कोरोना नियन्त्रण तथा उपचारका लागी बागमती प्रदेश सरकारद्धारा ५० करोड रुपियाँको कोष

  ०७६ चैत १८ गते

बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा चैत १७ गते बसेको बैठकले कोषमा ४० करोड रुपियाँ थपेर ५० करोड रुपियाँ पु–याउने निर्णय गरेको हो ।

सरकारले १० करोड रकमबाट शुरु गरिएको कोषलाई बढाएर रु ५० करोड पु¥याएको हो । मुख्यमन्त्री निवासमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुगेलले जानकारी दिनुभयो । बैठकले प्रदेशमा कोरोना विरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ ओटै  निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवम् स्थानीय तहका प्रतिनिधि, राजनीतिक दललगायतलाई  समेत समेटेर अनुगमन समिति बनाउने निर्णय भएको मन्त्री ढुंगेलले बताउनु भयो । बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएगरेका गतिविधिहरूका बारेमा जानकारीहरू आदान प्रदान गराउन संयन्त्र बनाउने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणविरुद्ध प्रभावकारी काम गर्नका लागि बागमती प्रदेश सरकारले स्थानीय तहहरूलाई सहयोगस्वरुप रकम उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रदेश सरकारको चैत १६ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यवधि– २०७६ स्वीकृत गर्नुका साथै स्थानीय तहका लागि सहयोग रकमसमेत घोषणा गरेको हो ।

बैठकले प्रदेशका १ सय १९ वटा स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराइने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । बैठकको निर्णय जानकारी गराउदै मन्त्री ढुङ्गेलले सरकारले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।

यस्तै प्रदेशका १३ जिल्ला समन्वय समितिमा बनाएको सहयोग कोषमा ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सो रकम कोरोना सङ्क्रमण रोकथाम एवम् उपचार, आइसोलेशन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, विपन्न परिवारलाई राहतका लागि प्रयोग गर्नसक्ने मन्त्री ढुङ्गेलले बताउनुभयो ।

मन्त्रिपरिषद्बाट कोरोना भाइरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि–२०७६ स्वीकृत भएसँगै मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय अनुसार अनुदान रकम तत्काल स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।


पुष्पराज अधिकारी