कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था

  ०७६ चैत २५ गते

जुनसुकै बन्दमा पनि एम्बुलेन्स सम्वेदनशील र अति आवश्यक सवारी साधन निर्वाध रूपमा सञ्चालन हुन पाउँछन् ।

विश्व नै कोरोना भाइरसबाट आक्रान्त भइरहेको बेला सङ्क्रमित बिरामी वा अन्य बिरामीलाई अस्पतालसम्म पुर्‍याउने जिम्मेवारी पाएका एम्बुलेन्स चालकले दाङमा तोकिएको भन्दा बढी रकम असुल गरेको पाइएको छ ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनमा दाङमा एम्बुलेन्सले बिरामी ओसारेबापत एम्बुलेन्स चालकले दोब्बर बढी भाडा असुलेको पाइएपछि प्रहरीले एम्बुलेन्स चालकलाई चैत २४ गते गिरफ्तार गरेको जनाएको छ ।

लमहीबाट तुलसीपुरसम्म बिरामी बोकेको भाडाबापत ७ हजार रुपियाँ लिएको पाइएपछि रा १ च ८२५ नम्बवरको एम्बुलेन्स र लमही नपा-५ कोलहीका ५० वर्षीय चालक कमलप्रसाद भुसाल र कृपा पोलीक्लीनक एण्ड मेडिकलका सञ्चालक ४० वर्षीय कृष्ण आचार्यलाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको जनाएको छ ।

लमहीबाट तुलसीपुरका लागि ३ हजार ५ सय रुपियाँ भाडा तोकिएको छ । सङ्कटका बेलासमेत बढी भाडा लिनेहरूलाई कारवाही गरिने प्रहरीले जनायो ।

दाङकै बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा दाङका सात जना र प्युठानका चार जना आइसोलेशनमा राखिएको फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

११ जनाकै स्वाब परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । यसअघि २० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैमा कोराना भाइरस नभएको पुष्टि भएको थियो ।

इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासबारे मुख्यमन्त्री शङ्कर पोखरेलले ६ ओटा स्थानीय तहका प्रमुखहरूसँग चैत २४ गते एकीकृत रूपमा भिडियो सम्वाद गर्नुभएको छ ।

मुख्यमन्त्रीले गर्नुभएको यो चौथो भिडियो सम्वाद हो । चौथो भिडियो सम्वादमा गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूसँग सम्वाद गर्नु भएको हो ।

उक्त सम्वादमा बर्दिया जिल्ला ठाकुरबाबा नपाका मेयर घननारायण श्रेष्ठ, नवलरासी (पश्चिम) जिल्ला बर्दघाट नपाका मेयर धिरज शर्मा बस्याल, राजापुर नपाका मेयर शिवप्रसाद चौधरी, गुल्मी जिल्ला मुसिकोट नपाका मेयर सोमनाथ सापकोटा, रूपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नपाका मेयर मनमोहन चौधरी र पाल्पा जिल्ला बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल भिडियो सम्वादमा सहभागी हुनुभएको थियो ।

सम्वादमा कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको थियो ।

मुख्यमन्त्री पोखरेलले आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देशन गर्नु भएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभएको छ ।

स्थानीय तहका प्रमुखहरूले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क सङ्कलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउनुको साथै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन चाँडो गर्न आग्रह गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना निर्माण गरेको आइसोलेशन अस्पतालमा आइसियू सहितको उपचारको व्यवस्था रहेको बताउनु भयो ।

जानकारी गराउँदै भैरहवामा चैत २३ गतेदेखि प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको र नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने बताउदै उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

स्थानीय स्तरमा राहत कोष बनाएर दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न, कोरोना भाइरस विरूद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट सम्भव हुने बताउनु भयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशका नाका पुर्णतः बन्द गरे जोखिबाट बच्न सकिने बताउनु भयो । उहाँले सबै जिल्ला अस्पताल र चार ओटा आइसोलेशन अस्पताल (भिम अस्पताल, रुपन्देही, धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पताल (लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत), केन्द्रीय आयुर्वेद विद्यापिठ भवन, बेलझुण्डी (दाङ), बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा काठमाडौँबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको र अब प्राप्त हुन आउने स्वास्थ्य सामग्री पनि पठाउन सकिने बताउनु भयो ।

इन्सेक कपिलवस्तु जिल्ला प्रातिनिधि पार्वती आचार्यका अनुसार जिल्ला अस्पताल तौलिहवामा चैत २१ गतेदेखि आइसोलेशनमा रहेका विजयनगर गापा- २ जलैयाका ३० वर्षीय गोवर्धन भरको चैत २४ गते राति मृत्यु भएको छ ।

कोरोनाको जस्तो लक्षण देखिएपछि आइसोलेशनमा राखिएको थियो । स्वाब परीक्षणमा कोरोना नभएको पुष्टि भएको अस्पतालका मेडिकल सुपरिडेण्टेण्ड डाक्टर किशोर बञ्जाडेले बताउनु भयो । बञ्जाडेका अनुसार मृतक क्षयरोगको बिरामी रहेकाले सोही रोगको औषधि सेवन गरिरहेका थिए ।

स्थानीय तहहरूले राहत कोष खडा गरी राहत सङ्कलन कार्य भइरहेको छ भने कपिलवस्तु नपा-१ मा अध्यक्ष सुदिप पौडेलले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई तनाव नहोस भन्नका लागि वाईफाई समेत जडान गरी सुविधा दिइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्रप्रसाद भगतले सिमानाका बस्तीहरूमा भारतका विभिन्न स्थानहरूबाट आएर खेतबारीमा काम गर्ने र साँझ परेपछि घरमा आउने गरेको सूचना पाइएको बताउँदै यस्तो गतिविधिले जोखिम निम्त्याउने बताउनु भयो ।

इन्सेक रुकुम पूर्व जिल्ला प्रतिनिधि जयमान बुढामगरका अनुसार जिल्लामा हालसम्म ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले लकडाउन अवस्था र सुरक्षा व्यवस्थापनसम्बन्धी समीक्षा गरेको छ ।

समीक्षामा नागरिकले लकडाउनको पालना गरेको र छिटफूट रूपमा गाउँबस्तीमा पूर्ण पालना नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनु भयो । क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनु भयो ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार पाल्पामा लकडाउनको पालना पूर्ण रूपमा भएको छ ।

ग्रामीण क्षेत्रमा किसानहरूले खेतको काम गरिरहेका छन् । स्थानीय तहसँगको समन्वयमा प्रहरीले कोरोना भाइरसबाट बच्ने सचेतना मुलक सन्देश सदरमुकाम तानसेन सहित गाउँमा माइकिङ भइरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनु भयो ।

जिल्लामा यस अवधिमा भारतसहित अन्य देशहरूबाट भित्रिएका १ हजार २ सय ४० जनामध्ये ३७ जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।

अन्य व्यक्तिहरू होम क्वारेन्टाइनमा बस्दै आएका छन् । जिल्लाबाट तीन जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएकोमा तीन जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा पहिलो पटक कोरोना भाइरसको आशङ्कामा पाँच जना व्यक्तिको स्वाब परीक्षणका लागि चैत २५ गते भैरहवा पठाइएको छ ।

स्वाब पठाइएकाहरू चैत ६ गते कोरोना सङ्क्रमित युवतीसँगै कतार एयरवयजको बिमानबाट नेपाल आएका थिए ।

जिल्लामा राहत वितरणका लागि ४ हजार ४ सय ३५ परिवारलाई वितरण गरिएको र ५ हजार २ सय ५४ विपन्न परिवार राहत पाउन बाँकी रहेको छ ।

रेसुङ्गा नपाले तीन दिन लगाएर १४ ओटै वडाका १ हजार ४ सय ९१ जनालाई राहत वितरण गरिसकेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो । धुर्कोट, मालिका र गुल्मी दरबार गाउँपालिकाले पनि विपन्न परिवारलाई राहत वितरण गरेको जनाएका छन् ।

इन्सेक नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न जारी गरिएको लकडाउनबाट जिल्लामा दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने वर्ग प्रभावित भएका छन् । बर्दघाट नगरपालिका-६ का वडाध्यक्ष रोहित थारुले राहत वितरण गर्दा विवाद आउने देखिएकाले घर धुरी हिसाब गरी मजदुर वर्गलाई मात्रै नभई सबैलाई समान रुपमा वितरण गरिएको बताउनु भयो ।

बर्दघाट नपा- ५ सुकुम्बासी बस्तीका केही नागरिकहरूले राहत नपाएको गुनासो गरेका छन् । उनीहरूले आवश्यकता भन्दा पनि चिनजानको भरमा राहत वितरण गरेको मजदुर नगेन्द्र रोका क्षेत्रीले आरोप लगाउनु भएको छ ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार जिल्लामा कोरोना रोकथाम तथा सङ्क्रमण हुन नदिन सरकारले गरेको लकडाउनको समयमा विपन्न र मजदुरी गरेर जिविका चलाउने वर्गका लागि रोल्पा नगरपालिकाले राहत वितरण कार्यक्रम सुरू गरेको छ ।

चैत २५ गते सदरमुकाम लिवाङ बाटसुरू गरेको राहत वितरण नगरपालिकाका १० ओटै वडाका ८० घरधुरीलाई वितरण गरिने नगर प्रमुख पुर्ण केसीले बताउनु भयो ।

प्रतिव्यक्ति तीन किलो चामल, एक किलो दाल, एक कलो नुन र आधा लिटर तेल वितरण गर्ने योजना रहेको पनि उहाँले बताउनु भएको छ ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार तेस्रो मुलुक तथा भारतबाट आएका गरी जिल्लामा ६४ जना क्वारेन्टाइनमा राखिएको छ ।

प्यूठानमा ३ हजार ८३ जना रहेको विदेशबाट भित्रिएका छन् । ४३ जना अन्य मुलुक र बाँकी भारतबाट आएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैत २४ गते पाँच जनालाई केन्द्रीय आयुर्वेद विद्यापिठ भवन, बेलझुण्डी दाङ पठाइएको छ । जसमा दुई जना तेस्रो मुलुक र तीन जना भारतबाट आएका व्यक्तिहरू रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउनु भयो ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरस सङ्क्रमण जाँचका लागि प्रयोग हुने मेशीन पीसीआर भेरी अस्पताल नेपालगञ्ज आइपुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार यतिबेला पीसीआर मेसिन राख्नेकोठा मर्मत सम्भार भइरहेकोले चैत २६ गते मेशीन जडान हुनेछ । नरैनापुर गाउँपालिकाले चैत २५ गतेबाट ६ ओटै वडामा राहत वितराण कार्य सुरू गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । उहाँका अनुसार ६ ओटा वडाका ८ सय जना श्रमिक र असहायहरूलाई राहत वितरण गरिँदैछ ।

यसैगरी खजुरा गाउँपालिकाले लकडाउनको कारण खाद्यान्न अभाव हुनेहरूका लागि राहत वितरण सुरू गरेको छ ।

गाउँपालिकाद्वारा वितरण गरिने राहतमा २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, एक लिटर तेल रहेको छ । खजुरा गाउँपालिकाका वडा नं १ देखि ८ सम्मका अति विपन्न र विपन्न गरी १ हजार ६ सय ९८ घरपरिवारलाई राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज