कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह

  ०७७ चैत २० गते

बागमती प्रदेशमा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईँले आग्रह गर्नु भएको छ ।

यसैबीच, छिमेकी देश भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको र नेपालमा पनि त्यसको प्रभाव पर्ने भन्दै दोस्रो चरणको यस लहरबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गर्न सङ्घीय सरकारले समेत सूचना जारी गरिसकेको छ ।

सङ्घीय राजधानी समेत रहेको यस प्रदेशमा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका प्रदेश दुईको विरगञ्ज र त्यसबाट नजिकै रहेको प्रदेश राजधानी हेटौँडा भएकोले पनि स्वास्थ्य सुरक्षाको पालना गर्नु पर्ने, स्वास्थ्य जाँच र क्वारेन्टिनको प्रयाप्त व्यवस्थापन गर्नु पर्ने चुनौति थपिएको छ ।

यसका लागि हेटौँडामा एन्टिजेन परीक्षणको सुविधा उपलब्ध गराइएको छ भने पीसीआर परीक्षण र क्यारेन्टिन, आइसोलेशन, अस्पताल लगायतको व्यवस्थापन पनि पूर्ववत सुरु गरिएको प्रवक्ता सेडाईँले बताउनु भएको छ ।

बागमती प्रदेशमा चैत १९ गतेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा १ लाख ५२ हजार ९ सय ७८ जना पुगेको छ । जसमध्ये १ लाख ५१ हजार ५ सय ८४ जना उपचारपछि निको भइसकेका छन् भने ६ सय ७४ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भइरहेको छ । यस प्रदेशमा कोभिड–१० बाट मृत्यु हुनेको सङ्ख्या भने १ हजार २० जना रहेको छ ।

देशको कूल सङ्क्रमित मध्ये १ प्रतिशत भन्दा बढीको मृत्यु भएकोमा यस प्रदेशमा भने ०.६७ प्रतिशत सङ्क्रमितको मात्र मृत्यु भएको छ प्रवक्ता सेढाईँले इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रममा बताउनु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण नेपालमा पहिलो पटक यसै प्रदेशको सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

कोभिड–१९ सङ्क्रमणको राकथाम र नियन्त्रणका लागि भन्दै २०७६ चैत ११ गतेदेखि सरकारले पटकपटक गरेर २०७७ जेठ अन्तिमसम्म पूर्ण रूपमा लकडाउन गरेको थियो । यस अवधिमा रोजगारी गरी खाने वर्ग, डेरा गरी बस्ने, आफ्नो थातथलो भन्दा बाहिर गएर बसोबास गर्ने सर्वसाधरण मारमा परे । स्वास्थ्य परीक्षण र स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री समेत नभएको सो अवस्थामा इन्सेकले कार्यक्रम गरेका स्थानीय तहमा सेनिटाइजर, माक्स, ज्वरो  नाप्ने थर्मल गन उपलब्ध गराएको थियो ।

कोभिड–१९ सङ्क्रमणका समयमा भएको लकडाउन र त्यस समयमा सङ्क्रमित तथा स्वास्थ्य सेवामा सङ्लग्न स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहारसमेत भयो । बागमती प्रदेश जनस्वास्थ्य कार्यालयका निर्देशक डाक्टर नारायण कार्की, लकडाउनको उल्लङ्घन गरेको आरोपमा काठमाडौँमै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका दुई जना डाक्टरलाई प्रहरीबाट, बानेश्वरमा सिभिल अस्पतालका स्वास्थ्यकर्मी, चितवनमा डाक्टर विश्वबन्धु बगालेको परिवारमाथि दुर्व्यवहार भएको थियो ।

