कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ८ गते)
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय ५७ पुगेको जेठ ८ गते साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना जेठ ८ गते डिस्चार्ज भएका छन् । हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये ४९ जना निको भएका छन् ।
गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले जेठ ७ गते नै निर्णय कार्यान्वयनका सम्बन्धमा स्थानीय तहलाई आठ बुँदै पत्र पठाएर यस्तो निर्देशन दिएको हो ।
प्रदेश १
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ । १० जना महिला र ७४ जना पुरुषमा सङ्क्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जेठ ८ गते थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाको केचनाकवल गाउँपालिकाका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । केचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेण्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । उनीहरू सबै भारतबाट आएका हुन् । प्रदेशमा सङ्क्रमित भएकामध्ये ५८ जना उपचारमा र २६ जना डिस्चार्ज भएका छन् । प्रदेशमा जेठ ८ गतेसम्म ३ हजार ९ सय २२ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएकामध्ये ८४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
प्रदेश २
प्रदेश २ मा जेठ ८ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ७ हजार २ सय ४२ जनाको स्वाब सङ्कलन गरिएकोमा ५ हजार ३ सय ३५ जनाको रिपोर्ट नेगेटिभ र १ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । १ हजार ७ सय ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जेठ ८ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ८ सय ४४ जनाको गरिएकोमा ५ हजार ८ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ८ हजार ८ सय ९५ बेड क्षमताको २ सय १५ ओटा क्वारेण्टाइनमा ६ हजार ९८ जना व्यक्तिलाई राखिएको घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ५ हजार १ सय ७५ जना व्यक्तिहरू होमक्वारेण्टाइनमा रहेका छन् भने ४ सय ५१ बेड क्षमताको आइसोलेशनमा १ सय ३८ जना उपचारार्थ छन् ।
धनुषाको सबैला नगरपालिका–१२ वरकुर्वामास्थित श्री फकिरचन्द गामी माविमा ०७६ चैत १४ गतेदेखि सञ्चालन गर्दै आएको ५० बेडको क्वारेण्टाइन मापदण्ड विपरित सञ्चालन हुँदै आएको क्वारेन्टानमा बसेका व्यक्तिहरूले गुनासो गरेका छन् । ६१ जना रहेको क्वारेण्टाइनमा शौचालय भने दुई ओटा मात्रै रहेको छ । साँझ–विहान शौचालय जान पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको क्वारेन्टानमा बस्नेहरूले गुनासो गरेका छन् । क्वारेण्टाइनमा खाना समेत गुणस्तरीय नदिएको भारतको गुजरातबाट फर्केर क्वारेण्टाइनमा विगत १० दिनदेखि बस्दै आएका चन्द्रदेव मिश्रले बताए । थालमा भात हाल्ने बित्तिकै ठुस्स गन्हाउन थाल्छ । त्यही भात खाएर मलाई दुई दिनदेखि पखाला लागिरहेको पविन्द्र मण्डलले बताए । बिहानको खाना दिउँसो १२ बजेपछि मात्र दिने गरेको र आफूहरूले क्वारेण्टाइनका व्यवस्थापन समिति सदस्य रहेका वडाध्यक्ष प्रदिप महतोलाई गुनासो गर्दा तिमीहरूले कोरोना लिएर आएको भन्दै हप्काउने गरेको चन्द्रदेव मिश्रले बताए । क्वारेण्टाइन रेखदेखमा खटिएका इलाका प्रहरी कार्यालय सबैलाका हवल्दार मन्दिप पटेलले बिहान शौचालय जान खुला ठाउँमा जानु पर्ने बाध्यता रहेको बताउनु भयो । क्वारेण्टाइनमा मास्क, ग्लोब्स, सेनिटाइजरको व्यवस्थापन नहुँदा क्वारेण्टाइनमा बस्ने र सुरक्षाकर्मीहरुलाई समेत समस्या भइरहेको छ । क्वारेण्टाइनका स्वास्थ्य संयोजक रामदुलार यादवलाई यसबारेमा सोध्दा क्वारेण्टाइनमा बसेकाहरूको अस्पतालमा जस्तो बेड/बेडमै पुगेर स्वास्थ्य जाँच गरिरहनु पर्ने आवश्यकता नभएको बताउनु भयो ।
बागमती प्रदेश
चितवनका क्वारेण्टाइनमा नै कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन गर्न जनस्वास्थ्य स्नातक वा सोभन्दा माथि अध्ययन गरेका स्वास्थ्यका कर्मचारीको नेतृत्वमा तीन सदस्यीय समूह गठन गर्ने निर्णय भएको छ । यससँगै सोही समूहले क्वारेण्टाइनबाट स्वाब सङ्कलन र आरडिटी पनि गर्ने चितवनका जनस्वास्थ्य प्रमुख दीपक तिवारीले बताउनुभयो । जिल्लामा ३ सय बेडका क्वारेण्टाइन रहेका छन् । हाल क्वारेण्टाइनमा २३ जना र आइशोलेसनमा १० जना उपचाररत छन् ।
भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका २७ वर्षीय सशस्त्र प्रहरी र २५ वर्षीया महिला जेठ ८ गते डिस्चार्ज भएका छन् । उनीहरूलाई वैशाख ३१ गते कोरोना पुष्टि भएको थियो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ ८ गतेसम्म १ हजार ५ सय २० जनाको स्वाब परीक्षण गरिएको छ भने १ हजार १ सय ३७ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ३ सय ८० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ८ गतेसम्म कुल ६ हजार ९ सय ९८ जनाको र्यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
लकडाउनका कारण समस्यामा परेका तनहुँका एचआइभी सङ्क्रमितहरूलाई घरघरमै एआरटी र पौष्टिक आहार उपलब्ध गराइएको छ ।
प्रदेश ५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ ८ गतेसम्म प्रदेश ५ मा १० हजार ५ सय ६२ जनाको आरडीटी परीक्षण गरिएको छ । १४ हजार ७ सय ६० जना क्वारेण्टाइनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमित गुल्मी मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको जेठ ८ गते बुटवलस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यससँगै प्रदेश ५ मा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि जेठ ४ गते बाँकेमा २५ वर्षीय पुरुषको क्वारेण्टाइनमा नै मृत्यु भएको थियो ।
कपिलवस्तुको महाराजगञ्ज नपामा जेठ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएका चार जना बालबालिकासहित आठ जनाको बिचल्ली भएको छ । उनीहरुलाई थप उपचारका लागि अस्पताल नपुर्याउँदा बिचल्ली भएको हो । हालसम्म उनीहरूका लागि सेनिटाइजरसमेत उपलब्ध नभएको स्थानीयको भनाइ छ । व्यवस्थापनको तयारी भइरहेको सो नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम कलवारले बताउनु भयो ।
कर्णाली प्रदेश
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आइसियु भेन्टिलेटरसहित १ सय २० बेडको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारको उद्दारमा भारतबाट कालीकोट ल्याएका ४२ जनाको जेठ ८ गते स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने भएको छ ।
सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिकाका ४ सय ३६ जना स्थानीयहरू बबई नाकामा स्वास्थ्य परीक्षण बिना जिल्ला भित्रिएका छन् भने किट अभावका कारण कपुरकोट नाकाबाट जिल्ला भित्रिएकाहरूमध्ये ६० जनाको मात्रै आरडीटी गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
दार्चुला जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा नौ ओटै स्थानीय तहका जनप्रतिनिधिले माग गरेअनुसार सीमामा रोकिएका र अलपत्र परेका नागरिकको उद्दार गरिएको छ ।
कैलाली जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले खटाएका तीन जना डाक्टरको समयावधि सकिएर फर्किसकेकाले कोरोनाको बढ्दो अवस्थालाई मध्यनजर गरी सम्बन्धित निकायलाई पुनः खटाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…