कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १४ गते)

  ०७७ साउन १४ गते

साउन १४ गते २ सय १० जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १४ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १४ हजार २१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार २ सय ३ जनाको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश २ का पाँच, बागमती प्रदेशका १४, प्रदेश ५ का दुई, कर्णाली Table_July29प्रदेशका एक जना गरी २२ जनाको उपचार आइसियू र भेण्टिलेटरमा भइरहेको छ । गत २४ घण्टामा ६ हजार ३७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

साउन १४ गतेसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । साउन १४ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४९ जनाको मृत्यु भएको स्थिति प्रतविेदनमा उल्लेख गरिएको भएपनि असार १४ गते वीरगञ्जमा दुई र विराटनगरमा एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ ।

प्रदेश १ 

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ का ५८ वर्षीय पुरूषको साउन १४ गते कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । सुनवर्षी नगरपालिका-८ का ४५ वर्षीय पुरूषको बीपी कोइराला कोरोना अस्पतालमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

१२ दिनअघि भारतबाट आएका उनी सुनवर्षी नगरपालिकाले निर्माण गरेको क्वारेण्टाइनमा बस्दै आएका थिए । साउन १३ गते छातीमा समस्या देखिएपछि उनलाई गोल्डेन अस्पताल विराटनगर भर्ना गरिएको थियो । गोल्डेन अस्पतालले कोरोना भाइरसको लक्षण देखिएकाले साउन १३ गते राति कोशी अस्पताल रेफर गरेको थियो । कोशी अस्पतालले स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । बिरामीको स्वास्थ्य जटिल बनेपछि साउन १४ गते बिहान कोशी अस्पतालले बीपी अस्पतालमा रेफर गरेको थियो । कोरोना भाइरसका कारण प्रदेश १ मा पहिलो मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २
प्रदेश २ मा साउन १४ गते सम्ममा जम्मा ५ हजार ७७ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार १८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल २ हजार ४६ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन १४ गते सम्ममा १३ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि शम्भुनाथ नगरपालिकाले साउन १४ गतेदेखि कामकाज बन्द गर्दै लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख योगेन्द्रप्रसाद चौधरीले साउन १४ गते विज्ञप्ति जारी गर्दै नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवा साउन १४ गतेदेखि बन्द गरिएको र साउन १५ गतेदेखि लकडाउन गर्ने निर्णय भएको उल्लेख गर्नु भएको छ । नगर प्रमुख चौधरीद्वारा जारी विज्ञप्तिमा बजार, पसल, व्यवसाय, सरकारी, गैरसरकारी र वित्तिय संस्थाहरू पूर्ण रूपले बन्द गरी लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश र सरकारी वकिलमा कोरोना पोजिटिभ देखिएपछि राजविराजस्थित अदालतमा सङ्क्रमणको जोखिम बढेको भन्दै अदालतले बन्दी प्रत्यक्षीकरण, कोभिड–१९ सँग सम्बन्धित निवेदन र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ बमोजिमका निवेदनबाहेक सम्पूर्ण पेशी लगायतका काम–कारवाही स्थगित गरेको अदालत प्रशासनले जनाएको छ ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा आइसोलेशनमा खटिएका महोत्तरीका १० नेपाली सैनिक र दुई शिक्षक कोरोनाबाट सङ्क्रमित भएका छन् । साउन १४ गते स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९ फोकल पर्सन गिरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार पछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । झाले त्यसमा १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी दिनु भयो ।

केही दिनअघि मात्र महोत्तरीका एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेशनमा खटिएका नेपाली सेना कोरोनाबाट सङ्क्रमित देखिएको फोकल पर्सन झाले बताउनु भयो । नेपाली सेनालाई किसान नगरमा रहेको मध्यपृतनामा राखिएको छ । यसैबीच, जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको साउन १४ गते बसेको बैठकले जिल्लामा ९५ ओटा क्वारेण्टाइनबाट १२ ओटामा झरेको भन्दै हरेक स्थानीय तहले कम्तीमा एउटा क्वारेण्टाइन सञ्चालनमा ल्याउनु पर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्वारेण्टाइनमा बसेको तर पीसीआर जाँच नभएकालाई अनिवार्य रूपमा पीसीआर गराउने निर्णय गरेको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोरोना भाइरसको सङ्क्रमण भई गम्भीर अवस्थाका बिरामीको उपचारका लागि प्रदेश २ मा भेण्टिलेटर र आइसीयूको अभाव रहेको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका सह निर्देशक विजय झाले बताउनु भएको छ । प्रदेश २ का आठ जिल्लामध्ये पर्साको बीरगंज, धनुषाको जनकपुर र सप्तरीको राजविराजको सरकारी अस्पतालमा मात्रै भेण्टिलेटरको व्यवस्था छ । आवश्यकता अनुसार कोरोना सङ्क्रमित बिरामीको लागि भेण्टिलेटर अभाव रहेको सह निर्देशक झाले बताउनु भयो । पर्साको बीरगंजस्थित नारायणी अस्पतालमा तीन ओटा भेण्टिलेटर, जनकपुरको प्रादेशिक अस्पतालमा दुई ओटा भेण्टिलेटर र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चार ओटा भेण्टिलेटर भएपनि आइसीयू कक्ष भने छैन ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार चन्द्रपुर नगरपालिका क्षेत्रका बालबालिका तथा ज्येष्ठ नागरीकलाई प्रदान गर्दै आएको पोषण तथा ज्येष्ठ नागरिक भत्ता चन्द्रपुरमा वितरण सुरू गरिएको छ । चन्द्रपुर नगरपालिकाका हरेक वडाका छुट्टाछुट्टै बैङ्कहरूमा सो भत्ता लिन सक्ने गरी व्यवस्थापन गरिएको भएपनि कोरोना महामारीको सङ्कट टरी नसकेकोले यो सङ्कटको घडीमा कोभिड १९ को नियम पालना नगर्दा समुदायस्तरमा कोरोना फैलन सक्ने अवस्थालाई सबै पक्षले ध्यान दिनुपर्ने र साउन १५ गते बैङ्कहरूको अनुगमन गरी प्रत्येक वडालाई बढीमा २० जनालाई मात्र सिफारिस गर्न निर्देशन दिने चन्द्रपुर नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलले बताउनु भयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट बीरगंजमा ७१ वर्षीय र ६८ वर्षीय बृद्धको उपचारको क्रममा साउन १४ गते मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसेनले बताउनु भएको छ  । ७१ वर्षीय बृद्धको निधन नेशनल मेडिकल कलेजमा साउन १४ गते दिउँसो भएको हो । उहाँको निधनपछि आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको पर्साका एसपी गङ्गा पन्तले जानकारी दिनु भयो । मिर्गौला र निमोनियाको समस्याले ग्रसीत बृद्ध पखला लागेका कारण अस्पताल भर्ना भएका थिए ।

यहाँका अन्य अस्पतालले भर्ना लिन नमानेपछि पर्साका एसपीको सहयोगमा उनी मेडिकल कलेजमा पुगेका थिए ।  पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६८ वर्षीय बृद्धको पनि कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको डाक्टर निरज सिंहले बताउनु भयो । मुटु रोगको समस्याबाट पीडित उनको निधन गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा भएको हो ।


अनलाइन डेस्क