परेको अवस्था एकातिर विद्यमान छ भने अर्कातिर “मानो खाएर मुरी उब्जाउने समय” को सुरूवात हुन गइरहेको अवस्थामा बीउ बिजन, मल कृषि सामग्रीहरू किसानहरुलाई सहजढङ्गबाट उपलब्ध गराउँदै उत्पादिन चिजवस्तुको सहजआपूर्ति र वितरणको प्रत्याभूति गरियोस्’–ध्यानाकर्षण पत्रमा भनिएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी समक्ष जेठ २७ गते एक ध्यानाकर्षण पत्र बुझाउँदै सूचना लिन पाउने अधिकारलाई व्यवस्थित बनाउन माग गरेको छ । इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले एक ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना भाइरस रोकथामका लागि जिल्लामा भइरहेका प्रयास र उपलब्धीहरुलाई जान्न पाउने अधिकार सर्वसाधरणको रहेको र सञ्चारकर्मीलाई समेत सूचना लिन समस्या परिरहेको भन्दै सूचना अधिकारी तोक्न आग्रह गरेको हो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले सूचना प्रवाह गर्ने कुरामा कुनै कञ्जुस्याईँ नगर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले जिल्लामा कोरोना नियन्त्रणसम्बन्धी भइरहेका भौतिक प्रयास तथा उपलब्धिहरू सार्वजनिक गर्न छुट्टै व्यक्ति र सम्भावित सङ्क्रमित तथा सङ्क्रमितसँगै समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनका लागि छुट्टै व्यक्ति तोकेर जानकारी गराउने उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश
सुर्खेतको आइडिया नेपाल नामक संस्थाले नारायण नगरपालिकाका विभिन्न स्थानमा रहेका आइसोलेशनमा कोरोना सङ्क्रमितले प्रयोग गर्नका लागि १० ओटा घुम्ती शौचालय जेठ २७ गते हस्तान्तरण गरेको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले जानकारी दिनु भयो । टिनले बारेको प्रत्येक एक शौचालयमा दुई ओटा प्यान भुँइमा बसाइने गरी बनाइएको र शौचालयभित्र पानी राख्ने बाल्टी, साबुन, फिनेल, ट्वाइलेट ब्रसलगायतका सामग्री व्यवस्थित गर्न १० ओटै शौचालय तीन लाख ५० हजारमा तयार भएको आइडिया नेपालका सचिव राजकुमार विकले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
इन्सेक प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै जेठ २६ गते घर फिर्ता पठाएका पुनर्वास नगरपालिकाका ३२ वर्षीय युवालाई जेठ २७ गते कोरोना पोजेटिभ भएको भनी पुनः सेती अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरिएको सङ्क्रमित युवकका दाजुले बताउनु भयो । सङ्क्रमितका दाजुले आफ्नो परिवारका सदस्यको पनि पीसीआर परीक्षण गर्न माग गरेका छन् । पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा विष्ट शर्माले प्राविधिक कारणले गल्ती भएको बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोती चोधरीका अनुसार गोदावरी नगरपालिका–८ का स्थानीय नागरिकहरूले लकडाउनका कारण आफूहरूलाई बिहानबेलुकीको छाक टार्न समस्या भएकाले नगरपालिकाले राहत वितरण गर्नुपर्ने माग राख्दै जेठ २० गतेदेखि गोदावरी नगरपालिका–८ को कार्यालयमा लगाएको ताला एक हप्तासम्म पनि नखुल्दा वडा कार्यालयबाट दिइने सेवा प्रभावित भएको छ । वडा नम्बर ८ मा झण्डै ८ सयको हाराहारीमा दैनिक ज्यालामजदुरी गर्ने परिवार रहेको र सरकारले दिएको राहत सकिँदा भोकभोकै बस्नुपर्ने बाध्यता सृजना भएकाले वडा कार्यालयबाट राहत विवरण गर्नुपर्ने भन्दै तालाबन्दी गरेको वडाध्यक्ष नरेश अधिकारीले बताउनु भयो । आफू क्वारेण्टाइनको व्यवस्थापनमा खटिएको र वडा कार्यालयमा तालाबन्दी गरिएको सम्बन्धमा नगरपालिकामा जानकारी गराउँदा पनि कुनै पहल हुन नसकेको वडाध्यक्ष अधिकारीको भनाइ छ । उहाँले भन्नु भयो– ‘तालाबन्दीका कारण वडाको सबै कामकाज थप्प छ । नगरपालिका र प्रदेश सरकारको मापदण्डअनुसार राहत वितरण गरेकै हो । हाललाई राहत वितरणका लागि नगरपालिका र प्रदेश सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन ।’
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोरोना सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको थ्रोट स्वाब सङ्कलनमा प्रयोग हुने भिटीएम अभावका कारण सङ्क्रमितसँगै क्वारेण्टाइनमा रहेका, आरडीटी परीक्षणमा पोजेटिभ आएका व्यक्तिहरूको स्वाब सङ्कलन गर्न नसकिएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले बताउनु भयो । जेठ २७ गते कोरोना पुष्टि भएकी चौरपाटी गाउँपालिका–५ महिलासँगै क्वारेण्टाइनमा रहेका ५० जना, जेठ २४ गते मङ्गलसेन नगरपालिका–१ की महिलासँगै क्वारेण्टाइनमा रहेका ६४ जना र आरडिटी परीक्षणमा पोजेटिभ देखिएका ९१ जनाको भिटीएम अभावका कारण स्वाब सङ्कलन हुन नसकेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी जोशीको भनाइ छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…