कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १४ गते १ सय १४ जनामा कोरना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरना सङ्क्रमितको सख्या ८ सय ८६ जना पुगेको छ । जसमा पुरुष ७ सय ९६ जना र महिला ९० जना रहेका छन् । यसरी सङ्क्रमण फैलिएको जिल्ला ४७ पुगेको छ । सङ्क्रमितमध्ये निको भएर १ सय ८३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १ सय ४२ जना पुरुष र ४१ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ का सात, प्रदेश २ का सबै (आठ), बागमती प्रदेशका ११, गण्डकी प्रदेशका चार, प्रदेश ५ का आठ, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका पाँच गरी ४६ जिल्लामा कोरोना सङ्क्रमित पहिचान भएका छन् ।
प्रदेश १
प्रदेश १ मा कोरोना भाइरस सङक्रमितको सङ्ख्या १ सय ४ पुगेको छ । जेठ १४ गते १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका १५ जना र गौरादह नगरपालिकाका दुई जनामा सङक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ रिपोर्ट आएको हो । कचनकवलका १९ देखि ५७ वर्ष उमेरका पुरुष र गौरादहका २६ र ४१ वर्षीय पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । झापाको कचनकवल गाउँपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । प्रदेशको झापामा ५४ जना, उदयपुरमा ३३ जना, धनकुटामा सात जना, मोरङमा पाँच जना, सुनसरीमा तीन जना, खोटाङ र भोजपुरमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशबाट जेठ १४ गते थप चार जना डिस्चार्ज भएसँगै ३० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका २७ जना, झापाका दुई जना र भोजपुरका एक जना रहेका छन् ।
प्रदेश २
प्रदेश २ मा जेठ १४ गते सिरहामा दुई, सप्तरीमा दुई, रौतहटमा ३५ र बारामा आठ जना गरी ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा जेठ १४ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद १० हजार ५ सय ८९ जनाको स्वाब सङ्कलन गरिएकोमा ७ हजार ९ सय १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो ।
धनुषाको कमला नगरपालिका–९ दुबरकोट हथलेटवास्थित श्री जनता निम्न माध्यमिक विद्यालयको क्वारेण्टाइनमा जेठ १२ गते राति भारतबाट आएका आठ जनाविरुद्ध स्थानीय बासिन्दाहरूले विरोध गरेपछि उनीहरूलाई अन्यत्र सारिएको छ । हथलेटवाका स्थानीय बासिन्दाले क्वारेण्टाइनमा राति आठ जना अन्य वडाका मानिस आएको भनी खबर पाएपछि जेठ १३ गते बिहानै सयौंको सङ्ख्यामा स्थानीय बासिन्दाहरू हाम्रो गाउँको क्वारेन्टाइनमा किन राखेको भन्दै लखेट्न लाठी, भाटासहित क्वारेन्टाइनमा विरोध प्रदर्शन गरेको कमला नगरपालिकाका प्रमुख रामउदगार यादवले बताउनु भयो ।
रौतहट जिल्ला प्रशासन कार्यालयले ईशनाथ र राजपुर नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । सो नगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको र स्थानीयले लकडाउन उल्लङ्घन गर्ने क्रम अत्यधिक बढेकाले अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो ।
बागमती प्रदेश
बागमती प्रदेशमा जेठ १४ गतेसम्म २४ हजार ८ सय ६४ आरडीटी परीक्षण भइसकेको छ । जसमा ४ सय ६५जनामा एण्टीबडी पोजेटीम रिपोर्ट आएको थियो । यसैगरी पीसीआर परीक्षण ८ हजार ६ सय २३ जनामा भएको छ । जसमध्ये कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमितको सङ्ख्या ४० जना भएकोमा २८ जना उपचारार्थ अस्पतालको आइसोलेशनमा रहेका छन् । साथै एक जनाको महिलाको मृत्यु भएको छ भने ११ जना उपचारपछि घर फर्किसकेका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ १४ गतेसम्म २ हजार ४ सय ४३ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार ३ सय १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । १ सय १२ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । जेठ १४ गते प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यसका साथै गण्डकी प्रदेशमा कुल १३ जना सङ्क्रमित पुष्टि भएका छन् । जेठ १४ गतेसम्म ७ हजार ९ सय ५० जनाको र्यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