यस प्रदेशमा देशको कूल ५५ प्रतिशत भन्दा बढी कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या रहेको छ । यस प्रदेशमा महिला ४० प्रतिशत र पुरुष ६० प्रतिशतको हाराहारीमा कोभिड–१९ को सङ्क्रमणबाट प्रभावित भएका छन् ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार दोलखामा ५ सय ४९ जना पुरुष र २ सय ४७ जना महिला गरी ७ सय ९८ जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा १६ जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार सिन्धुपाल्चोकमा ७ सय ६१ जना पुरुष र २ सय ८० जना महिला गरी १ हजार ४१ जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा १६ जनाकै मृत्यु भएको छ ।

यसैगरी रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लामा १ सय ८१ जना पुरुष र ५५ जना महिला गरी २ सय ३६ जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा एक जनाको मृत्यु भएको छ ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार धादिङमा १ हजार ६८ जना पुरुष र ४ सय ७४ जना महिला गरी १ हजार ५ सय ४२ जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा १९ जनाको मृत्यु भएको छ भने नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार नुवाकोटमा १ हजार ४४ जना पुरुष र ४ सय ९१ जना महिला गरी १ हजार ५ सय ३५ जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा १८ जनाको मृत्यु भएको छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार यस प्रदेशमा सङ्क्रमणको दुई तिहाई सङ्ख्या काठमाडौँमा रहेको छ । यस जिल्लामा ६३ हजार ४ सय ३६ जना पुरुष र ४० हजार ३ सय ९८ जना महिला गरी १ लाख ३ हजार ९ सय ३४ जना कोभिडबाट सङ्क्रमित भएकोमा ५ सय ५ जनाको मृत्यु भएको छ ।

भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुरमा ५ हजार २ सय ६६ जना पुरुष र ४ हजार १ सय ६४ जना महिला गरी ९ हजार ४ सय ३० जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा १ सय १५ जनाको मृत्यु भएको छ भने ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार ललितपुरमा ९ हजार ४५ जना पुरुष र ७ हजार ४ सय १ जना महिला गरी १६ हजार ४ सय ४६ जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा १ सय ६४ जनाको मृत्यु भएको छ ।

काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार काभ्रेमा २ हजार १ सय ३६ जना पुरुष र १ हजार ५ सय ४० जना महिला गरी ३ हजार ६ सय ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा ३२ जनाको मृत्यु भएको छ । साथै रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार रामेछाममा ४ सय ७ जना पुरुष र १ सय ८० जना महिला गरी ५ सय ८७ जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा ११ जनाको मृत्यु भएको छ भने सिन्धुली प्रतिनिधि विमला पाण्डेयका अनुसार जिल्लामा ४ सय ४६ जना पुरुष र १ सय ९४ जना महिला गरी ७ सय ४० जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा ८ जनाको मृत्यु भएको छ ।

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार मा २ हजार ७ सय ५७ जना पुरुष र १ हजार ५ सय ८३ जना महिला गरी ४ हजार ३ सय ४० जना कोभिड–१९ बाट सङ्क्रमित भएकोमा ३५ जनाको मृत्यु भएको छ भने चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चितवनमा ५ हजार ६६ जना पुरुष र ३ हजार ४ सय ३३ जना महिला गरी ८ हजार ४ सय ९९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएकोमा ६७ जनाको मृत्यु भएको छ ।

यसैबीच, सरकारले कोभिड विरुद्धको खोप कार्यक्रम देशका ७७ जिल्लामा माघ १४ गतेबाट सुरु गरेको थियो । कोभिड रोकथाम र नियन्त्रणमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिएका जनशक्ति, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायतकालाई पहिलो चरणमा खोप लगाइएको थियो । यसै गरी फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई समावेश गरिएको थियो ।

कोभिड १९ को विरुद्ध पहिलो र दोस्रो चरणको खोप कार्यक्रममा लक्ष्य ६ लाख २ हजार ६ सय को ४६ जना रहेकोमा ३ लाख ९५ हजार ५६ जनाले खोप लागाएका छन् । जुन लक्ष्यको ६६ प्रतिशत हाराहारी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा