कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ४ गते)
जेठ ४ गते ८ हजार १ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ४ गते परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ४ गते १९ वर्ष मुनीका ६ सय ८१ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा २० हजार २ सय ८६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ५२ हजार ४ सय १४ जना निको भएका छन् । जेठ ४ गते ६ हजार ८ सय ९१ जना निको भएका छन् भने निको हुनेको दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ४ गतेसम्म ५ हजार ४ सय ११ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ४ गते १ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १४ हजार ५ सय २९ देखाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रो भेरियण्ट पुष्टि भएको जनाएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३ गते बिहानसम्म ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । यस सम्बन्धमा जेठ ४ गते गृह मन्त्रालयले थप सूचना जारी गरेको छैन ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार विराटनगरमा रहेको नोवेल अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचार खर्च बिरामीसँग लिएको छ । अस्पतालले वैशाख १६ गते नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग निःशुल्क उपचार गर्ने सम्झौता गरेको थियो । तर, अस्पतालले सम्झौता विपरीत नोवेल कोभिड अस्पतालमा उपचार गराएबापत एक जना सङ्क्रमितसँग ८७ हजार रुपियाँ लिएको प्रमाण सार्वजनिक भएको छ । अस्पतालले चिकित्सकले प्रयोग गर्ने पीपीइको २ हजार ५ सय रुपियाँका दरले हिसाब गरी बिरामीसँग रकम लिएको हो । मास्क, सेनिटाइजर, पञ्जालगायतका सामग्रीको मूल्य जोडेर अस्पतालले आफूसँग रकम लिएको सङ्क्रमितले बताएका छन् । नोवेल कोभिड अस्पताल फोकल पर्सन दीपेश न्यौपानेले अस्पतालले सरकारसँग गरेको सम्झौता अनुसार नै उपचार खर्च लिएको बताउनु भएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेको अवस्थामा झापा गाउँपालिकामा स्वाब सङ्कलनका लागि प्रयोग हुने किटको अभाव भएको छ । गाउँपालिकालाईस्वास्थ्य कार्यालयले दिएको १ सय ५० थान किट सकिएपछि किटको अभाव भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउनु भयो । केही सङ्घसंस्थाले स्वाब परीक्षणका लागि दिएको किट सकिएपछि अभाव भएको स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताउनु भयो । किट अभाव भएपछि स्वाब सङ्कलन रोकिएको स्वास्थ्य शाखा प्रमुख विश्वकर्माले बताउनु भएको छ । बुद्वशान्ति गाउँपालिकाले १५ ओटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरी सुविधायुक्त आइसोलेशन सेन्टर जेठ ४ गतेदेखि सञ्चालनमा ल्याएकोे छ । महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधीन भवनमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेकाले चैनपुर, धर्मदेवी, मादी र पाँचखपन नगरपालिका गरी चार ओटा नगरपालिकाको संयुक्त लगानीमा जेठ ४ गतेदेखि चैनपुरमा ५० बेड क्षमताको आइसोलशन सेन्टर सञ्चालनमा ल्याएको चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले जानकारी दिनु भयो । आइसोलेशनमा १८ जना सङ्क्रमितलाई जेठ ४ गतेदेखि राखिएको छ । उक्त आइसोलेशनका लागि पिलुवा हाइड्रोपावरले २२ थान अक्सिजन सिलिण्डर सहयोग गरेको धर्मदेवी नगरपालिकाका प्रमुख रमेशकुमार जिमीले बताउनु भयो । उहाँका अनुसार सङ्खुवासभाको प्रवेशद्वार धर्मदेवी नगरपालिकाको टुटे देउराली नाकामा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।
पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेकाले जोखिम न्यूनीकरण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जेठ १७ गतेसम्म निषेध आदेशको समय थप गरेको छ । जेठ ३ गते मध्यराति निषेध आदेशको समय सकिएकाले पुनः समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धनञ्जयकुमार शाहले बताउनु भयो । यसअघि सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवा प्रवाह गर्ने पसलहरू समेत हप्ताको तीन दिन मात्र सञ्चालन गर्न अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शाहले बताउनु भएको छ ।
तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेकाले जोखिम न्यूनीकरण तथा रोकथामका लागि लालीगुराँस नगरपालिकाले जेठ ४ गतेदेखि जेठ ७ गतेसम्म स्वास्थ्य संस्थाबाहेक सबै वडा कार्यलयहरूबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीका सबै स्थानीय तह जेठ ५ गते बन्द गर्ने जिल्ला समन्वय समितिले निर्णय गरेको छ । कोभिड सङ्क्रमित स्थानीय तहकी एक जना जनप्रतिनिधिको जेठ ४ गते भएको मृत्युप्रति समवेदना प्रकट गर्न जिल्लाभरीका स्थानीय तह बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताउनु भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थानीय तहका प्रमुखहरुको बैठकले स्थानीय तह, शाखा, उपशाखा, वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख यादवले जेठ ४ गते विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।
भेण्टिलेटर र एम्बुलेन्सको अभावमा ४८ वर्षीय सङ्क्रमितको जेठ ४ गते मृत्यु भएको छ । जेठ १ गते छिन्नमस्ता अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था बिग्रेपछि चिकित्सकहरूले जेठ ३ गते रेफर गरेका थिए । मृतक परिवारका सदस्यले जेठ ३ गते राति ११ बजे भेण्टिलेटरको खोजी गरेको भएपनि कुनै पनि एम्बुलेन्स नपाएपछि अस्पताल लिएर जान नसकेको बताए । सप्तरीमा करिब ५० ओटा एम्बुलेन्स छन् । तीन दर्जन बढी एम्बुलेन्सलाई फोन गर्दा पनि कुनै पनि एम्बुलेन्स नपाएको भन्दै उनले फोन सम्पर्कमा ‘एम्बुलेन्स बाहिर छ, बिग्रेको छ, अक्सिजन छैन’ लगायतका जबाफ दिएको आरोप लगाए ।
नेपाली सेनाले कञ्चनरुप नगरपालिकाको धनकट्टास्थित कोशी नदी किनारमा कोभिड–१९ बाट मृत्यु भएका शवहरूको व्यवस्थापन गर्दै आएकोमा कोशी टप्पु वन्यजन्तु आरक्षले अवरोध गरेको छ । आरक्षमा रहेका जङ्गली जनवार र चराचुरुङ्गीलाई असर पर्ने भन्दै आरक्ष कार्यालयले शव व्यवस्थापनमा अवरोध गरेको कञ्चनरुप नगरपालिका–४ का वडाअध्यक्ष रामनारायण साहले बताउनु भयो । आरक्षका वार्डेन र कार्यरत कर्मचारीहरूले यो अन्तिम शव व्यवस्थापन हो र यसपछि शव व्यवस्थापन नगर्नु भनेर कडाई गरेपछि शव व्यस्थापनमा समेत समस्या उत्पन्न भएको साहले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जनकपुरलगायत प्रदेश २ को आठ ओटै जिल्लामा अक्सिजन अभावमा कोभिड सङ्क्रमितको मृत्युदर बढेपछि प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा जेठ ४ गते अक्सीजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । जेठ ४ गते सम्पन्न प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले पछिल्लो समयमा प्रदेशभित्र अक्सीजन ग्यासको आभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरू रहने गरी समिति गठन गरेको आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले जानकारी दिनुभयो । बैठकले कोभिड सङ्क्रमितहरूको उपचार भइरहेको प्रदेश भित्रका सरकारी तथा निजी अस्पतालहरूको अनुगमन गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहको अध्यक्षतामा विज्ञ समूह गठन गरेको छ । समितिले प्रदेश भित्रका अस्पतालहरूको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरूलाई दिनु पर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिनेछ ।
गण्डकी प्रदेश
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङको लोमन्थाङ गाउँपालिकामा आगामी जेठ ९ गतेसम्मका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न तथा भीडभाड नगर्न अनुरोध गरिएको छ । जेठ २ गते गाउँपालिकाका सरोकारवालाको बैठकले जेठ ९ गतेसम्मका लागि निषेध आदेश जस्तै प्रतिबन्धात्मक काम नगर्न अनुरोध गरेको हो । विभिन्न ८ बुँदे निर्देशनसहित गाउँपालिका क्षेत्रमा आवातजावत गर्नका लागि पनि पूर्ण रूपमा बन्द गरिएको गाउँपालिकाका लेखा अधिकृत उज्जल चापागाइँले जानकारी दिनुभयो । यो अवधिमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि १० बजेसम्म खुल्ला हुने र त्यस बाहेकको समयमा पसल खोलेमा १ हजार रुपियाँ जरिबाना गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । त्यस्तै गाउँपालिकाले जेठ ३ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले नभएर गाउँपालिकाले आफ्नो अधिकार प्रयोग गरेर ‘निषेध आदेश’ जारी गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले बताउनुभयो ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार कोभिड–१९ को सङ्क्रमण दर बढिरहेको हुँदा जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक र जिल्ला प्रशासन कार्यालयले जेठ ३ गते सूचना प्रकाशन गरी जेठ ४ गतेबाट जेठ १४ गते राति १ बजेसम्म निषेध आदेशको अवधि थप गरेको छ । यसअघि जिल्लामा वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म निषेध आदेश जारी गरिएको थियो ।
