कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ सय ६७ पुगेको छ । जेठ २ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप नौ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ सय ६७ पुगेको हो । अभिलेखित तथ्याङ्क अनुसार प्रदेश १ मा ३६, प्रदेश २ मा १ सय ३, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा तीन, प्रदेश ५ मा १ सय ५ र सुदूरपश्चिममा पाँच जना सङ्क्रमित छन् । हालसम्म पर्सामा ८९, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी काठमाडौँमा नौ, कैलालीमा चार, बारा, धनुषा, रौतहट र दाङमा तीन/तीन जनामा सङ्क्रमण देखिएको छ । बागलुङ, भक्तपुर, चितवन, झापा, महोत्तरी र सर्लाहीमा दुई/दुई जनामा तथा बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी पश्चिम, सप्तरी, मकवानपुर, धादिङ र नवलपरासी पूर्वमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश १
प्रदेश १ मा पीसीआर र आरडीटी विधिबाट १२ हजार ८५ जनाको परीक्षण गरिएको छ । जेठ २ गतेसम्म पीसीआर परीक्षणका लागि कोरोना भाइरसका शङ्कास्पद २ हजार ९ सय ७४ जनाको नमुना सङ्कलन गरिएको छ । ८ सय ७७ जना महिला र २ हजार ९७ जना पुरुषको नमुना सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशमा जेठ २ गते ५५ जनाको नमुना सङ्कलन गरिएको छ । प्रदेशमा जेठ २ गतेसम्म ५ हजार ८ सय १६ बेडको क्वारेण्टाइन निर्माण गरिएको छ । जेठ २ गते ३१ वेड थप गरिएको छ । क्वारेन्टाइनमा १ सय ७३ जना महिला र ५ सय १४ जना पुरुष गरी ६ सय ८७ जना रहेका छन् । होमक्वारेन्टाइनमा बस्नेको सङ्ख्या ८ हजार २ सय ५५ जना छ । होमक्वारेन्टाइनमा १ हजार ६ सय २४ जना महिला र ६ हजार ६ सय ३१ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश २
प्रदेश २ मा जेठ २ गते चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसअनुरुप पर्साको बीरगञ्ज महानगरपालिका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश २ मा जेठ २ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ४ हजार ९ सय ८० जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा ३ हजार ८ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । अन्यको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, जेठ २ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ५ सय १७ जनाको गरिएकोमा ५ हजार ५ सय ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार २ सय ६७ बेड क्षमताको १ सय ८१ ओटा क्वारेन्टाइनमा १ हजार ९ सय १५ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ४ हजार ६ सय ८८ जना व्यक्तिहरू होमक्वारेन्टाइनमा रहेका छन् भने ३ सय ९८ बेड क्षमताको आइसोलेशनमा १ सय ८ जना उपचाररत छन् ।
कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको बारा जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने मानव अधिकारकर्मी सहित ४२ जना सञ्चारकर्मी, दुई जना राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी र कलैया अस्पतालका ५८ जना स्वास्थ्यकर्मी सहित १ सय २ जनाको कलैया अस्पतालमा जेठ २ गते स्वाब सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ओम खड्काले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौं महानगरपालिकामा जेठ २ गते फोहोरमैला सङ्कलन कार्यमा संलग्नहरूको कोरोना संक्रमण परीक्षण गरिएको छ । टेकुमा उनीहरूको आरडीटी परीक्षण र पीसीआरका लागि स्वाब सङकलन गरिएको हो ।
ललितपुरको पाटन अस्पतालमा जेठ २ गते ११ जनालाई भर्ना गरी आइसोलेशन वार्डमा उपचार गरिरहेको अस्पतालले जनाएको छ । कोभिड–१९को पुष्टि भएका तीन जनालाई समेत भर्ना गरी आइसीयूमा राखेर उपचार भइरहेको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिनु भएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ २ गतेसम्म ७ सय ८८ जनाको स्वाब परीक्षण गरिएको छ भने ७ सय ६४ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । २२ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ २ गतेसम्म कुल ६ हजार ९ सय ३२ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ । गण्डकी प्रदेशमा हालसम्म बागलुङमा दुई जना र नवलपरासी पूर्वमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा अब पीसीआर विधिबाट मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने भएको छ ।
