कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ४ गते)
मङ्सिर ४ गते २ हजार १ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार ८ सय ५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ८५ हजार ६ सय ३८ जना निको भएका छन् । मङ्सिर ४ गते २ हजार ८ सय ५८ जना निको भएका छन् भने निको हुनेको दर ८६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ४ गतेसम्म १ हजार २ सय ७६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २८ हजार १ सय ६ जनाको उपचार भइरहेको छ । २५ हजार ३ सय ४७ जना होम आइसोलेशनमा छन् भने ३ सय ८० जनाको उपचार आइसीयूमा र ६२ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
कर्णाली प्रदेश
रुकुम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार कोभिड–१९ को सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)ले मङ्सिर ४ गते बिहान १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मुसीकोट नगरपालिका–१ सल्लेमा सील गरेको छ । पछिल्लो परीक्षणमा मुसीकोट नगरपालिका–१ सल्लेका दुई जना व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले चार किल्ला तोकी निषेधाज्ञा गरेको हो । कोभिड–१९ लाई थप फैलिन नदिन पूर्वमा मुलखोला, पश्चिममा गुजिलढुङ्गा, उत्तरमा सल्ले माथिको डाँडा र दक्षिणमा सल्ले विमानस्थल क्षेत्रभित्र अति आवश्यक बाहेक अन्य सेवा ठप्प रहने गरी सील गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिनुभयो । अस्पतालमा इमरजेन्सी सेवा र प्रसूति सेवा बाहेकका सेवा बन्द गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर छविलाल नेपालीले जानकारी दिनुभयो । इमन्र्जेनसी वार्डमा उपचाररत दुई जनामा कोभिड सङ्क्रमण देखिएको र उनीहरुको उपचारमा संलग्न चिकित्सक र पारामेडिक्स समेत प्रत्यक्ष सम्पर्कमा रहेकोले इमरजेन्सी र प्रसूति बाहेकका सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिका–७ डाँडाफयाका एक जना शिक्षक एक हप्तादेखि कोभिड सङ्क्रमणको आशङ्कामा त्रिपालको क्वारेण्टाइनमा बस्न बाध्य भएका छन् । नाम्खा गाउँपालिका–४ को माहवौद्ध माविमा कार्यरत शिक्षकलाई कोभिडको आशङ्कामा धारापोरी प्रहरीचौकी र ७ नम्वर वडा कार्यालयको समन्वयमा अत्याधिक चिसोको मौसममा पनि त्रिपालको क्वारेण्टाइनमा राखिएको हो । यसरी त्रिपालमुनि बसेको सात दिन भइसक्दा पनि स्वास्थ्य संस्था र गाउँपालिकाले पीसीआर परीक्षण नगरेको उनले गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिंहले हालसम्म जानकारी नभएको बताउनु भयो । सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले पनि जानकारी नभएको बताउनु भयो ।
लामो समयको बन्दाबन्दीपछि दशैँ लगत्तै सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु मङ्सिर ४ गतेदेखि पुनः बन्द गरिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातओटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गरिएको हो । नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएको हो । मङ्सिर ३ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरूले पीसीआर रिपोर्ट नल्याएमा प्रवेशमा रोक लगाउने र अन्तर स्थानीय तह आवतजावतमा समेत कडाइ गर्नेलगायतका निर्णयहरू गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…