कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २५ गते)
असोज २५ गते २ हजार ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२ हजार ४ सय २७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २५ गतेसम्म ६ सय ३६ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । असोज २५ गते मात्रै २२ जनाको मृत्यु भएको स्थिति प्रतिवेदनमा उल्लेख छ । सङ्क्रमितमध्ये ७५ हजार ८ सय ४ जना निको भएका छन् । असोज २५ गते १ हजार ५ सय ५२ जना निको भएका छन् भने निको हुनेको दर ७०.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३१ हजार ३ सय १५ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १७ हजार ६ सय ६६ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय २९ जनाको उपचार आइसीयूमा र ७६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
सुनसरी प्रतिनिधि जयकष्ण यादवका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय इनरूवामा कार्यरत ११ जना कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ । ११ जना कर्मचारीहरूको असोज २४ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएपछि असोज २५ गतेदेखि एक साताका लागि कार्यालय बन्द गरिएको सूचना टाँस गरिएको छ । असोज ३० गतेसम्म कार्यालयबाट सेवा प्रवाह बन्द हुने सूचनामा उल्लेख छ ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार अस्पतालका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पतालले असोज २५ गतेदेखि इमरजेन्सी र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । असोज २४ गते प्रादेशिक अस्पताल विराटनगरको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालका ४८ वर्षीय कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि असोज २४ गते सूचना टाँस गरी सार्वजनिक सेवा प्रवाह बन्द गरिएको हो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार रुपनी गाउँपालिकाका तीन जना कर्मचारी र एक जना वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा असोज २५ गते कोभिड–१९ सङ्क्रमण देखिएपछि रुपनी गाउँपालिका कार्यालय एक साताका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिनु भयो । असोज २१ गते ३३ वर्षीय एक जनप्रतिनिधिमा सङ्क्रमण पुष्टि भएपछि असोज २५ गते उनका छोरा र छोरीमा समेत सङ्क्रमण देखिएको छ । गाउँपालिका अध्यक्ष यादवका अनुसार असोज २२ गते मृत्यु भएका रुपनी गाउँपालिका–१ का ३७ वर्षीय सब ओभरसियरका परिवारका सदस्यमा समेत सङ्क्रमण देखिएको छ । गाउँपालिका अध्यक्ष यादवले सबै कर्मचारीको पीसीआर परीक्षण गराउनुपर्ने भएकाले एक साताका लागि कामकाज ठप्प गरिएको बताउनु भयो ।
कोभिड १९ सङ्क्रमणबाट डाक्नेश्वरी नपा–७ घर भई हाल राजविराज नपा–६ सिरहा रोडमा पसल सञ्चालन गर्दै आएकी ६७ वर्षीया महिलाको असोज २५ गते मृत्यु भएको डाक्नेश्वरी नगरपालिका–७ का वडा अध्यक्ष रामनारायण चौधरीले बताउनु भयो । उनको स्वाब परीक्षण गर्दा असोज २० गते सङ्क्रमण पुष्टि भएपछि होम आइशोलेसनमा बस्दै आएकी थिइन् । असोज २५ गते बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको राजविराज नपा–६ का अध्यक्ष प्रेम यादवले जानकारी दिनु भयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार धनगढीमाई नगरपालिकाका आठ जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि असोज २५ गतेदेखि असोज ३० गतेसम्मका लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले बताउनु भयो । कर्मचारीहरूमा सङ्क्रमण देखिएको र अन्य कर्मचारीको पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका र १४ ओटै वडाको अति आवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरीएको सूचना प्रकाशित गरिएको छ ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार नापी कार्यालय धनुषाका कर्मचारीमा कोभिड–१९ सङ्क्रमणको लक्षण देखा परेपछि कार्यालयले असोज २४ गतेदेखि २६ गतेसम्म कार्यालय बन्दको घोषणा गरेको छ । कर्मचारीहरूको रिपोर्ट भने आउन बाँकी रहेको छ ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार जिल्ला प्रशासन कार्यालय मलङ्गवाका ६ जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिए पश्चात शान्ति सुरक्षा र विपद व्यवस्थापनका कार्यबाहेकका सेवा बन्द गरिएको छ । अति आवश्यक विपद व्यवस्थापन कार्य बाहेक अन्य सेवा बन्द गर्ने गरी असोज २५ गतेदेखि असोज ३० गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयको कामकाज नगरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
बागमती प्रदेश
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार असोज २५ गते चौतारा साँगाचोकगढी नगरपालिकामा एक जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि नगरपालिकाबाट प्रदान गरिँदै आएको सेवा असोज २५ गतेदेखि असोज ३० गतेसम्म पूर्ण रूपले बन्द गरिएको चौतारा साँगाचोकगढी नपाका कार्यकारी अधिकृत कृष्ण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार सङ्क्रमित कर्मचारीबाट अन्य व्यक्तिहरूमा रोग फैलावट हुन सक्ने भएकाले नगरपालिकाले प्रदान गर्ने सेवा बन्द गरी सबै कर्मचारीको स्वाब परीक्षण गरिनेछ ।
गण्डकी प्रदेश
बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाले अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित समुदाय स्तरमा कोभिड सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । असोज २६ गतेदेखि लागु हुनेगरी अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको सुवेदीले बताउनुभयो । बागलुङ जिल्लामा असोज २४ गते मात्रै ४७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो । नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ ओटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरेको हो । बागलुङमा हाल सम्म ५ सय २५ जनालाई सङ्क्रमण भएको छ । जसमध्ये ३ सय ६७ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार पालुङटार र गोरखा नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द भएका गरिएको छ । दुवै नगरपालिकाले असोज २५ गते सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी गराइएको हो ।
सुदूरपश्चिम प्रदेश
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार दिपायल सिलगढी नगरपालिकाका वडा नम्बर ६ र वडा नम्बर ९ का दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि वडाहरू असोज २४ गतेदेखि असोज ३० गतेसम्मका लागि सील गरिएको नगरपालिकाकी प्रमुख मञ्जु मलासिले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…