कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १३ गते)

  ०७८ जेठ १३ गते

जेठ १३ गते ६ हजार ७ सय ३१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १३ गते परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १३ गते १९ वर्ष मुनीका ८ सय ६२ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा २० हजार ४ सय १४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख १८ हजार ८ सय २९ जना निको भएका छन् । जेठ १३ गते ७ हजार २ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ७७.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १३ गतेसम्म ६ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १३ गते १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १६ हजार ४ सय ७६ देखाइएको छ ।

Corona Infographics 2078-02-13

मोरङ, सुनसरी, झापा, धनकुटा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ १३ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । 

प्रदेश २

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले जेठ १२ गते एक सूचना जारी गरी जेठ १३ गते राति १२ बजेबाट लागु हुने गरी जेठ १९ गते राति १२ बजेसम्म रौतहट जिल्ला भर लागु हुने गरी निषेध आदेश पुनः थप गरिएको छ । कुनैपनि कार्य गर्दा कोभिड–१९ को स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्नुपर्ने उक्त सूचनामा उल्लेख भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार खडक नगरपालिकाले वडा नम्बर ३ लाई जेठ १३ गतेदेखि पूर्ण रूपमा सील गरेको छ । कोभिड–१९ को सङ्क्रमण फैलिएर वडा नम्बर ३ मा अत्यधिक मात्रामा सङ्क्रमित देखा परेकाले सो वडा सील गरिएको नगरपालिकाले एक सूचना प्रकाशित गरी जनाएको छ ।

बागमती प्रदेश

भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार कोभिड–१९ का सङ्क्रमितको उपचार गर्दै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा शैया सञ्चालनमा समस्या परेको छ । अक्सिजन कम्पनीहरूले सरकारले तोकेको कोटा बराबर पनि अक्सिजन नदिँदा र अक्सिजनको खपत बढी हुँदा अस्पतालले निकै समस्या झेल्नु परेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले बताउनुभयो । अस्पतालले कोभिड सङ्क्रमितका लागि ८० शैया छुट्याए पनि अहिले ४० जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका लागि दैनिक २ सय सिलिण्डर अक्सिजन आवश्यकता भए पनि दैनिक ९० सिलिण्डर पाउन पनि मुस्किल परेको उहाँको भनाइ छ । भेण्टिलेटरमा रहेका बिरामीलाई तीव्र गतिमा अक्सिजन दिनुपर्दा एक बिरामीका लागि २४ घण्टामा पाँच सिलिण्डर अक्सिजन सकिने तर अक्सिजनको आपूर्ति भने कम हुँदा समस्या आएको अस्पतालको भनाइ छ । भक्तपुर अस्पतालका लागि सरकारले कान्तिपुर उद्योगसंग दैनिक ४०, सोपन उद्योगसंग दैनिक ३० र सगरमाथा उद्योगसंग दैनिक ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने गरी कोटा निर्धारण गरेपनि ती उद्योगले तोकेको भन्दा ५० प्रतिशत कम अक्सिजन उपलब्ध गराउने गरेको छ ।

निःशुल्क सेवा दिँदै आएको सरकारी अस्पताललाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरूले तोकिएको कोटा भन्दा बढी अक्सिजन दिने गरेको डाक्टर गौतमले बताउनुभयो । निजी अस्पतालले अक्सिजनमा बढी पैसा तिर्ने भएकाले सरकारीलाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरूले प्राथमिकतामा राखेको भक्तपुर अस्पतालकी मेसु डाक्टर गौतमले बताउनुभयो । अहिले भक्तपुर अस्पतालमा ज्वरो र कोभिडको लक्षण भएकाहरूका लागि सञ्चालन गरेको ओपिडी सेवामा मात्रै दैनिक १ सय ७० देखि २ सयसम्म बिरामी आउने गरेका छन् । ठाउँ अभाव, उपकरण अभावले अस्पतालले पर्याप्त आइसीयू सञ्चालन गर्न सकेको छैन । यस अस्पतालमा जम्मा ६ शैयाको आइसीयू, ४० शैया हाइकेयर युनिट, आकस्मिक कक्ष र टेण्टमा समेत शैया राखेर ८० जना कोभिडका बिरामीको उपचार गर्दै आए पनि अक्सिजन अभावमा सबै शैया चलाउन अहिले समस्या आएको मेसु डा. गौतमले जानकारी दिनुभयो ।

