कोभिड–१९ः भारतसँगको खुला नाकाका कारण लुम्बिनी प्रदेशमा जोखिम घटेन

  ०७७ चैत २० गते

भारतसँग जोडिएका खुला नाकाका कारण लुम्बिनी प्रदेशमा कोभिड–१९ सङ्क्रमणको जोखिम घटेको छैन । प्रदेशका बाँके, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, दाङ र कपिलवस्तु जिल्लाहरू भारतसँग जोडिएका छन् ।

समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, बुटवलका अनुसार हालसम्म प्रदेशमा उपचारका लागि बाहिरबाट आएकासमेत गरी ४ सय १३ जनाको मृत्यु भएको छ । जसमध्ये रोल्पा, रुपन्देही र गुल्मीमा गरी तीन जनाले आत्महत्या गरेका थिए । हालसम्म प्रदेशमा २७ हजार ६ सय ४६ जना सङ्क्रमित भए । जसमध्ये २७ हजार १ सय १ जना निको भएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखाना, रुपन्देही, भीम अस्पताल, भैरहवा, भेरी अस्पताल, नेपालगञ्ज र बेलझुण्डी कोरोना विशेष अस्पताल, दाङमा कोरोना विशेष आइसोलेशन अस्पताल रहेका छन् । यसैगरी निजी अस्पतालहरूमा नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुर, युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा, क्रिमसन अस्पताल, बुटवल, देवदह मेडिकल कलेज, रुपन्देही रहेका छन् । प्रदेशमा पहिलो र दोस्रो चरणमा गरी २ लाख ८ हजार ६ सय १० जनाले कोभिशिल्ड खोप लगाएका छन्  ।

महामारीका दौरानमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका  साथै पत्रकारहरु अन्यको तुलनामा बढि जोखिममा रहेको पाइयो । उनीहरुलाई संक्रमणले मात्र आक्रमण गरिरहेको छैन, सामाजिक रुपमा दुर्व्यवहारका साथै अपमानित समेत हुनुपरेका घटनाहरु सार्वजनिक भए ।

यस दौरानमा स्वास्थ्यकर्मीले कोरोना सार्छन भन्दै घरबेटीले डेराबाट निकालेका छन् । जोखिम बहन गर्दै आम नागरिकहरुलाई शुसुचीत गराउने पत्रकारहरु पारिश्रमिकबाट वञ्चित हुनु परेको छ । अग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागि पर्याप्त सुरक्षाका साधनहरु उपलब्ध नगराउदा झनै जोखिम छ । कोभिड  पोजेटिभ भएकाहरूले सामाजिक दुर्व्यवहार खेप्नु पर्‍यो ।

यस अवधिमा बजार अनुगमनका दौरानमा देखिएका अखाद्य बस्तुको बिक्री र मुल्य वृद्धिले सामान्य नागरिकहरु कोभिड संक्रमणसँगै थप पीडामा बाँच्न बाध्य भए । कृषकहरूले आफूले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य पाउन सकिरहेका छैनन् । माैसम अनुसारका बालीहरुमा प्रयोग गर्नुपर्ने मल,बिउ समयमा पाउन नसक्दा कृषकहरु निरास भए ।   कपिलवस्तुबाट लगिएको टमाटर अर्घाखाँची जिल्लामा कोभिड सङ्क्रण हुने भन्दै सरकारी निकायले नष्ट गर्‍यो ।

कोभिडका कारण मृत्यु भएका नरैनापुर गाउँपालिका नजिम नाउका परिवारलाई इन्सेककाे समन्वयमा आर्थिक सहयोग जुट्यो । यसैगरी इन्सेकको समन्वय र नेपालगञ्ज शिक्षण अस्पताल, नेपालगञ्जको सहयोगमा भारतबाट आउने नेपालीहरूलाई सिमा नाकामा राहत स्वरुपम खाजा र पानीको व्यवस्था गरिएकाे थियो ।

इन्सेक लुम्बिनी प्रदेश प्रमुख तथा मानव अधिकार अनुगमन समितिका सदस्य भोला महत भन्नु हुन्छ ‘दुःखमा परेकालाई सहयोग गर्ने नेपालीहरुको संस्कार हो । विभिन्न सङ्घ संस्था र मनकारी नागरिकहरूले कोभिड महामारीकै दौरानमा अलपत्र परेका नागरिकहरुको उद्दार, बाटोमा अलपत्र परेकाहरुलाई खानपिनको व्यवस्था गरे ।

