कोरानाको सङ्क्रमणबाट १ सय जनाको मृत्यु, २५ हजारभन्दा बढी सङ्क्रमित

  ०७७ साउन ३१ गते

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुषको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ सय पुगेको हो ।

कोरोना सङ्क्रमणबाट ०७७ जेठ २ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएकोमा जेठ ३ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । यो नै कोरोनाको सङ्क्रमणका कारण भएको पहिलो मृत्यु थियो ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा शिशुलाई जन्म दिएकी उनी भोलिपल्ट डिस्चार्ज भएर राम्चेस्थित घर पुगेकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य केन्द्र, बाह्रबिसे हुँदै धुलिखेल अस्पताल पुगेकी उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

यही साउन १३ गतेसम्म कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको थियो भने साउन १४ गते मृतकको सङ्ख्या ५२ जना पुगेको थियो । त्यस यताका १६ दिनमा थप ५० जनाको मृत्यु भएको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ । साउन ३० गते ५ सय ९४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ५ सय ५१ जना पुगेको हो ।

नेपालमा पहिलो कोरोना सङ्क्रमित ०७६ माघ ९ गते पुष्टि भएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते पुष्टि भएसँगै चैत ११ गतेबाट लकडाउन गरिएको थियो ।

गत वैशाख २२ गते सङ्क्रमितको सङ्ख्या ७५ थियो । वैशाख २४ गते ९९ जनामा कोरोना पुष्टि भएकामा साउन ३० गतेसम्म आइपुग्दा २५ हजार नाघेको हो ।

मिति

मुख्य घटनाक्रम

०७६ माघ ९ चीनबाट नेपाल फर्किएका पुरुषमा सङ्क्रमण पुष्टिभएसँगै नेपालमा कोरोना सङ्क्रमण ।
०७६ फागुन ३ चीनबाट १ सय ७५ जना नेपालीको उद्धार ।
०७६ चैत १० फ्रान्सबाट नेपाल फर्किएकी महिलामा कोरोना । दोस्रो सङ्क्रमित ।
०७६ चैत ११ चैत १० गतेको निर्णय अनुसार लकडाउन सुरू ।
०७६ चैत १२ चैत १२ गतेसम्म ६ सय ८७ जनाको पीसीआर परीक्षण ।
०७७ वैशाख ३० पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण । कपिलवस्तुको तौलिहवास्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोना सङ्क्रमण ।
०७७ वैशाख ३१ २१ जिल्लामा कोरोना सङ्क्रमितको पुष्टि ।
०७७ जेठ २ कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी ।
०७७ जेठ १४ एकैदिन १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि । यसअघि यति १ सय भन्दा कम व्यक्तिमा मात्रै दैनिक सङ्क्रमण पुष्टि हुँदै आएको थियो ।
०७७ जेठ ३० लकडाउनपछि पहिलोपटक निजी सवारी साधन जोर र विजोर गते अनुसार मात्रै सञ्चालन गर्न पाउने नियम । (जोरविजोर प्रणाली लागु)
०७७ असार १ लकडाउन खुकुलो । सवारीसाधन र पसल व्यवसाय सञ्चालनमा ।
०७७ असार ६ सबै किसिमका सवारी साधनका लागि जोरविजोर प्रणाली लागु
०७७ असार २६ असार ६ गते लगाइएको जोरविजोर प्रणाली हटाइएको ।
०७७ साउन ७ लकडाउनको अन्त्य ।
०७७ साउन २२

पुनः जोरविजोर प्रणाली लागु ।


अनलाइन डेस्क