कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २३ गते)

  ०७७ पुस २३ गते

पुस २३ गते ४ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार १ सय ३२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५६ हजार ६ सय ६४ जना निको भएका छन् । पुस २३ गते ४ सय ८३ जना निको भएका छन् भने निको हुनेको दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २३ गतेसम्म १ हजार ९ सय ३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५ हजार ५८ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ५ सय ६१ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ८४ जनाको उपचार आइसीयूमा र ३२ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, डोल्पा र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

लुम्बिनी प्रदेश

अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार छत्रदेव गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जना कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि गाउँपालिककाले सबै वडा कार्यालयहरू र विद्यालयहरू पुस २३ गतेदेखि सात दिनसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले पुस २३ गते विज्ञप्तिमार्फत सबै सेवाहरू बन्द गरेको जानकारी दिनु भयो । हालसम्म जिल्लामा कोभिड सङ्क्रमण हुनेको सख्या ७ सय ६४ जना पुगेको छ भने कोभिडका कारण १३ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


अनलाइन डेस्क