यसैगरी,  बर्दिया जिल्ला गुलरिया नपा–१० पर्यागपुरस्थित नेपाल राष्ट्रिय माविको क्वारेण्टाइनमा बसेका व्यक्तिहरुलाई  किरा मिसिएको चामलको भात खुवाएको , दुई दिन देखि चिया नास्ता नदिएको ,साबुन उपलब्ध नगराएको भन्दै क्वारेण्टाइनमा बसेका व्यक्तिले वैशाख २५ गते फोन मार्फत इन्सेकमा  गुनासो गर्दै सामाधानको पहल गर्न माग गरे ।

सोही दिन इन्सेक जिल्ला प्रतिनिधि मानबहादुर चौधरीको नेतृत्वको टोलीले  उक्त क्वारेण्टाइनको स्थलगत अनुमन गर्दा गुनासो वास्तविक रहेको भेटेपछि घटनाका सम्बन्धमा गुलरिया नपा–१० का वडाध्यक्ष बिरेन्दकुमार थारूले गल्ती भएको स्वीकार गरेका थिए । वडा अध्यक्षसँगको छलफल पछि वैशाख २५ गतेदेखि चिया नास्ता, साबुन र उपभोग गर्न योग्य चामलको व्यवस्था गरिएको थियो ।

नेपालगञ्ज उपमनपा  भित्र कोभिड संक्रमितको संख्या बढिरहेका बेला ०७७ वैशाख २२ गते कोहलपुर नगरपालिकाको आपतकालिन बैठकले नेपालगञ्ज – कोहलपुर सडक खण्डमा सम्पुर्ण सवारी साधन र आम नागरिकहरु समेतलाई आवतजावतमा रोक लगाएपश्चात नियमित रुपमा अस्पताल डिउटीमा आउने स्वास्थ्यकर्मीहरु समेतलाई प्रभाव परेको थियो । विषेश गरि भेरी अस्पताल,नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत रोकिएपछि स्वास्थ्य सेवामा समेत असर परेको थियो । स्वास्थ्यकर्मीहरू समेतनै रोकिएपछि सम्बन्धित अस्पतालका व्यवस्थापकहरूले सहजीकरणका लागि अनुरोध गरेपछि इन्सेक लगायतका संघ संस्थामा आवद्ध अधिकारकर्मीहरूले वैसाख २३ गते कोहलपुर नगरपालिकाका मेयर, कार्यकारी अधिकृत र नेकपाका जिल्ला सचिवसँग बैठक बसी  स्वास्थ्यकर्मीहरूलाई परिचय पत्र चेकजाँच गरि निर्वाध आवतजावत गर्न दिने सहमति भयो ।

यसैगरी, इन्सेकका परियोजना सञ्चालित स्थानीय तहमा इन्सेक र मानव अधिकार समूहको पहलमा राहत वितरण गर्नुको साथै नागरिकलाई सचेत बनाउने काम पनि यस अवधिमा सम्पन्न भयो ।

कोभिड–१९ को सबै भन्दा बढी असर विद्यार्थीहरूमा पर्‍यो । करिब ६ महिना विद्यार्थीहरू अध्ययनबाट वञ्चित भए । वैकल्पिक सिकाईमा पनि सबैको पहुँच भएन ।

कोभिड–१९ कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहको पूर्व तयारी फितलो रहेको पाइयो । संघीय, प्रादेशिक र स्थानीय तहहरुको आपसी समन्वयको अभाव देखियो । सङ्क्रमण हुने दर उच्च हुँदै गएपछि नेपालभारत सिमानाकाहरु पूर्व जानकारी बिना नै बन्द गर्ने कार्यले मानिसहरू अलपत्र परे । भारतबाट आएका नागरिकहरू दोब्बर भाडा तिरेर घर जानु पर्‍यो । कोभिडको प्रकोप केही कम हुदै गएसँगै राेजगारीका लागि भारत जाने क्रम सुरू भयो ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सचेतनाका कार्यक्रम र पूर्व सावधानीहरू अपनाउनुका साथै नागरिकहरू आफै सचेत हुन पनि जरूरी छ ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज