कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १० गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १० गतेसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ । जसमा पुरुष ५ सय ५ जना र महिला ७९ जना रहेका छन् । नेपालका ४१ जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकाहरूमध्ये हालसम्म ७० जना निको भएका छन् । कोरोना सङ्क्रमणकै कारण बाँके र गुल्मीका एक/एक जना पुरुष र सिन्धुपालचोककी एक जना महिलाको मृत्यु भएको छ ।
हालसम्म प्रदेश १ का उदयपुर, खोटाङ, झापा, धनकुटा, भोजपुर, सुनसरी र मोरङमा, प्रदेश २ का सबै जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कोरोना सङ्क्रमित पहिचान गरिएको छ । त्यसैगरी बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, धादिङ, मकवानपुर, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीमा र गण्डकी प्रदेशका नवलपरासी पूर्व, बागलुङ र लमजुङमा कोरोना सङ्क्रमित पुष्टि भएका छन् । प्रदेश ५ का कपिलवस्तु, नवलपरासी पश्चिम, बर्दिया, बाँके, रुपन्देही, दाङ र गुल्मीमा र कर्णाली प्रदेशका दैलेख र सुर्खेतमा कोरोना सङ्क्रमितको पहिचान गरिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा कोरोना सङ्क्रमित फेला परेका छन् ।
प्रदेश १
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८६ पुगेको छ । जेठ १० गते थप एक जनामा सङ्क्रमण देखिएसँगै झापामा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ । प्रदेश १ को उदयपुरमा ३३, धनकुटामा सात, मोरङमा पाँच, सुनसरीमा दुई, खोटाङ र भोजपुरमा एक/एक जनामा सङ्क्रमण देखिएको छ । प्रदेश १ बाट २६ जना डिस्चार्ज भएका छन् ।
झापाको मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रूपमा विकास गरिने भएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि जेठ १० गते यसको अन्तिम टुङ्गो लागेको हो । प्रदेशसभा सदस्य सांसद बसन्त बानियाँले मेची अस्पतालको नव निर्मित भवन कोरोना अस्पतालका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको बताउनु भयो । कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताउनु भयो । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको सांसद बानियाँले जानकारी दिनु भयो । नेपाल रेडक्रस सोसाइटीको तालिम हलमा पीसीआर प्रयोगशाला सञ्चालन हुनेछ ।
प्रदेश २
प्रदेश २ मा जेठ १० गते सर्लाही जिल्लाका १३ र बारा जिल्लाका एक जना गरी १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेशमा जेठ १० गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ७ हजार ९ सय ४५ जनाको स्वाब सङ्कलन गरिएकोमा ५ हजार ५ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ७१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । २ हजार २ सय ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जेठ १० गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ९ सय १ जनाको गरिएको छ । जसमा १२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने ५ हजार ८ सय ८९ रिपोर्ट नेगेटिभ आएको छ ।
महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेण्टाइनमा रहेका २५ जना २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बस्न बाध्य छन् । जेठ १० गते नगरपालिकाले खानाको व्यवस्थापन नगरेपछि भोकभोकै बस्नु परेको क्वारेण्टाइनमा बसेका हरूको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेण्टाइनमा बसेका उनीहरूका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको आरोप छ ।
बीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचारत कोरोना सङ्क्रमित नौ जना जेठ १० गते डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज हुनेमा पर्साका तीन जना, बाराका दुई जना, रौतहटका तीन जना र एक जना भारतीय नागरिक रहेका डा. मदनकुमार उपाध्यायले बताउनु भयो ।
बागमती प्रदेश
कोरोना भाइरस (कोभिड १९) आशङ्कामा यस प्रदेशमा हालसम्म २१ हजार ७ सय १२ जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये ४ सय ६ जनामा एण्टिबडी पोजेटिभ देखिएको छ । यस्तै हालसम्म ७ हजार ७ सय ७५ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । जसमा कोरोना भाइरसको सङ्क्रमण २९ जनामा पोजेटिभ देखिएकोमा एक जनाको मृत्यु भएको छ भने नौ जना उपचारपछि घर फर्केका छन् । क्वारेण्टाइनको क्षमता ४ हजार ६ सय ३६ जनाको रहेकोमा ३ सय ६७ जना बसेका छन् । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका ४९ जना आइसोलेशनमा बसेका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ १० गतेसम्म १ हजार ८ सय १८ जनाको स्वाब परीक्षण गरिएको छ भने १ हजार ५ सय ९३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । २ सय २० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ १० गतेसम्म ७ हजार ७ सय १ जनाको र्यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
कास्कीको रुपा गाउँपालिकाले कोरोना भाइरसविरुद्ध खटिएका स्वास्थ्यकर्मीको १० लाख रुपियाँको बिमासहित सुविधा थप गरेको छ । लमजुङ जिल्ला स्थायी ठेगाना भइ काठमाडौँ बस्दै आएका तीन वर्षीय बालकलाइ कोरोना सङ्क्रमण पुष्टि भए पनि परिवारजनसँग सरकारले समन्वय नगरेको परिवारका सदस्यहरूको आरोप छ ।
प्रदेश ५
राप्ती स्वास्थ्य प्रतिष्ठान, दाङमा गरिएको पीसीआर परीक्षणबाट बाँकेको नरैनापुर गाँउपालिकाका २७ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । १ सय ७७ जनाको नमूना परीक्षण गरिएकामा २७ जनामा सङ्क्रमण पुष्टी भएको हो । नरैनापुर मदरसाको क्वारेण्टाइनका ६ जना पुरुष, राष्ट्रिय प्रावि गेगलीको क्वारेण्टाइनका १५ जना पुरुष राष्ट्रिय प्रावि महतनियाको क्वारेण्टाइनका ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । बर्दिया बढैयाताल गाउँपालिकाका एक जना पुरूष सङ्क्रमित पुष्टि भएको छ ।
बाँके जिल्लाको नेपालगञ्ज रूपैडिया नाका भएर जेठ १० गते करिब ८ सय जना नेपाल भित्रिएका छन् । भने करिब ४ सय जना भारत प्रवेश गरेका छन् ।
मर्चवारी क्षेत्रमा रहेको क्वारेण्टाइन व्यवस्थित गर्न माग गर्दै स्थानीय बासिन्दाले जेठ १० गते नाराबाजी गर्दै प्रर्दशन गरेका छन् । कोटहिमाई गाउँपालिका–६ बोगडी माविमा रहेको क्वारेण्टाइन व्यवस्थित नभएको भन्दै स्थानीयले विरोध प्रर्दशन गरेका हुन् । कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारमासमेत कोरोना पुष्टि भएपछि अग्रभागमा रहेर काम गरिरहेकाहरू त्रसित भएका छन् ।
कर्णाली प्रदेश
सुर्खेत जिल्ला वीरेन्द्रनगरस्थित क्वारेण्टाइनमा राखिएका आरडीटी पोजेटिभ १३ जनामध्ये बराहताल गाउँपालिकाका दुई जना र चौकुने गाउँपालिकाका एक जना गरी तीन जनामा जेठ १० गते गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको छ ।
रुकुम (पश्चिम) जिल्ला सानीभेरी गाउँपालिकाले १६ जना, त्रिवेणी गाउँपालिकाले ६ जना, आठबिसकोट नगरपालिकाले ५१ जना र चौरजहारी नगरपालिकाले ३८ जनालाई उद्धार गरी क्वारेण्टाइनमा राखेका छन् । सल्यान जिल्ला शारदा नगरपालिका–१० को वडा कार्यालयमा राहत वितरण पारदर्शी नभएको आरोप लगाउँदै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश
जेठ ७ गते गौरीफण्टा नाकाबाट स्वदेश फर्किएका बैतडी जिल्लाका शिवनाथ गाउँपालिकाका २० वर्षीय एक जना, २२ वर्षीय दुई जना र २७ वर्षीय एक जना गरी चार जना पुरुषमा जेठ १० गते कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार थालिएको छ ।
डोटी जिल्लाको के आई सिंह गाउँपालिकामा रहेका निर्माणाधीन विकास योजनामा काम गर्ने जिल्ला बाहिरबाट आएका ३२ जना मजदुरहरूको जेठ ९ गते दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलमा आरडिटी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पताल डोटीमा आइसोलेशन राखिएको छ भने पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाएको छ ।
कैलाली जिल्लामा जेठ ९ गते कोरोना पुष्टि भएका तीन जनालाई टीकापुर अस्पतालको आइसोलेशनमा राखिएको छ ।
डडेल्धुरा जिल्ला अस्पतालमा उपचार गराउन आएका परशुराम नगरपालिका–१० का २८ वर्षीय पुरुषमा जेठ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालका चार जना चिकित्सकसहित सात जनालाई क्वारेण्टाइनमा राखिएको छ ।
बाजुरा जिल्लामा भारतबाट आउने क्रम बढेसँगै जेठ १० गते आएका ४४ जनाको कोरोना परीक्षण गर्न आरडीटी र भीटीएम किट अभाव भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…