कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २३ गते)
कात्तिक २३ गते २ हजार ८ सय १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२ हजार ३ सय ११ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ५७ हजार ९ सय २६ जना निको भएका छन् । कात्तिक २३ गते २ हजार ८ सय १२ जना निको भएका छन् भने निको हुनेको दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २३ गतेसम्म १ हजार १ सय ८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३५ हजार ४ सय १९ जनाको उपचार भइरहेको छ । २९ हजार १ सय ९७ जना होम आइसोलेशनमा छन् भने ३ सय ९८ जनाको उपचार आइसीयूमा र ८२ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
बागमती प्रदेश
काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार तेमाल गाउँपालिकाको कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोभिड–१९ पुष्टि भएपछि कार्यालबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको छ । गाउँपालिकाले कात्तिक २३ गते विज्ञप्ति प्रकाशन गरी मङ्सिर २ गतेसम्मका लागि सेवा बन्द गर्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले गाउँपालिकाबाट उपलब्ध हुने अत्यावश्यक सेवा भने सुचारु हुने बताउनु भयो ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा नगरपालिकामा कार्यरत तीन जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गोरखा नगरपालिकाको सेवा बन्द गरिएको छ । नगरपालिकाको कार्यालयले कात्तिक २४ गतेदेखि २८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताउनुभयो । सङ्क्रमणको जोखिम बढेको तथा सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नुुपर्ने भएकाले सेवा बन्द गरिएको उहाँको भनाइ छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार समुदाय स्तरमा सङ्क्रमण बढ्दै आएको र नगरपालिकाकाका केही कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि भिमाद नगरपालिकाले कात्तिक २६ गतेसम्म नगरपालिकाबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले कात्तिक २३ गते सूचना प्रकाशन गरी कात्तिक २३ गते दिउँसो ३ बजेदेखि २६ गते राति १२ बजेसम्म कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य र सुरक्षाबाहेकका कार्य बन्द गर्ने जनाएको छ । सङ्क्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्ने र कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने सम्पूर्ण सरकारी कार्यालय, निजी तथा गैरसरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान पनि पीसीआर परीक्षणको नतिजा नआएसम्मका लागि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज आचार्यले कोभिडको सङ्क्रमण समुदायस्तरमा फैलन थालेकोले नगरपालिकाको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।
लुम्बिनी प्रदेश
रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार जिल्ला अस्पताल रेउघामा कार्यरत सातजना स्वास्थ्यकर्मी र एकजना बिरामीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले कात्तिक २२ गते गरेको निर्णय अनुसार जिल्ला अस्पताल रेउघालाई कात्तिक २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म सील गरिएको अस्पतालका अहेब कुलबहादुर डाँगीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । सङ्क्रमित बिरामीलाई नेपालगञ्ज रिफर गरिएकोमा कात्तिक २३ गते बिरामीको मृत्यु भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।
अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार सात चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोभिड सङ्क्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द गरिएको छ । अस्पतालमा प्रसूति र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पतालका डाक्टर कपिल गौतमले बताउनु भयो । उपचारमा अहोरात्र खटिएका चिकित्सकलगायत स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म सबै सेवा बन्द गरिएको डाक्टर गौतमले बताउनु भयो ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार कोभिड–१९ सङ्क्रमणका कारण सल्यानमा एक व्यक्तिको मृत्युु भएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर एक साताका लागि बन्द गरिएको छ । श्रीनगर बजार क्षेत्रमा लक्षणसहितका केही व्यक्ति बिरामी भएको जानकारी आएकाले एक साताका लागि बजार बन्द गरिएको शारदा नगरपालिका–१ ले विज्ञप्ति जारी गरेर जनाएको छ । कात्तिक २२ गतेदेखि कात्तिक २९ गतेसम्म शान्तिनगर, श्रीनगर, शितलपाटीदेखि बेलघारीसम्म बन्द गरिएको वडा अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सामान खरिदको लागि भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ बजेदेखि १० बजेसम्म पसल तथा बैङ्कहरू सञ्चालन गर्न सकिने बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…