कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १९ गते)
असोज १९ गते २ हजार ४ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८९ हजार २ सय ६३ पुगेको छ । गत २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १९ गतेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ५ सय ५४ जनाको मृत्यु भएको छ । असोज १९ गते मात्रै १९ जनाको कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १ सय ६० जना महिला र ३ सय ५४ जना पुरुष छन् । उमेर समूहका आधारमा सबैभन्दा बढी ६१ देखि ७० वर्ष उमेर समूहका १ सय ३० जना र प्रदेशका आधारमा सबैभन्दा बढी बागमती प्रदेश २ सय २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६५ हजार २ सय २ जना निको भएका छन् । असोज १९ गते १ हजार १ सय ३३ जना निको भएका छन् भने निको दर ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २३ हजार ५ सय ७ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १२ हजार ३ सय १६ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ५५ जनाको उपचार आइसीयूमा र ४३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोभिड–१९ सङ्क्रिमतको असोज १९ गते मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ का ५५ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले बताउनुभयो । धरान उपमहानगरपालिकाका वडा कार्यालयहरू धमाधम बन्द भइरहेका छन् । अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह नहुने भन्दै धरानका १, ३, ८, ११, १२, १४, १५ र १६ नम्बर वडा कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको वडा कार्यालयहरूले जनाएका छन् । बन्द भएका वडाहरूमा वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधिहरू र वडावासीहरूमा कोरोना सङ्क्रमण भएको भन्दै बन्द गरिएको हो । वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा अहिले बन्द गरिएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ का सङ्क्रमित बिर्तामोड नगरपालिका–५ का ८२ वर्षीय ज्येष्ठ नागरिकको असोज १८ गते राति मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पालमा उपचारको क्रममा मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताउनु भयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार असोज १९ गते राजगढ गाउँपालिका–३ निवासी ६० वर्षीय गाउँपालिका जनप्रतिनिधि, राजविराज नपा–७ निवासी ५७ वर्षीय राजगढ गाउँपालिकाका कार्यरत कर्मचारी, जनप्रतिनिधिका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाति, ४० वर्षीय चालक, राजविराज नपा–६ का ४४ वर्षीय, सुरुङ्गा नपा–१ का ३२ वर्षीय, महादेवा गाउँपालिका–४ का २८ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका–७ का १६ वर्षीया बालिका कोभिड–१९ बाट सङ्क्रमित भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय सप्तरीले जनाएको छ । उनीहरूमा कोभिड सङ्क्रमण भएपछि असोज १९ गतेदेखि अर्को सूचना नभएसम्मका लागि आकस्मिक बाहेकका सबै कामकाज बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा असोज १९ गते काठमाडौँमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५०, भक्तपुरमा १ सय ३, चितवनमा १ सय ३, मकवानपुरमा ५६, काभ्रेपलाञ्चोकमा ३६, धादिङ र रामेछापमा १२/१२, नुवकोटमा १०, सिन्धुपाल्चोकमा पाँच सिन्धुलीमा दुई र दोलखामा १ जना गरी १ हजा ७ सय ६८ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ३७ हजार २ सय ८३ जना पुगेको छ । जसमध्ये २१ हाजर १ सय ८७ जना उपचारपछि निको भएका छन् भने १५ हजार ८ सय ७६ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण थप १३ जनासँगै यस प्रदेशमा कोभिड–१९ का २ सय २० सङ्क्रमितको मृत्यु भएको छ ।
सिन्धुली प्रतिनिधि बिमला पाण्डेका अनुसार जिल्लामा कोभिड–१९ का बिरामीको उपचार गर्न आइसोलेशन बेडको अभाव भएको छ । लकडाउन खुकुलो भएसँगै जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि आइसोलेशन बेडको अभाव भएको हो । सिन्धुली अस्पतालको आइसोलेशन र एपोलो अस्पतालमा बनाइएको कोभिड–१९ उपचार केन्द्रमा रहेको ३९ बेडको आइसोलेसशमा शिरामी भरिएसँगै बेडको अभाव भएको हो । बिरामीको चाप बढेसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको असोज १९ गते बसेको बैठकले एपोलो अस्पतालको खाली रहेको स्थानलाई मर्मत गरी बेड सङ्ख्या थप गर्ने निर्णय गरेको छ । साथै बैठकले जिल्लामा खुलेका हाटबजारहरू बन्द गराउन सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य सङ्घलाई जिम्मा दिने निर्णय समेत गरेको छ । हाटबजार तथा बजार क्षेत्रमा भिडभाड बढेका कारण सङ्क्रमणको जोखिम बढेको भन्दै केन्द्रले हाटबजार लगाउन रोक्न उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । जिल्लामा हाल सङ्क्रमितको सङ्ख्या १ सय ६ पुगेको छ भने ४० जना उपचाररत रहेका छन् ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखामा नौ जना प्रहरी र दुई जना थुनुवामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । बाह्रकिलो प्रहरी चौकीमा कार्यरत दुई महिला र ६ पुरुष प्रहरीमा असोज १९ गते सङ्क्रमण पुष्टि भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताउनुभयो । प्रहरी हिरासतमा रहेको दुई जनामा पनि असोज १९ गते नै सङ्क्रमण पुष्टि भएको छ । दुवै जना थुनुवालाई सरकारी वकिलसँगको राय सुझावका आधारमा जनप्रतिनिधिको जिम्मा लगाइ आइसोलेशनमा पठाइएको छ ।
कोभिड–१९ का बेला स्वास्थ्य सुरक्षाका सामाग्री पर्याप्त नपाएको गोरखा कारागारका कैदीबन्दीले गुनासो गरेका छन् । असोज १९ गते राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोचिएर बस्न वाध्य भएको कैदीबन्दीले गुनासो गरेका हुन् । गोरखा कारागारमा ५५ जनाको क्षमता भएपनि क्षमता भन्दा दोब्बर एक सय ५ जना कैदीबन्दी कोचिएर बसेका छन् । सङ्क्रमणको त्रास बढेसँगै गत चैतबाट कैदीबन्दीलाई भेटघाटमा प्रतिबन्ध लगाइएको छ ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार असोज १९ गते देवचुली नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोभिड सङ्क्रमण पुष्टि भएपछि असोज २३ गतेसम्म कार्यालयबाट हुने सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयको प्राविधिक शाखा र स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरूमा सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीहरूमा समेत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएकाले असोज २३ गतेसम्म स्वास्थ्य सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताउनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार पशु सेवा विज्ञ केन्द्रका कर्मचारीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँुको सेवा बन्द गरिएको छ । पशु सेवा असोज १९ गतेदेखि बन्द गरिएको भेटेनरी अस्पतालका सूचना अधिकारी रुद्रसिंह ठकुरीले बताउनुभयो । कार्यालयकी निमित्त प्रमुख शर्मिला कुमालले अर्को सूचना नआउँदासम्मका लागि अस्पताल बन्द गरिने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार बेलडाँडी गाउँपालिका–२ मा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक बाहेकका सबै सेवा तीन दिनसम्मका लागि बन्द गरिएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि असोज २२ गतेसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर २ का अध्यक्ष प्रेमराज खातीले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…