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ सङ्क्रमण गाउँतहमा बढ्दै गएपछि रसुवामा थप एक साता निषेध आदेश थप गरिएको छ । सङ्क्रमित दैनिक रूपमा बढेकाले निषेध आदेशलाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेध आदेशको समय बिहीबार राति १२ बजेबाट सकिँदै थियो । डिसिसिएमसीको बिहीबार बसेको बैठकले यही जेठ २० गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला विपद व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले बताउनुभयो ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार कोभिड नियन्त्रणकोलागि जारी निषेध आदेशलाई थप कडा बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला  अधिकारी चित्राङ्गत बरालले जेठ १३ गते सूचना प्रकाशित गरी कोभिड–१९ सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश जारी भइसकेको हुँदा निषेध आदेशलाई थप कडा बनाइने बताउनु भएको छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार बारपाक गाउँमा कोभिड–१९ सँग मिल्दा जुल्दा लक्षण रहेका बिरामी घरपिच्छे बढेपछि वारपाक सुलिकोट गाउँपालिकाले प्रदेश र सङ्घ सरकारलाई सहयोगको अपिल गरेको छ । जेठ १३ गते एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले डाक्टर सहितको स्वास्थ्यकर्मी टोली पठाइदिन आग्रह गरेको हो । बारपाक गाउँमा एक साताको अवधिमा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जनाको मात्र कोभिड रिपोर्ट पोजेटिभ आएको छ । अन्यको परीक्षण भएको छैन । ‘घरघरै बिरामी छन् । गाउँपालिकाको मात्र क्षमताले भेटेन ।’–गाउँपालिका अध्यक्ष विष्णु भट्टले भन्नुभयो–‘सबैलाई सहयोगको अपिल गरेका छौँ ।’ रुघाखोकीका बिरामी वढेपनि परीक्षण नै गर्न नमान्दा समस्या थपिएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश

दार्चुला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार कोभिड सङ्क्रमण बढ्दै गएपछि गत वर्ष मार्मा गाउँपालिकामा कोभिड अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएपछि मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका बिरामीहरूलाई उपचार गर्न सहज भएको छ । जिल्लामै पहिलो पटक कोभिड अस्पताल निर्माण गरेर डाक्टर नियुक्त गरी कोभिड सङ्क्रमितहरूको उपचार गर्दै आएको छ । हाल अस्पतालमा नौ जना सङ्क्रमित बिरामीहरूको उपचार भइरहेको डाक्टर महादेव भट्टले बताउनु भयो । मार्मा गाउँपालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै आफ्नै लगानीमा डाक्टर नियुक्त गरेको हो । जसका कारण अहिले गाउँ घरमै स्थानीयले सहज स्वास्थ्य सेवा पाइरहेका छन् । गाउँपालिकाले कोभिड अस्पतालको लागि ४० लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री यसै साता खरिद समेत गरेर स्वास्थ्य उपचार गरिरहेको डाक्टर भट्टले बताउनु भयो । विगतमा मार्मा र अपिहिमाल गाउँपालिकाका बिरामीले स्वास्थ्य सेवा लिन जिल्लास्थित शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पताल आउनु पर्ने बाध्यता भएपनि हाल गाउँपालिकाले नै अस्पताल स्थापना गरेर स्वास्थ्य सेवा सुचारु गरेका कारण गोकुलेश्वर धाउनु पर्ने बाध्यता हटेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनु भयो ।  नागरिकलाई सहज रुपमा सेवा दिन आफ्नै स्रोत साधनमा डाक्टर नियुक्त गरेपछि बिरामीले सहज रुपमा सेवा पाएका छन्, अध्यक्ष धामी भन्नुहुन्छ, अझै पनि अस्पतालको सबै सेवा उपलब्ध गराउने गरी तयारी गरिदैँछ । मालिकार्जुन गाउँपालिका, जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा पनि कोभिड अस्पताल सञ्चालनमा रहेका छन् भने अन्य स्थानीय तहले डाक्टर नपाउँदा कोभिड अस्पताल प्रभावकारी रुपमा सञ्चालन गर्न सकेका छैनन् ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले व्यासका स्थानीय तथा त्यस क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई कोभिडविरुद्धको खोप लगाउने निर्णय गरेसँगै व्याँस गाउँपालिका-१ छाङ्गरुका २ सय ३२ जनालाई जेठ १३ गते कोभिडविरुद्धको खोप लगाइएको छ । व्यासका नागरिकको लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त कोभिडविरुद्ध खोप लगाउन सुरु गरिएको व्याँस गाउँपालिका-१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त कोभिडविरुद्धको खोप त्रिदेशीय सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि लगाउन पाउने वडाध्यक्ष बोहराको भनाइ छ ।

बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्ला स्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको (डिसिसिएमसी) जेठ १३ गते बसेको बैठकले तराईका जिल्लाबाट भित्रिने नागरिकहरूका लागि पाटन नगरपालिका–८ खोड्पेमा ५० बेडको आइसोलेशन निर्माण गर्ने निर्णय गरेको छ । तराईबाट आएका प्रतेक व्यक्तिको एन्टिजीन बिधिबाट कोभिड–१९ को परीक्षण समेत गरिने निर्णय समेत भएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनु भयो । कोभिड माहामारीसँगै पछिल्लो समय बजारमा गुणस्तरहीन खाद्यवस्तुको विक्रिवितरण तथा कालोबजारी मौलाएको गुनासो आएपछि जेठ १३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले प्रत्येक पालिकाले आफ्नो क्षेत्रमा रहेका बजारहरूको अनुगमन गर्ने र सोको प्रतिवेदन (डिसिसिएमसी) मा पठाउने समेत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १३ गतेसम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १३ गतेसम्म ७ सय ७२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १३ गते)


अनलाइन डेस्क