कोभिड–१९ ले गर्दा न्याय समितिको काम ठप्पहुँदा सेवाग्राही मर्कामा

  ०७७ कात्तिक २९ गते

सुन्दरबजार नगरपालिकाको न्याय समितिको काम कोभिड–१९ का कारण ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

कोभिड–१९ सङ्क्रमणको डर र त्रासले मुद्दाहरु कार्यान्वयन गर्न असजिलो भएको न्याय समितिका संयोजक ज्ञानु शाहले बताउनुभयो ।

सुन्दर बजार नगरपालिकाको न्याय समितिमा आर्थिक वर्ष ०७५/०७६ मा २३ ओटा मुद्दाको सुनुवाई भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ मा ४६ ओटा मुद्दाको सुनुवाई भएको थियो ।

उहाँले कोभि –१९ को कारण कार्यान्वयन हुन नसकेको ०७७ साउन भन्दा पहिलाको २२ ओटा मुद्दा र यो आर्थिक वर्षको १० ओटा मुद्दा गरी ३२ ओटा मुद्दाको सुनुवाई नभएको बताउनुभयो ।

कोभिड–१९ को बन्दाबन्दी र सङ्क्रमणको डरले यी मुद्दाहरुको कुनै प्रक्रियानै अघि नबढेको न्याय समितिका सदस्य तथा अधिवक्ता सुरेशकुमार दुराले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

‘कोभिडको कारण विवाद स्थल भएको ठाउँमा जान सकिन्न ।’–उहाँ भन्नुहुन्छ–‘भीडभाड हुने गरी जम्मा हुँदा सङ्क्रमण फैलिने डर हुन्छ, त्यसैले मुद्दाको कार्यान्वयन भएका छैनन् ।’

सुन्दरबजार नगरपालिका–७ निवासी ४५ वर्षीय गणेश सापकोटाले सार्वजनिक बाटो रोकेको भनि ४६ बर्षीया भाउजू बीनु सापकोटाविरुद्ध नौ महिना अगाडि दिएको मुद्दा पनि कार्यान्वयन नभएको सापकोटाले गुनासो गर्नुहुन्छ ।

‘ नौ महिनादेखि मुद्दाको कार्यान्वयन नहुँदा म त अन्योलमा छु ।’ –उहाँ भन्नुहुन्छ –‘न्याय समितिको संयोजक ज्ञानु शाहलाई जनाकारी गराउँदा समेत सुनाइ भएको छैन ।’

न्याय समितिको संयोजक शाहले कोभिड–१९ को सङ्क्रमण केहि कम भए र स्थिति सहज भएपछि सबै मुद्दाहरु यथासिघ्र सम्पादन गरिने  बताउनुभएको छ ।


दलबहादुर मजाकोटी