कोरोनाको आशंका गरिएका बिरामीलाई अस्पताल प्रवेशमा रोक

  ०७६ फागुन २३ गते

चीनको ताक्लाकोटबाट भागेर हुम्ला आएका सिमकोट गाउँपालिका–३ का २७ वर्षीय धर्माज्ञाल्जन लामालाई फागुन २२ गते जिल्ला अस्पतालमा पु¥याइएको छ ।

नाम्खा गाउँपालिकाको मुचुबाट तीन दिनको पैदल यात्रा गरी घोडामा राखेर ल्याइएका बिरामीलाई कोरोना भाइरस भएको आशंका गरेपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले प्रवेश गर्न नदिएको आफन्त दावा लामाले आरोप लगाउनु भयो ।

दावा लामाका अनुसार मुचुबाट जिल्ला अस्पतालमा पु¥याएका बिरामी लामालाई दुई घण्टा भई सक्दा पनि जिल्ला अस्पतालका कर्मचारी र जिल्लाका अन्य सरोकावाला निकायले ध्यान नदिएको गुनासो गर्नु भयो ।

मुचुमा राख्दा ग्रिन हाउसमा राखेका थिए भने जिल्ला सदरमुकाममा बिरामी चिसोले कठाङरिदा समेत भित्र लैजान नदिई बाहिर चौरमै राखेको लामाले आरोप लगाउनु भयो ।
उपचार गर्ने कोठाको माग गर्नका लागि पहल गरेपछि बन्दै गरेको जिल्ला अस्पतालको नयाँ भवनमा राख्ने भनिएको छ ।

हिमपात भई रहेको चिसोमा आएका बिरामीलाई दुई घण्टासम्म अस्पताल भित्र जान नदिएको विषयमा जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले अस्पतालमा बिरामीको चाप बढी भएकाले केही ढिलाई भएको बताउनु भयो ।

जिल्लाको एक मात्र १५ सैयाको वेड रहेको अस्पतालमा बिरामीको सङ्ख्या बढी रहेकाले नयाँ भवनमा राखेर उपचार गर्नुपर्ने अनमी बोहराले बताउनु भयो । खुट्टा, शरीर र मुखमा समस्या देखिएका बिरामीको हुम्लामा उपचार हुन नसक्ने सम्भावना रहेकाले तत्कालै जिल्ला बाहिर रिफर गर्ने जिल्ला अस्पतालका डाक्टर नविन रोकायाले बताउनु भयो ।

बिरामी लामा ०७६ फागुन १७ गते चीनको ताक्लाकोट हुँदै हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्साबाट ५ हजार मिटर अग्लो नारालेकको हिउँ छिचोल्दै आएका थिए ।

 


नन्द सिंह