कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ४ गते)

  ०७७ जेठ ४ गते

नेपालमा कोभिड-१९ (कोरोना) सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जेठ ४ गते बिहान ६ः ४० मा बाँकेको नरैनापुर क्वारेण्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु कोरोना सङ्क्रमणका कारण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । उनी वैशाख ३० गते भारतबाट नेपाल आएको खुलेको छ ।

नेपाल सरकारले लकडाउनको अवधि जेठ २० गते मध्यरातसम्मलाई थप गरेको छ । मन्त्रीपरिषदको बैठक बसेर जेठ ४ गते यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवम् अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए । चैत ११ गतेबाट लगाइएको लकडाउन पटकपटक थप गरी जेठ ५ गतेसम्म लम्ब्याइएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । जसमध्ये दुई जनाको मृत्यु र ३६ जना उपचारपछि निको भइसकेका छन् । बाँकी सङ्क्रमितको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेशबाहेकका ६ ओटै प्रदेशमा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ का पाँच जिल्लामा ३९ जना, प्रदेश २ का सबै आठ ओटै जिल्लामा १ सय २० जना, बागमती प्रदेशका सात ओटा जिल्लामा १८ जना, गण्डकी प्रदेशमा दुई जिल्लाका तीन जना, प्रदेश ५ का ६ जिल्लामा १ सय १० जना र सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा पाँच जना सङ्क्रमित पुष्टि भएका हुन् । तिमध्ये बागमती प्रदेशको सिन्धुपाल्चोककी एक जना महिला र प्रदेश ५ को बाँकेका एक जना पुरुषको मृत्यु भएको हो ।

प्रदेश १

प्रदेश १ मा जेठ ४ गते थप तीन जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाकी ३४ वर्षीया स्वास्थ्यकर्मी महिला, विराटनगरका महानगरपालिकाका ३५ वर्षीय पुरुष र २९ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या ३९ जना पुगेको छ । प्रदेशका पाँच ओटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उदयपुरमा ३३ जना, झापामा दुई जना, मोरङमा दुई, धनकुटामा एक जना र भोजपुरमा एक जना सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये १७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा जेठ ४ गतेसम्म पीसीआर र आरडीटी विधिबाट १२ हजार २ सय ८८ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरसका शङ्कास्पद ३ हजार ७१ जनाको स्वाब सङ्कलन गरिएको छ ।

झापाको दमक नगरपालिकाले राहतको विकल्पमा “एक परिवार, एक रोजगारी” कार्यक्रम सुरू गरेको छ । ६ सय परिवारलाई लक्षित गरी कार्यक्रम सुरू गरिएको नगरपालिकाले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा जेठ ४ गते १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसअनुरुप रौतहट जिल्ला राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । उनीहरू सबै भारतबाट आएका थिए । जेठ २ गते उनीहरूको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनीहरू सम्बन्धित स्थानीय तहकोे क्वारेण्टाइनमै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताउनु भयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जेठ ४ गते प्रदेशवासीको नाममा सम्बोधन गर्नु भएको छ । दैनिक प्रत्यक्ष प्रशारण हुने प्रदेशको कोरोनासम्बन्धी अपडेट मिडिया ब्रिफिङकै क्रममा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै प्रदेशमा तत्काल ५० ओटा भेण्टिलेटर सहितको सेवा सुरु गर्न लागिएको बताउनु भयो । कोरोना भाइरसलाई लक्षित गरी प्रदेश मातहत रहेका अस्पतालहरूलाई ५ करोड रुपियाँदेखि २२ करोड रुपियाँसम्म रकम उपलब्ध गराई अस्पतालहरूको स्तरोन्नति, पूर्वाधार निर्माण लगायतको काम समेत सुरू गरिएको उहाँले बताउनु भयो ।

बागमती प्रदेश

कोरोनाका कारण एक महिलाको मृत्यु भए पश्चात उनको सम्पर्कमा आएका व्यक्तिहरूको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा कन्ट्रयाक ट्रेसिङको काम सुरू भइसकेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कम्युनिटी मेडिसिन युनिट र सिन्धुपाल्चोक तथा धुलिखेल अस्पतालको कमिटी मेडिसिन युनिटको अग्रसरतामा महाशाखामार्फत ट्रेसिङ्गको काम जेठ ३ गतेबाटै सुरू गरी जेठ ४ गते नमुना सङ्कलनको थालनी गरिएको छ ।

उच्च ज्वरो आएका दुई जना महिलालाई सिन्धुली अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । जेठ ४ गते उच्च ज्वरो आएपछि कोरोना आशङ्कामा उनीहरूलाई आइसोलेशनमा भर्ना गरिएको हो । कोरोना परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरी जेठ ४ गते प्रादेशिक अस्पताल हेटौँडामा पठाइएको छ । कोभिड—१९ को सङ्क्रमणको कारणले मुत्यु भएकी बाह्रबीसे नपा–९ की महिलाको सम्पर्कमा पुगेका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङमा ५५ जनाकोे सूची तयार पारी उनीहरूको स्वाब परीक्षणको तयारी गरएिको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ३ गतेसम्म १ हजार ५८ जनाको स्वाब परीक्षण गरिएको छ भने ९ सय १३ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । १ सय ४२ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ३ गतेसम्म ६ हजार ९ सय ४८ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

प्रदेश ५

दाङको घोराही उपमहानगरपालिकाले आफ्ना १ हजारभन्दा बढी नागरिक भारतीय सीमामा अलपत्र परेको भन्दै उद्धार थालेको छ । जिल्लाको सीमा नाका कोइलावास र कृष्णनगर भन्सार क्षेत्रमा घोराहीका बासिन्दा अलपत्र परेको भन्दै सुरक्षित रूपमा ल्याएर क्वारेण्टाइनमा राख्नका लागि छुटटा छुट्टै बस पठाएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

बर्दिया जिल्लामा कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक स्वास्थ्य सामग्रीको कमी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भएको छ । उहाँले पीपीइ, सेनिटाइजर, माक्स अभाव रहेको बताउनु भएको हो ।

कर्णाली प्रदेश

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–५ को यारीमा रहेको क्वारेण्टाइनमा १७ जनाको जेठ ३ गते आरडिटी परीक्षण गर्दा एक जनाको शङ्कास्पद रिपोर्ट आएपछि जेठ ४ गते सोही रिर्पोट सदरमुकाम सिमकोट पु¥याएकोमा जेठ ५ गते पीसीआर परीक्षणका लागि सुर्खेत पठाउने कर्णाली विज्ञान प्रतिष्ठानबाट खटिएका डाक्टर करमेन्द्र न्यौपानेले बताउनु भयो । यसैगरी, लकडाउनका कारण बिहान बेलुकी छाक टार्न समस्यामा परेका हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाका २ सय ५० गरिब र विपन्न घरपरिवारलाई सोही ठाउँका स्थानीय समाजसेवीले आफ्नो व्यक्तिगत पहलमा राहत वितरण गर्नु भएको छ ।

लकडाउनमा कडाइ हुन थालेपछि सर्वसाधारणलाई खाद्यान्न जोहो गर्न समस्या भएकोले मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकाले आफ्ना सबै घरधुरीलाई राहत वितरण गरेको छ ।

सुदूरपश्चिम प्रदेश

डोटी जिल्ला अस्पतालमा जेठ ३ गते २४ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएकोमा एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको र उहाँसँगै अन्य पाँच जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ । बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका १३ जना र वित्थडचिर गाउँपालिकाका आठ जना गरी १३ जनामा ¥यापिड डाइग्नोस्टिक रिपोर्ट पोजेटिभ आएपछि सबै जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि धनगढीस्थित प्रदेश प्रयोगशालामा पठाइएको छ ।

लकडाउनको समयमा भारतबाट फर्किएका ६ सय २३ जना कञ्चनपुर जिल्लाको नौ ओटै स्थानीय तहमा रहेका क्वारेण्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसी आरडीटी रिपोर्ट नेगेटिभ आएपछि जेठ ४ गते घर पठाइएको छ । भारतका विभिन्न स्थानमा अलपत्र परेका ७ सय ५९ जना नेपाली नागरिकको जेठ २ र ३ गते गौरीफण्टा नाकाबाट उद्धार गर्ने क्रममा आरडीटी गरिएको र सबै जनाको रिपोर्ट नेगेटिभ आएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।

दार्चुला जिल्लाको नौगाड गाउँपालिकाले बन्दाबन्दीका कारण देशबाहिर रहेका नागरिकलाई यथाशिघ्र स्वदेश फर्काएर क्वारेण्टाइनमा राख्न प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरेको छ । सीमामा अलपत्र परेका बैतडीको पुर्चाैडी नगरपालिकाका नौ जना दशरथचन्द नगरपालिका–१० बाराकोटबाट ट्युबमार्फत महाकाली नदी तरेर जेठ ४ गते बिहान नेपाल भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले बताउनु भयो ।


अनलाइन डेस्क