कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ९ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ ९ गते थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय १६ पुगेको छ । जसमा पुरुष ४ सय ४० र महिला ७६ जना रहेका छन् । सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कैलाली जिल्लाका १९, २३ र २६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी डडेल्धुराका एक जना २८ वर्षीय पुरुष, बैतडी जिल्लाका एक जना २२ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बाँकेका १४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरू १८ देखि ६१ वर्ष उमेर समूहका पुरुषहरू रहेका छन् । त्यस्तै रतुवामाई २ मोरङ्गका ४१ वर्षीय पुरुषमा पनि सङ्क्रमण पोजेटिभ देखिएको छ । यसैगरी, सर्लाही जिल्लामा १५, कपिलवस्तुमा नौ, चितवनमा दुई, नवलपरासी पश्चिमका तीन, नवलपरासी पूर्वका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रमलयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा दुई, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरीएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । नयाँ सङ्क्रमितमा एक जना मकवानपुर, एक जना भक्तपुर, एक जना सप्तरी र ६ जना बाराका रहेका छन् । हालसम्म कोराना सङ्क्रमित जिल्ला ४० पुगेको छ । जेठ ९ गते बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना डिस्र्चाज भएका छन् ।
प्रदेश १
प्रदेश १ मा जेठ ९ गते थप एक जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङको रतुवामाई नगरपालिका–२ का ४१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मोरङमा एक जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ८५ पुगेको छ । ८५ जना सङ्क्रमितमध्ये २६ जना डिस्चार्ज भएका छन् ।
प्रदेशमा ४० हजार बढी नागरिकको पीसीआर(पोलिमर चेञ्ज रियाक्सन) परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा जेठ ९ गते बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरू र प्रदेशभित्र कोरोना सङक्रमित पहिचानका लागि परीक्षणको दायरा बढाउन लागिएको हो ।
कोरोना भाइरसको नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरूको समेत बृद्धि गरिने भएको छ । यसका लागि कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चलविश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ । प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरूको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ । कार्ययोजना अनुसार इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड सङ्ख्या बन्ने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार गर्न लागिएको हो ।
प्रदेश २
प्रदेश २ मा जेठ ९ गते सर्लाही जिल्लाका १५, बारा जिल्लाका ६ र सप्तरीमा एक जना गरी २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमित हुनेहरूमा सर्लाही जिल्ला गोडैता नगरपालिका–८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका–७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला रहेका छन् । त्यसैगरी बारा जिल्ला सिमरनगढ नगरपालिका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष तथा सप्तरी जिल्लाको बलान–बिहुल गाउँपालिका–३ मौवाहाका ३५ वर्षीय पुरुष रहेका छन् ।
प्रदेशमा जेठ ९ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ७ हजार ५ सय ३६ जनाको स्वाब सङ्कलन गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । जेठ ९ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ८ सय ६५ जनाको गरिएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको १० हजार ६ सय ७४ बेड क्षमताको २ सय २८ ओटा क्वारेन्टाइनमा ६ हजार ६ सय ८६ जना व्यक्तिलाई राखिएको सचिव घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ५ हजार १ सय ५५ जना व्यक्तिहरू होमक्वारेन्टाइनमा रहेका छन् भने ४ सय ५१ बेड क्षमताको आइसोलेशनमा १ सय ४३ जना उपचारार्थ छन् ।
सिरहाको नरहा गाउँपालिका–१ मा जेठ ९ गते राहतको विषयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ता बीच विवाद हुँदा १८ जना घाइते भएका छन् । गाउँपालिकाले १० दिन अघिनै राहत बाँडिसके पनि कांग्रेसका केही असन्तुष्ट कार्यकर्ता र नेकपाका कार्यकर्ताबीच विवाद भएको हो ।
बागमती प्रदेश
