कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १८ गते)

  ०७७ साउन १८ गते

साउन १८ गते २ सय ४६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३ सय ३२ जना पुगेको छ । जसमध्ये ५७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १८ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १४ हजार ६ सय ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन १८ गते १ सय ११ जना डिस्चार्ज भएका छन् भने निको दर ७१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ५ हजार ६ सय ७२ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १ 

झापा प्रतिनिधि नरेश खातीका अनुसार विर्तामोड नगरपालिका क्षेत्रमा साउन १८ गते मध्यरातिदेखि नगर क्षेत्रमा लकडाउन घोषणा गरिएको छ । पछिल्लो दिनमा कोरोना भाइरसको सङ्क्रमणको समुदायस्तरमा फैलिएपछि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि लकडाउनको घोषणा गरिएको नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।

प्रदेश २ 

प्रदेश २ मा साउन १८ गते सम्ममा जम्मा ५ हजार ३ सय ५९ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार १ सय ६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल २ हजार १ सय ७५ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन १८ गते सम्ममा २० जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार तिलाठी कोइलाडी गाउँपालिका-२ स्थित लौनिया टोलका चिया पसले, पान पसले, कपाल काट्ने व्यक्तिसहित समुदायका २५ जना सङ्क्रमित साउन १८ गते थपिएपछि गाउँमा सन्त्रास थपिएको छ । अस्पतालको आकस्मिक कक्षमा विषसेवन पश्चात उपचार गराइरहेका ५० वर्षीय पुरुषमा साउन ९ गते कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ् गर्दै जाँदा यसअघि उनको परिवारका पाँच जना, गाउँले एक जना र उनको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको सम्पर्कमा आएका लौनिया गाउँका १ सय ६ जनाको स्वाब साउन १४ गते सङ्कलन गरिएकोमा साउन १८ गते २५ जनामा सङ्क्रमण देखिएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनु भयो ।

यसैगरी बिरामीको उपचारमा संलग्न गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत २८ र ४० वर्षीय दुई स्वास्थ्यकर्मीमा समेत साउन १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । समुदाय स्तरमा ठूलो सङ्ख्यामा सङ्क्रमित बढेर गाउँपालिकामा सङ्क्रमित हुने सङ्ख्या ७९ पुगेपछि गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट अति आवश्यक सेवा बाहेक सबै सेवा तथा हाट बजार, पसल साउन १९ गतेदेखि बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताउनु भयो । लौनियाका व्यक्तिहरू किनमेल गर्न जाने गरेको कुनौली नाकाबाट भइरहेको आवत-जावतलाई समेत कडाईका साथ बन्द गर्न स्थानीय प्रशासनलाई गाउँपालिका अध्यक्ष सिंहले अनुरोध गरेको जनाउँदै गाउँपालिकामा विशेषज्ञसहित टोलीको माग गर्नु भएको छ । डाकनेश्वरी नगरपालिकालेसमेत साउन १७ गतेदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्दै विभिन्न हाट, बजार, मेला लाग्न नदिन कडाई गरेको नगर प्रमुख शिवनारायण साहले जानकारी दिनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जनकपुरधाम उपमहागरपालिकाभित्र साउन १९ गते राति १२ बजेपछि निषेधाज्ञा जारी गर्ने साउन १८ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भएको छ । प्रदेश २ को उच्च अदालतका एक न्यायाधीश, सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारी, प्रादेशिक अस्पतालका तीन जना कर्मचारीहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सात दिनको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रजिअ भट्टराईले बताउनु भयो ।

गण्डकी प्रदेश 

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार गाउँपालिकाका एक कर्मचारीलाई कारोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाको सेवा साउन १८ गतेदेखि तीन दिनको लागि बन्द गरिएको छ । सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका कर्मचारीहरूको परीक्षणका लागि साउन २० गतेसम्मका लागि कार्यालय बन्द गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनु भयो । सङ्क्रमण पुष्टि भएका कर्मचारी आफ्नै घरको आइसोलेशनमा रहेका छन् । साउन १८ गते २६ जना कर्मचारीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र अन्य कर्मचारीको स्वाब साउन १९ गते सङ्कलन गरिने सूचना अधिकारी डोटेलले जानकारी दिनुभयो ।

प्रदेश ५ 

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बाँकेमा साउन १८ गतेदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरिएको छ । साउन १५ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन समिति (सिसीएमसी) को बैठकले साउन २० गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । निषेधाज्ञाको पहिलो दिन अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द रहेका छन् भने साउन १९ गते रक्षा बन्धनलाई मध्यनजर गर्दै केही खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी निषेधाज्ञाको समयमा गरिएको कोरोना परीक्षणमा इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक जना थुनुवा, आर्मी अस्पतालका दुई जना चिकित्सक र जिल्ला अदालत बाँकेका पाँच जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज उपमनपाका स्वास्थ्य संयोजक रामबहादुर चन्दले बताउनु भयो । यसअघि यातायात व्यवस्था कार्यालय र आन्तरिक राजश्व कार्यालयका कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त कार्यालयहरू बन्द गरिएका छन् ।


अनलाइन डेस्क