कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)
जेठ ६ गते ८ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ६ गते परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ६ गते १९ वर्ष मुनीका ७ सय ५६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा २१ हजार ६ सय ९५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ६६ हजार ९ सय ४६ जना निको भएका छन् । जेठ ६ गते ६ हजार ५ सय ४३ जना निको भएका छन् भने निको हुनेको दर ७५.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ६ गतेसम्म ५ हजार ८ सय ४७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ६ गते १ सय ९० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ८ सय ५२ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ५ गते साँझसम्म ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । जेठ ६ गते मन्त्रालयबाट थप जानकारी दिइएको छैन ।
प्रदेश १
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जेठ ६ गते कोभिड सङ्क्रमित दिन प्रतिदिन बढेकाले पाँचखपन नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको पाँचखपन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार यादवले बताउनु भयो । नगरपालिकाको कोभिड–१९ नगर प्रतिकार्य समितिको जेठ ५ गते बसेको आकस्मिक बैठकले जेठ ५ गते राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म स्वास्थ्य शाखाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द रहने जनाएको छ । प्रसूति र इमरजन्सी सेवा भने बन्द नहुने स्वास्थ्य शाखा प्रमुख यादवले बताउनु भयो । जेठ ५ गते राति १२ बजे बाट नगर क्षेत्रका सबै स्वास्थ्य शाखा बन्द रहने पनि उहाँले बताउनु भयो ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार झापामा थप एक साता निषेध आदेश थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा जेठ ६ गते बसेको जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्यराति १२ बजेसम्मको लागि निषेध आदेश थप निर्णय गरेको हो ।
प्रदेश २
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार मिथिला नगरपालिका–११ लोटा दुधपानीका ४६ जनामा एक साथ कोभिड सङ्क्रमण पुष्टि भएको छ । गाउँका अधिकांशमा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मिथिला नगरपालिकाले जेठ ४ गते उक्त गाउँबाट ५४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरको ल्यावमा जाँच गर्दा ४६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको मिथिला नगरपालिकाका प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिनुभएको छ ।
सङ्क्रमितहरूमध्ये २ जनाको स्वास्थ्य अवस्थामा गम्भिर भएकाले उहाँहरुको सिन्धुलीमा उपचार भइ रहेको छ । ६० घरपरिवार रहेको सो गाउँभर कोभिड सङ्क्रमितको सङ्ख्या फेला परेछि नगरपालिकाले सो गाउँमा नयाँ मान्छेहरूको प्रवेशमा रोक लगाएको छ । रिपोर्ट पोजेटिभ भई सामान्य लक्षण देखिएकाहरूलाई होम आइसोलेशनमा राखी नगरपालिकाको औषधिसहितको चिकित्सकीय टोली परिचालन गरेको नगरपालिकाका प्रमुख हरिनारायण महतोले बताउनुभयो । मिथिला नगरपालिकाले नगरभित्रका सेवा जेठ ६ गतेदेखि जेठ १२ गतेसम्म बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख हरिनारायण महतोले बताउनुभयो । यस अवधिमा नगरपालिकाबाट स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ । नगरपालिकाले नगरभित्रका बैङ्क तथा वित्तीय संस्था आवश्यकताअनुसार तीन दिन मात्र सञ्चालन गर्न आग्रह गरेको प्रमुख महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कोभिड सङ्क्रमितहरूको सङ्ख्या बढेपछि स्थानीय तहहरूले आआफ्नो स्थानीय तहमा आइसोलेशन कक्ष र कोभिड विशेष अस्पताल सञ्चालन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले वडा नं. ४ स्थित गोपाल धर्मशालामा जेठ १ गतेदेखि १ सय बेडको आइसोलेशन कक्ष सञ्चालनमा ल्याएको मेयर लालकिशोर साहले जानकारी दिनुभयो । बटेश्वर गाउँपालिकाले वडा नं. ५ मा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा २० बेडको आइसोलेशन कक्ष जेठ १ गतेबाट सञ्चालन गरेको छ । कोभिड सङ्क्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालन गरेको बटेश्वर गाउँपालिकाका उपाध्यक्ष प्रमिलादेवी सिंहले बताउनुभयो ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कञ्चनरुप नगरपालिकाले जेठ ६ गते एक सूचना जारी गरी पुनः एक साताका लागि निषेध आदेशको अवधि बढाएको छ । कोभिडको सङ्क्रमण सङ्ख्याका साथै मृत्यु दर पनि बढिरहेकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकामा वैशाख ३१ गतेदेखि एक साताका लागि जारी निषेध आदेशको अवधि थप गर्दै जेठ ७ देखि जेठ १३ गते सम्मका थप गरिएको छ । स्वास्थ्य सेवाका अति आवश्यक सेवा बाहेक नगरपालिका क्षेत्र पूर्ववत ‘सील’ रहने निमित्त प्रशासकीय अधिकृत नवराज खडकाले बताउनु भयो ।
बागमती प्रदेश
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार चौतारा सागाचोकगढी नगरपालिकाको मेयर र उपमेयर सहित एकैदिन १ सय ४९ जनामा कोभिड—१९ सङ्क्रमण देखिए पछि सङ्क्रमण थप नफैलियोस् भन्ने उद्देश्यले ०७८ जेठ ६ गते बिहानदेखि जेठ १४ गतेसम्मका लागि चौतारा सागाचोकगढी नगरपालिका सिल गरिएको छ । त्यसैगरी, मेलम्ची नगरपालिका— ७ मा पनि कोभिड सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको र थप रोकथाम गर्नुपर्ने भएकाले जेठ ६ गतेदेखि १२ गतेसम्म सिल गरिएको मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपालले बताउनु भयो । सिल गरिएको क्षेत्रमा औष्ािध पसल बाहेक सबै पसलहरू बन्द गरिएको, आवत जावतमा कडा पारिएको चौतारा सागाचोकगढी नगरपालिका—५ का अध्यक्ष नरमान श्रेष्ठले बताउनु भयो ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार बढ्दो कोभिड—१९ सङ्क्रमणका कारण दोलखाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरू उच्च जोखिममा रहेको भन्दै उनीेहरूले सुरक्षित सामग्रीको माग गरेका छन् । कोभिड—१९ पुष्टि भएको तीन दिनको अवधिमा वैत्यश्वर गाउँपालिका स्थित वैत्यश्वर अस्पतालमा कार्यरत कार्यालय सहयोगीको गत साता मृत्यु भएको र अर्का स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरू त्रसित बनेका छन् । कोभिड महामारीको बेला फ्रण्टलाइनमा काम गर्ने अस्पतालका डाक्टर, स्टार्फ नर्सलगायत सरसफाइमा खटिने कर्मचारी जोखिममा रहनु सामान्य भए पनि सुरक्षित सामग्रीको अभावले गर्दा थप जोखिम बढाएको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् । यसैगरी, जिल्ला सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरी सङ्क्रमितको उपचार र स्वाब सङ्कलन गरिदै आएको छ । स्वास्थ्यकर्मीका लागि सुरक्षित सामग्री उपलब्ध गराउने प्रयास भइरहेको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताउनु भयो ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) बागलुङको बैठकले अनाधिकृत रुपमा गरिएको स्वाब सङ्कलनलाई मान्यता नदिने निर्णय गरेको छ । बागलुङको ढोरपाटन नगरपालिकामा ०७७ जेठ ५ गते केही व्यक्ति र संस्थाले आफू खुसी स्वाब सङ्कलन गरेको भन्दै सङ्कलन गरिएको उक्त स्वाबलाई मान्यता नदिइने निर्णय गरेको हो । बैठकले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) बागलुङ र सम्बन्धित स्थानीय तहको स्वीकृती लिएर, नेपाल सरकारबाट मान्यता प्राप्त ल्याब वा अस्पतालबाट मात्र स्वाब सङ्कलन गर्ने, अन्यथा कसैले आफूखुसी स्वाब सङ्कलन गरे गराएको पाइएमा कानुन बमोजिक कारबाही गर्ने र स्थानीय तह मार्फत सङ्कलन गरिएका स्वाबहरूलाई मात्र (डिसिसिएमसी) मार्फत मान्यता दिइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भयो । जेठ ५ गते ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा नेपाली काँग्रेसका तर्फबाट प्राइभेट चिकित्सकहरूको सहयोगमा स्वाब सङ्कलन गरिएको थियो । बुर्तिबाङ र बोबाङमा गरी करिब ७० जनाको स्वाब सङ्कलन गरिएको भन्ने समाचार बाहिर आएपछि बसेको डिसिसिएमसीको बैठकले उक्त अनाधिकृत स्वाब सङ्कलन कार्यलाई निरुउत्साहित गर्ने तथा स्थानीय तहको सहजीकरणमा स्वाब सङ्कलनलाई तीव्र बनाउने निर्णय गरेको छ ।
स्याङ्जा प्रतिनिधि तिलकुमारी थापाका अनुसार आँधीखोला गाउँपालिकाकी ९४ वर्षीया महिलाको जेठ ४ गते बिहान मृत्यु भएपछि उनको अन्तिम संस्कारमा गाउँलेहरूले अवरोध गरेका छन् । मृतकको छोरा बुहारी जेठ ३ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि पोखरामा उपचाररत छन् । मृतकलाई पनि कोभिड सङ्क्रमण भएको हुनसक्ने भन्दै स्थानीयहरूले अवरोध गरेका थिए । शव जलाउँदा हावाबाट पनि कोभिड सर्छ भन्ने भ्रमका कारण छिमेकीले शव कतै पनि जलाउन नदिएपछि अन्तिममा गाउँपालिकामा सूचना गरेपछि गाउँपालिकाको टोली, प्रहरी र स्वास्थ्यकर्मीसहितको टोलीले शव व्यवस्थापनका लागि प्रयास गरेका भए पनि छिमेकी र गाउँलेहरूले अवरोध गर्दै, विवाद भएको थियो । उनीहरूले मृतकको स्वाब परीक्षणमा कोभिड सङ्क्रमण नदेखिए मात्र जलाउन दिने बताएका थिए । त्यसपछि शवकोे स्वाब परीक्षण नगरी गाउँपालिका र केही आफन्तहरूले मृतकको घर नजिकै बारीमा शवलाई खाल्डो खनेर पुरेका थिए । त्यस्तै, बालिङ नगरपालिका—७ का चार जना बिरामीहरूलाई गाडीको सुविधा नहुँदा कोभिड परीक्षण गर्न इन्सेक स्याङजा प्रतिनिधि तिलकुमारी थापा र वडाध्यक्ष श्याम कृष्ण श्रेष्ठको टोलीले स्वास्थ्य परीक्षण र कोभिड परीक्षणको लागि गह्रौ प्राथमिक स्वास्थ्य केन्द्र लगिकोमा कोभिड सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशन बसेका छन् ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङका तीनवटा स्थानीय तहमा जेठ १५ गते सम्मका लागि निषेध आदेश थप भएको छ । जिल्लाको थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रभर स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वैशाख ३० गतेदेखि निषेध आदेश जारी गरिएकोमा जेठ ६ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले १० दिन निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनु भयो । जिल्लामा आईसीयु तथा भेण्टिलेटर नभएको, स्वास्थ्यका स्रोतसाधन समेत सीमित मात्रामा रहेको तथा सडक र सवारीको पनि राम्रो प्रबन्ध हुन नसक्ने सन्दर्भलाई ध्यानमा राखेर निषेध आदेशलाई थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले बताउनु भयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्की जिल्लाभर निषेध आदेशको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ५ गते सूचना जारी गर्दै निषेध आदेश जेठ ७ गतेदेखि जेठ १४ गतेसम्म थप भएको जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश
रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले कोभिड प्रबन्ध प्रोटोकल बनाएको छ । कोभिड सङ्क्रमणको अवधिमा उपयोगी हुने भएकोले कोभिड प्रबन्ध प्रोटोकल बनाएर जारी गरेको अस्पतालले जनाएको छ । प्रोटोकलमा बिरामीको अवस्था, उपचार, खाने औषधि र अपनाउनु पर्ने तरिकालाई समेटेर नेपाल सरकारको प्रोटोकल र अन्य अस्पतालहरूले बनाएको मापदण्डहरू अनुसार बनाइएको डाक्टर नन्दु पाठकले बताउनु भयो । प्रोटोकल अनुसार बिरामीले खाने औषधि, इन्जेक्सन लगाएकाले अपनाउनु पर्ने विधि लगायतका विषयहरू समेटेको छ । डा. नन्दु पाठकका अनुसार कोभिडका बिरामीहरूको प्रोटोकल अनुसार उपचार हुने बताउनु भयो ।
कर्णाली प्रदेश
रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेपछि रूकुम पश्चिममा १५ दिन निषेध आदेश थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ०७८ वैशाख १९ गतेदेखि जारी निषेध आदेश जेठ ७ गते राति १२ बजेदेखि जेठ २२ गते राति १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनु भयो । यो सँगै जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक निषेध आदेश थप गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुरसञ्चार, खानेपानी, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू भने सञ्चालन गर्न दिइने प्रजिअ गैह्रेले बताउनु भयो । जिल्लामा हालसम्म ५ सय १६ जना कोभिड –१९ का सक्रिय सङ्क्रमण रहेका छन् ।
सुदूरपश्चिम प्रदेश
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार जिल्ला प्रशासन कार्यालयले राहत र आर्थिक सहयोग सङ्कलनमा एकद्वार प्रणाली अपनाउन आग्रह गरेको छ । पछिल्लो समयमा जिल्लामा राहत कोषका नाममा आर्थिक सङ्कलन गर्ने काम भइरहेकाले सो कार्यप्रति ध्यानाकर्षण भएको भन्दै एकद्वार प्रणालीबाट आर्थिक सङ्कलन तथा राहतका कार्यक्रमहरू सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आग्रह गरेका हुन् । पछिल्लो समयमा अस्पतालहरूमा अक्सिजनको समस्या उत्पन्न भएपछि विभिन्न पक्षले अक्सिजन उपलब्ध गराउने र त्यसका लागि आर्थिक सङ्कलन गर्न थालेपछि यस प्रकारका कार्यहरू जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा मात्र गर्नका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । साथै, जिल्लामा निर्माण गरिएका आइसोलेशनहरू पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको समन्वय र सहजिकरणमा स्वास्थ्यका मापदण्डको पालना गरेर मात्रै सञ्चालन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार मार्मा गाउँपालिकालाई माथिल्लो चमेलिया अपि पावर कम्पनीले ३५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमितहरूले अक्सिजन नपाएकै कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि अपि पावर कम्पनीले मार्मा गाउँपालिका कोभिड अस्पताललाई १० थान, इलाका प्रहरी कार्यालय गोकुलेश्वरमार्फत गोकुलेश्वर अस्पताललाई १० थान र जिल्ला प्रहरी कार्यालयमार्फत जिल्ला अस्पताल दार्चुलालाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको कम्पनीका कार्यकारी निर्देशक इन्द्रमणी त्रितालले बताउनु भयो । अहिले जिल्लामा अक्सिजन सिलिण्डर अभाव भएको छ । यसैगरी मार्मा गाउँपालिका वडा नम्बर २ लाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्रीहरू कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले हस्तान्तरण गर्नु भएको छ ।
यसैगरी, स्वास्थ्य कार्यालय, दार्चुलाले कोभिड सङ्क्रमण बढ्दै गएपछि उपचारमा सहयोग पुर्याउने उद्देश्यले होम आइसोलेशनमा बसेका कोभिड सङ्क्रमितका लागि परामर्श लिन र सङक्रमितहरूलाई निगरानीमा राखेर उपयुक्त समयमा परामर्श दिन फोन स्वास्थ्य सेवाको सुरुवात गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले बताउनु भयो । यो सेवा सुरु भएसँगै होम आइसोलशनमा बसेका सङ्क्रमितहरूको स्वास्थ्य स्थिति, अक्सिजनको मात्रा, श्वासप्रश्वासको दरलाई नम्बरिङ्ग दिने र त्यसका आधारमा स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरी परामर्श दिइने कार्यालय प्रमुख भट्टको भनाइ छ ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लामा कोभिड माहामारी व्यवस्थापनमा प्रयोग हुने आधारभूत स्वास्थ्य सामग्रीको अभाव भएको छ । अहिले यहाँका मेडिकलहरूमा मास्क, सेनिटाईजर र ग्लोब्स लगायतका आधारभूत स्वास्थ्य सामग्रीको अभाव भएको दशरथचन्द नगरपालिका–४ गोठलापानीस्थित लेखक मेडिकल स्टोरका सञ्चालक जगदीश लेखकले बताउनु भयो । मास्क, सेनिटाइजर र ग्लोब्स लगायतका आधारभूत स्वास्थ्य सामग्रीमा कालोबजारी पनि बढेको, स्वास्थ्य सामग्रीको मूल्य नै बढी पर्ने गरेका कारण समस्या भएको मेडिकल सञ्चालन सिद्धराज जोशीले बताउनु भयो । माहामारीको समयमा बजार अनुगमन हुन नसकेको कारण स्वास्थ्य सामग्री लगायत दैनिक उपभोग्य वस्तुमा पनि कालोबजारी बढेको स्थानीयहरूको गुनोसो रहेको छ ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएसँगै कोभिड सङ्क्रमितका लागि अत्यावश्यक पर्ने मेरोपेनम, लिभोफ्लोक्सासिन, हेपारिन जस्ता औषधिले रगतमा सङ्क्रमण र निमोनिया हुनबाट बचाउने भएपनि यी औषधिको अभाव हुन लागेको र यो सँगै भिटामिन सी, जिङ्क, डेक्सामेथासोन र रेम्डेसिभिर जस्ता औषधिको पनि अभाव हुन लागेको उपचारमा सङ्लग्न चिकित्सकहरूको भनाइ छ । अक्सिजन आपूर्तिमा समस्या भइरहेको सुदूरपश्चिम प्रदेशमा आइसीयू र एचडीयूमा रहेका बिरामीका लागि चलाउनु पर्ने औषधिको समेत सहज आपूर्ति हुन नसकेको कारण समस्या उत्पन्न भइरहेको औषधि व्यवसायी सङ्घ कैलालीका अध्यक्ष जनकराज जोशीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ६ गतेसम्म ४ सय २ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ ६ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार कानुनी सेवाका लागि इन्सेकले चैत १२ गते आर्थिक सहयोग गरेको छ । मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८ हजार…
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…