कोरोना नियन्त्रण तथा रोकथामका लागि गाँउपालिकाद्वारा १० लाख रुपियाँको कोष स्थापना

  ०७६ चैत २१ गते

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि रौतामाई गाउँपालिकाले १० लाख रुपियाँको कोष स्थापना गरेको छ ।

कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

पालिकाले विपद् व्यवस्थापन कार्यक्रमबाट ५ लाख रुपियाँ,जनप्रतिनिधिरूको पाँच दिनको सुविधा र  कर्मचारीहरूको एक दिनको तलव गरी १० लाखको कोष स्थापना गरिएको छ ।

कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिने प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो ।

कोष स्थापनासँगै गाउँपालिकाले सबै स्वास्थ्य चौकीहरू र आवतजावत हुने नाकामा हेल्प डेक्सलाई सक्रिय बनाएको अध्यक्ष खड्काले बतानुभयो ।

कोषबाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूलाई व्यक्तिगत सुरक्षा कवज पीपीइ, ग्लोव, मास्क लगायतका सामग्रीहरू उपलब्ध गराएको अध्यक्ष खड्काले बताउनुभयो ।

‘विदेशबाट आएकाहरूको खोजीका लागि प्रत्येक वडामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी टोली परिचालन गरेको गाँउपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत खम्बराज राईले गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरूको नामवली अध्यावधि गर्ने काम गरीरहेको र स्वास्थ्य सचेतना जगाउने काम गरीरहेको बताउनुभयो ।

पालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका चार वटा एम्बुलेन्सहरूलाई तयारी अवस्थामा राखेको छ ।

एम्बुलेन्समा कोरोना भाइरस सङ्क्रमित वा शंकास्पद मानिस भेटिएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरी पालिकाले निर्णय गरेको छ ।

 


भरत खड्का