कोभिड–१९ प्रदेश १ सरकारद्वारा बन्द गरिएका कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी

  ०७७ चैत २० गते

भारतबाट कोभिड–१९ सङ्क्रमितहरू झापाको काड्डभिट्टा नाका भएर नेपाल भित्र्न सक्ने भन्दै प्रदेश १ सरकारले उच्च स्वास्थ्य सर्तकतासहित बन्द गरिएका कोभिड–१९ अस्पताल र कोभिड जिल्ला अस्पतालहरू पुन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले चैत १८ गते कोभिड–१९ को सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री उषाकला राईले सरकारले कोभिड–१९ को सङ्क्रमण न्यून भएपछि बन्द गरेका अस्पतालहरू पुन सञ्चालन ल्याउने निर्णय भएको बताउनु भयो ।

प्रदेश सरकारको निर्णय अनुसार कोशी कोभिड–१९ अस्पताल र जिल्ला अस्पतालमा निर्माण गरी कोभिड उपचार केन्द्रहरू पुन सञ्चालनका लागि तयारी थालिएको छ । भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या बढेर गएपछि नेपाली सीमा नाका काड्डभिट्टामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारत जाने र नेपाल प्रवेश गर्नेहरूलाई ज्वरो मापन गर्दै स्वास्थ्य जाँच सुरू गरेको छ ।

प्रदेश १ सरकारले नेपाल सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै कोभिड–१९ नियन्त्रणका लागि आवश्यक तयारी गरेको थियो । प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ०७६ चैत ७ गते प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समिति गठन गरी कोरोना भाइरस नियन्त्रणका लागि प्रतिकार्य गर्दै आएको छ । प्रदेश १ मा हालसम्म २ लाख ३० हजार ५ सय ४० जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये ३० हजार ४ सय ९४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ हजार १ सय ४ जना महिला र १९ हजार १ सय ८८ जना पुरूषमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । ०७६ चैत ११ गतेदेखि ०७७ चैत १९ गतेसम्म प्रदेश १ मा कोभिड–१९ सङ्क्रमण भएका ३० हजार १ सय ७६ जना निको भएका छन् । प्रदेश १ मा कोभिड–१९ का कारण ०७७ चैत १९ गतेसम्म ३ सय २६ जना पुरूष र १ सय ४१ जना महिला गरी ४ सय ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा ४ हजार ७ सय १८ जना सङ्क्रमित भएकामा ४ हजार ५ सय ८७ जना निको भएका छन् । झापामा कोभिड–१९ सङ्क्रमणका कारण १ सय २५ जनाको मृत्यु भएको छ । मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङमा १३ हजार १ सय १५ जना सङ्क्रमित भएकामा १२ हजार २ सय ५६ जना निको भएका छन् । मोरङमा कोभिड–१९ सङ्क्रमणका कारण एक वर्षको अवधिमा १ सय ३२ जनाको मृत्यु भएको छ । सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार ९ हजार ४० जना सङ्क्रमित भएकामा ८ हजार ८ सय ८७ जना निको भएका छन् । जसमध्ये १ सय ४५ जनाको मृत्यु भएको छ । धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार २ सय २१ जना सङ्क्रमित भएकामा २ सय ७ जना निको भएका छन् । १२ जनाको मृत्यु भएको छ । त्यसैगरी भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार ९२ जना सङ्क्रमित भएकामा सबै जना निको भएका छन् । खोटाङ प्रतिनिधि रामधन राईका अनुसार जिल्लामा एक वर्षको अवधिमा ९७ जना सङ्क्रमित भएकामा सबै निको भएका छन् ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार ५ सय जना सङ्क्रमित भएकोमा ४ सय ९१ जना निको भएका छन् । नौ जनाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार ३७ जना सङ्क्रमित भएकामा सबै जना निको भएका छन् । सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा एक वर्षको अवधिमा ३ सय ५० जना सङ्क्रमित भएका छन् । जसमध्ये एक जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार १ सय २४ जना सङ्क्रमित भएकामा चार जनाको मृत्यु भएको छ । इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार ४ सय ८३ जना सङ्क्रमित भएकामा सात जनाको कोभिडका कारण मृत्यु भएको छ । पाँचथर प्रतिनिधि मङ्गल वेघाका अनुसार १ सय ४८ जना सङ्क्रमित भएकामा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा एक वर्षको अवधिमा १ सय २१ जना सङ्क्रमित भएका दुई जनाको मत्यु भएको छ । ओखलढुङ्गामा ४७ जना सङ्क्रमित भएर निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले ०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन गरेपछि हालसम्म मोरङमा ५५ हजार ९ सय ६५, झापामा ५३ हजार ७ सय ३३, सुनसरीमा ५१ हजार २ सय १५, उदयपुरमा ११ हजार ३ सय ३०, इलाममा १९ हजार ९ सय २३, धनकुटामा १० हजार ६ सय ७५, तेहृथुममा ८ हजार ५ सय ५१, भोजपुरमा १२ हजार १ सय २९, पाँचथरमा १३ हजार ६ सय २९, ताप्लेजुङमा १२ हजार ६ सय ३२, खोटाङमा १२ हजार ४ सय ४९, ओखलढुङ्गामा १८ हजार ५ सय ८५, सोलुखुम्बुमा ११ हजार ५ सय ४१ र सङ्खुवासभामा ८ हजार ९ सय २३ जनाले खोप लिएको इन्सेक जिल्ला प्रतिनिधिले जानकारी दिएका छन् ।

प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा कोभिड–१९ को परीक्षण निरन्तरता सामाजिक विकास मन्त्रालयले दिइरहेको छ ।


इन्सेक विराटनगर कार्यालय