यस प्रदेशमा जेठ ९ गते चितवन जिल्लाका दम्पतिमा कारोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी मकवानपुरकी एक जना र भक्तपुरकी एक गरी दुई जना महिलामा सङ्क्रमण देखिएको छ । योसँगै यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । जसमध्ये ११ जना निको भएर घर फर्केका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरसबाट मृत्यु भएकी महिलाका नवजात शिशु र पतिसहितका परिवार डिस्चार्ज भएका छन् । सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको जेठ १ गते राति उपचारका क्रममा मृत्यु भएको थियो । महिलाको मृत्युपछि नवजात शिशु, पति, उनका आमा र बहिनीलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनीहरुमा कोरोना सङ्क्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिए ।
ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत सर्लाहीका ७७ वर्षीय पुरुषको कोभिड–१९ का कारण नभइ अरू नै रोगले मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो । त्यसैगरी अल्का अस्पताल जावलाखेलमा उपचार गर्दागर्दै मृत्यु भएका नवलपरासीका ६५ वर्षीय पुरुषको स्वाब परीक्षण गर्न प्रयोगशालामा पठाइएको पनि उहाँले बताउनु भयो ।
महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौँमा रहेका प्रहरीमा कोरना पोजेटिभ देखिएसँगै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेका १८ जना प्रहरीको आरडीटी परीक्षण गरिएको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ ९ गतेसम्म १ हजार ८ सय १८ जनाको स्वाब परीक्षण गरिएको छ । तिमध्ये १ हजार ५ सय ९३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । २ सय २० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ९ गतेसम्म ७ हजार ७ सय १ जनाको र्यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
सरकारद्वारा कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड अस्पताल’को रुपमा तोकिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ शैय्याको आइसियू तयार गरिँदै छ । कोभिड–१९ का बिरामीको उपचाका लागि विशेष सुविधासहितको कोभिड उपचारमैत्री शैय्या निर्माण भइरहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा पाँच जनामा कोरोना सङ्क्रमण देखिएकामा बागलुङका दुई जना निको भएर डिस्चार्ज भएका छन् । नवलपरासी पूर्वका दुई जनाको उपचार चितवनमा र लमजुङका एक जनाको उपचार काठमाडौँमा भइरहेको छ ।
प्रदेश ५
प्रदेश ५ मा जेठ ९ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ सय २७ पुगेको छ । जसमध्ये बाँके जिल्लाका २२ जना निको भएर घर फर्केका छन् । घर फर्किनेमा १२ जना पुरूष र नौ जना महिला रहेका छन् । उनीहरू १७ देखि २० दिनसम्म आइसोलेशनमा बसेका थिए । बाँकेमा जेठ ९ गते थप १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सङ्क्रमित हुनेमा नरैनापुर गाउँपालिका १३ जना र राप्ती सोनारी गाउँपालिका एक जना रहेका छन् ।
प्रदेश ५ को मन्त्रीपरिषद्को बैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेशन केन्द्र बनाउने निर्णय गरेको छ । आइसोलेशन केन्द्रमा पीसीआरबाट पोजेटिभ देखिएका र कोभिड–१९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने र आइसोलेशन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेश
दैलेख जिल्ला सदरमुकामको आइसोलेशन वार्डमा राखिएका कोरोना सङ्क्रमित युवकलाई उपचारमा लापरबँही भएको भन्ने जनदबाबपछि जेठ ९ गते कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
भारतको विभिन्न स्थानबाट आएका १ हजार ९ सय ३० जना मजदुरहरूलाई प्रदेश ५ र कर्णाली प्रदेशको सीमा क्षेत्र सुर्खेतको भेरीगङगा नपा–५ बबईमा जेठ ८ गते आरडीटी परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ फेला परेपछि वीरेन्द्रनगरस्थित क्वारेण्टाइनमा राखिएको छ ।
जुम्ला जिल्लाका स्थानीय तहले विपन्न परिवार, श्रमिक, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू गरी ४ हजार घरधुरीलाई राहत वितरण गरेका छन् ।
सुदूरपश्चिम प्रदेश
कैलाली जिल्ला जानकी गाउँपालिकाका तीन, बैतडी जिल्ला परशुराम नगरपालिकाका एक र डडेल्धुरा जिल्ला शिवनाथ गाउँपालिकाका एक जना गरी थप पाँच जनामा जेठ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बैतडी जिल्लाको नेपाल–भारत सीमानाका जुलाघाटमा अलपत्र परेका, क्वारेण्टाइनमा बसेका र घर फर्कन चाहने ३ सय ७८ जना नागरिकलाई स्वदेश फर्काइएको छ । डोटी जिल्लामा एक जना सडक मजदुरको जेठ ८ गते आरडिटी परीक्षण गर्दा पाजेटिभ रिपोर्ट आएपछि जेठ ९ गते थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइएको छ । अछाम जिल्लाको मेल्लेख गाउँपालिकास्थित जनता माध्यामिक विद्यालयको क्वारेण्टाइनमा रहेका २५ वर्षीया महिलामा आरडीटी रिपोर्ट पोजेटिभ आएपछि वयलपाटा अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…