प्रदेश ५
नेपालमै सबैभन्दा बढी प्रदेश ५ मा १ सय ५ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । कपिलवस्तुमा ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, दाङमा तीन, बर्दिया र नवलपरासी पश्चिममा एक÷एक जना सङ्क्रमित पुष्टि भएका हुन् ।
नेपाल–भारत सीमा नाकाबाट उद्दार गरी बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेण्टाइनमा राखिएका आठ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४५ जनाको स्वाब परीक्षण गरिएकामध्ये आठ जनाको जेठ २ गते सङ्क्रमण पुष्टि भएको हो । भारतका विभिन्न ठाँउबाट घर फर्केका ४ सय ४१ जनालाई नरैनापुर गाउँपालिकाले उद्दार गरी क्वारेण्टाइनमा राखेको छ । बाँकेको नरैनापुर गाउँपालिका– १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरूषमा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेन्द्र श्रेष्ठले बताउनु भयो ।
बर्दियामा कोराना भारइरस परिक्षणका लागि स्वाव संकलनको दायरा बढाइएको छ । हालसम्म ६ सय ५७ जनाको परिक्षणका लागि स्वाब सङ्कलन भएकोमा तीमध्ये ५ सय ८३ जना जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको पोजेटिभ आएको छ । ७२ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।
कपिलवस्तु जिल्लाको १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । कपिलवस्तुमा प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यक बाहेकका व्यक्ति र सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले वताउनु भयो । सङ्मितहरूमध्ये चार जना सुरक्षाकर्मीलाई तौलिहवास्थित तिलौराकोट होटलमा कोरोना अस्थायी अस्पतालको स्थापना गरी राखिएको छ ।
दाङ जिल्लामा तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ । जेठ २ गते साँझ मात्रै उनीहरूमा कोरोना पुष्टि भएको हो । बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा बाँकेको नरैनापुरका आठ जना कोरोना सङ्क्रमितलाई ल्याइएको छ ।
प्रदेश ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले विश्वमा फैलिएको कोरोना भाइरसको माहामारीलाई व्यवस्थापन, गुरुयोजना र प्रदेश स्वास्थ्य नीति निर्माण लगायतकाविभिन्न विषयमा नेपाल राष्ट्रिय चिकित्सक सङ्घ लुम्बिनी शाखाका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ ।
कर्णाली प्रदेश
वैशाख १ गतेबाट क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको अवधि पूरा भएपछि कोरोना सङ्क्रमणको परीक्षण गर्न स्वास्थ्यकर्मीसहितको टोली हुम्ला जिल्लाका सात ओटै गाउँपालिकामा परिचालन गरिएको छ । विभिन्न जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि मानिसको आवतजावत र सवारी साधन सञ्चालनमा थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जनाएको छ ।
सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा कोरोना सङ्क्रमित पुष्टि भएका विभिन्न जिल्लाबाट आएका १० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ । सिबिएम नेपालको सहयोगमा आइएनएफ जुम्ला र अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्रले सञ्चालन गरेको सबलता परियोजनाअन्तर्गत जुम्लाका अति विपन्न ३५ जना दृष्टिविहीन तथा व्हीलचेयर प्रयोगकर्ता अपाङ्गता भएका अति अशक्त व्यक्तिलाई राहत वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जेठ १ गते अघि सारेको छानबिन प्रक्रियाको पहिलो चरणमा धनगढी उपमहानगरपालिकाको राहत खरिदसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ । वैशाख ३० गते धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा वितरण गरिएको राहत गुणस्तरहीन प्रमाणित भएको थियो ।
आरडीटी परीक्षणबाट पोजेटिभ देखिएका ५० वर्षीय व्यक्ति बझाङ जिल्ला अस्पताल सिमखेतको आइसोलेशनमा राखी स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–२ मा लकडाउन अवधिमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूको हिकिला स्वास्थ्य चौकीमा जेठ २ गते आरडिटी टेस्ट गरिएको छ ।
कोराना भाइरसका कारण रोकिएको दादुरा तथा रुबेला खोप जेठ २ गते डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ पुन्नेतोलामा ९ महिनादेखि ५ वर्ष मुनिका ६१ जना बालबालिकालाई लगाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…