कोभिड–१९ : गण्डकी प्रदेशमा सङ्क्रमण बढदै, सचेत रहन आवश्यक

  ०७७ चैत २० गते

नागरिकहरूले कोभिड–१९ फैलिएको बेला अपनाएको स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेकोले कम भएको सङ्क्रमण फेरी बढ्न थालेको छ ।

हाल प्रदेशमा कोभिड–१९ को जोखिम कम भयो भनेर स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइ खुल्ला रूपमा पर्यटकिय क्षेत्रहरूमा भीडभाड हुन थालेको छ । सरकारले सचेत रहन भनेपनि नागरिकहरूले पहिला जस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेका छैनन् ।

पश्चिमाञ्चल इन्जिनियरिङ क्पाम्पस पोखराको छात्रवासमा एकै पटक ४० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि प्रदेश सरकारले सुरक्षा मापदण्ड अपनाएर बाहिर हिँड्डुल गर्न निर्देशन दिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार हालसम्म प्रदेशमा कुल १ लाख ३५ हजार ८ सय ७ जनाको कोभिड–१९ परीक्षण गरिएको छ ।

जसमध्ये १६ हजार ५ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ भने २ सय ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको तथ्याङक अनुसार प्रदेशमा गरिएको १ सय ८० नमूना परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २९ जना निको भएका छन् । यो सगै प्रदेशमा निको हुनेको सङ्ख्या १६ हजार ८६ पुगेको छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतिका अनुसार गोरखामा हालसम्म ८ सय ४५ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ८ सय ३६ जना निको भएका छन भने ९ जनाको मृत्यु भएको छ । कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीमा हालसम्म ८ हजार ३ सय ८ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ७ हजार ८ सय ३३ जना निको भएका छन भने २ सय ८१ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा १ सय १४ जनाको मृत्यु भएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा हालसम्म १ हजार ४ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ हजार ४ सय ६५ जना निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ । जिल्लामा हाल पाँच जना सक्रिय सङ्क्रमित रहेका छन् ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङमा हालसम्म १ हजार सय ५१ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ हजार २५ जना निको भएका छन भने ८ जनाको मृत्यु भएको छ । जिल्लामा हाल १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार म्याग्दीमा हालसम्म २ सय ७३ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २ सय ४७ जना निको भएका छन भने तीन जनाको मृत्यु भएको छ ।

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङमा हालसम्म ९ सय १४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ९ सय ९ जना निको भएका छन भने पाचँ जनाको मृत्यु भएको छ ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा ३ सय ९७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ३ सय ८६ जना निको भएका छन भने तीन जनाको मृत्यु भएको छ । जिल्लामा हाल आठ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार स्याङ्जामा ८ सय ४० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ८ सय २३ जना निको भएका छन भने १७ जनाको मृत्यु भएको छ । मुस्ताङमा ३२ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ३२ जना नै निको भएका छन् । मनाङमा २० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २० जना निको भएका छन् ।

सरकारको सीमित श्रोत र साधनको अधिकतम उपयोग गरी कोभिड–१९ को सङ्क्रमण रोकथाम, प्रभावकारी नियन्त्रण तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिती, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा व्यवस्थापन सहजिकरण समिति र प्रमुख सचिवको नेतृत्वमा समन्वय समिति गठन भएको थियो ।

निर्देशक समितिको निर्देशन अनुसार कोभिड–१९ महामारी प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्न विषयगत समितिहरू गणन गरी परिचालन गरिएको थियो ।

कोभिड–१९ सङ्क्रमणको नियन्त्रणको लागि प्रदेश सरकारले २ सय ८५ ओटा क्वारेण्टाइन सेण्टर र ३० ओटा आइसोलेशन निर्माण गरेका थिए । जुन अहिले प्रयोगमा छैनन् ।

प्रदेश सरकारले सबै स्थानीय तहमा पाँच बेडको अस्पताल शिलन्यास गरेको भएपनि हालसम्म निर्माण कार्यले तिव्रता पाउन सकेको छैन । कोभिड –१९ सङ्क्रमण  फैलिन नदिन सरकारले गरेको  लकडाउनमा जेष्ठ नागरिकहरूलाई आवश्यक पर्ने औषधीहरूको अभाव भएको थियो भने यातायात साधन नचलेकोले दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न अभाव भएको थियो ।

सो बेला संस्थागत आइसोलेशनमा सङ्क्रमितहरू बस्ने गरेकोले अस्पतालमा आउने अरू सेवाग्राही विशेषगरी सुत्केरी महिलालाई उपचार पाउन समस्या भएको थियो ।

लकडाउनमा हिँडेरै गन्तव्य जाँदै गरेका र अलपत्र परेका मजदुरहरूलाई विभिन्न जिल्लाका स्थानीय तहले खाना खुवाउने कार्यक्रमहरू गरेका थिए । स्थानीय तहले विगतमा कोभिड–१९ सर्तकतासंगै विपन्न परिवारहरूको लागि राहत प्याकेज घोषणा गरी सो बमोजिम कार्य गरेको थियो ।

त्यस्तै कास्कीको रूपा गाउँपालिकाले सबै नाका सिल गरी आफ्ना गाउँपालिका भित्रका नागरिकहरूलाई आफ्नै बस सेवा मार्फत बोर्डरबाट ल्याउने र पालिकाले तयार गरेको क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाएको थियो ।

सरकारले ०७७ माघ १४ गते देखि सुरू गरेको कोभिड–१९ विरूद्धको खोप अभियान अन्तरगत गण्डकी प्रदेशमा पहिलो चरणमा ४८ हजार २ सय १६ जनाले र दोस्रो चरण अन्तरगत १ लाख ३७ हजार ५ सय ३२ जनाले कोभिड विरूद्धको खोप लगाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

 


गण्डकी प्रदेश कार्यालय