कोरोना भाइरसका कारण भारतमा लकडाउन भएपछि घर फर्किन पाउने आशमा सीमामा अलपत्र परेका गण्डकी प्रदेशका विभिन्न जिल्लाका १ हजार ६ सय बढीको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । डिआइजी घनश्याम अर्यालका अनुसार प्रदेश भित्रिने विभिन्न तीन नाकाबाट उनीहरूको उद्धार गरिएको हो ।
प्रदेश ५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा जेठ १४ गतेसम्म १७ हजार ४ सय ३९ जनाको आरडीटी परीक्षण गरिएको छ । क्वारेण्टाइनमा २६ हजार ७ सय २९ जना रहेका छन् । ३ सय २५ जना आइसोलेशनमा रहेका छन् । हालसम्म ३८ जना निको भएर घर फर्किएका छन् । कोरोना भाइरसका कारण प्रदेश ५ मा हालसम्म बाँके र गुल्मीका दुई जनाको मृत्यु भइसकेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रयोशालामा गरिएको परीक्षणमा रुकुम पुर्व जिल्लाका तीन जना, दाङका १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जेठ १४ गते सम्मको अध्यावधिक तथ्याङ्क अनुसार प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या ३ सय ६४ पुगेको छ ।
बर्दिया जिल्ला गुलरिया नपा–४ मा रहेको बबई बहमुखी क्याम्पसमा रहेको क्वारेण्टाइन रहेका ५५ वर्षीय पुरूषको मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृतकको स्वाब सङ्कलन गरी परीक्षणको तयारी भइरहेको छ ।
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका–८ का १९ र २९ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको तीन दिन बितिसक्दा पनि उपचारका लागि आइसोलेशनमा लगिएको छैन । थप उपचारका लागि दाङ लैजाने भनेपनि हालसम्म उनीहरू क्वारेण्टाइनमै रहेका छन् ।
कर्णाली प्रदेश
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकास्थित खुलामञ्चमा प्रदेश सरकारले निर्माण गरेको क्वारेण्टाइनमा रहेका व्यक्तिहरूको पीसीआर परीक्षण गर्दा जेठ १४ गते १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकाहरू वीरेन्द्रनगर नगरपालिका–४ का ६ जना, वडा नं ३ का एक जना, वडा नं ५ का एक जना, वडा नं ९ का एक जना, वडा नं ११ का एक जना, चौकुने गाउँपालिकाका तीन जना, बझाङ जिल्लाका एक जना र ठेगाना नखुलेको एक जना गरी १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत जिल्लाका ३० जना र दैलेख जिल्लाका आठ जना गरी कर्णाली प्रदेशमा ३८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । सबैको उपचार प्रदेश अस्पतालको आइसोलेशनमा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश
भारतबाट फर्केर सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा बसेका कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । यसैगरी, कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको जेठ १३ गते क्वारेण्टाइन व्यवस्थापनमा जुटेको अवस्थामा एक्कासी बेहोस भई ज्यान गुमाएपछि कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।
लकडाउनका कारण भारतमा रोकिएका नेपाली नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेश दिइने भएपछि हजारौँ नागरिक दशगजा क्षेत्र पुगेका छन् । बिहान ६ बजेदेखि १० बजेसम्म नाका खुल्ने गरेको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बरहथवा नगरपालिका–३ का ३४ वर्षीय नरेश महतो नुनीयालाई जिल्ला अदालत सर्लाहीले जेठ १८ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत…
पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला
बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई…
बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले…
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…