लुम्बिनी प्रदेश
रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार जिल्लामा ६ हजार २ सय ४३ जना कोभिडका सक्रिय सङ्क्रमितहरू रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप पाँच जना सङ्क्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ सय ६७ पुगेको छ । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पतालमा स्थापना गर्न लागिएको कोभिड केयर युनिट अन्तर्गत आइसियु वार्ड स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग बाणिज्य सङ्घ रुपन्देहीले जेठ ४ गते आवश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ । अस्पताल र बाणिज्य सङ्घले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उपकरणहरूमा पाँच थान प्यासेन्ट मोनिटर र पाँच थान आइसियु बेड गरी करिब ४० लाख रुपियाँ बराबरको सामान उपलब्ध गराएको छ । उक्त अस्पतालले कोभिड सङ्क्रमितलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । यसैगरी, जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशको अवज्ञा गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला रेसुङ्गा नपा–८ स्थायी घरभई बुटवल उपमहानपा– ४ बस्ने ४४ वर्षीय शेरबहादुर भण्डारी, स्याङ्जा जिल्ला चापाकोट नपा– १० स्थायी घरभई बुटवल उपमनपा– ११ बस्ने ४० वर्षीय शम्भु भट्टराई र बुटवल उपमनपा– ११ बस्ने २० वर्षीय रुकुम मगरलाई जेठ ३ गते गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक महिना कैद वा सो बराबरको जरिबाना अनुरुप जनही ९ हजार १ सय रुपियाँ जरिवाना दाखिला गरी रिहा गरेको छ ।
बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार कोभिडको दोस्रो लहर सुरु भएपछि सङ्क्रमितहरूको उपचारकै क्रममा मृत्यु हुने सङ्ख्या बढेको छ । ०७७ फागुन महिनाभन्दा अघि १९ जनाको मृत्यु भएको थियो । ०७७ चैत महिनाको पहिलो हप्तादेखि हालसम्म ६५ जनाको मृत्यु भएको छ । जिल्लामा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । जिल्लाका आठ स्थानीय तहमा सबैभन्दा बढी प्रभावित बढैयाताल गाउँपालिका रहेको छ । पहिलो चरणमा कसैको पनि मृत्यु भएको थिएन भने दोस्रो चरणमा अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जेठ २ गते बसेको कर्णाली प्रदेशको मन्त्री परिषद् बैठकले दुर्गमका जटिल खालका कोभिड सङ्क्रमितहरूलाई हेलिकोप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ । डोल्पा, हुम्ला र मुगुका जटिल प्रकृतिका सङ्क्रमितहरूलाई सदरमुकाम तथा त्यहाँ उपचार हुन नसकेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतसम्म ल्याइने प्रदेश सरकारका प्रवक्ता कुर्मराज शाहीले बताउनु भयो । उद्धारका लागि प्रदेश सरकारले निजी सेवा प्रदायक कम्पनिका हेलिकोप्टर चार्टर गर्ने, यसका लागि १ करोड रुपियाँ विनियोजन गरिएको र यसअघि हेलिकोप्टर चार्टर गर्दा दुर्गमका सङ्क्रमितहरूले १० लाख रूपियाँसम्म खर्च गर्नुपर्ने बाध्यता हटेको प्रवक्ता शाहीले बताउनु भयो । बैठकले सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि १३ करोड ८० लाख रूपियाँ सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश स्वास्थ्य निर्देशनालयलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ । प्रवक्ता शाहीका अनुसार यसरी उपलब्ध गराइने रकमबाट अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापन गर्न ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ५ करोड ४५ लाख, रेम्डेसिभिर लगायतका औषधि खरिदका लागि १ करोड र कोभिड सङ्क्रमितहरूको उद्धारका लागि १ करोड खर्च गरिनेछ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिडबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न आवश्यक पर्ने सामग्रीहरू निःशुल्क उपलब्ध गराउने भएको छ । निषेधाज्ञाको समयमा कोभिड सङ्क्रमणबाट मृत्यु भएका आफन्तहरूले शव व्यवस्थापनका सामग्री सहज रूपमा पाउने कुरा चनौतिपूर्ण रहेकोले अस्पतालले नै प्रदान गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले बताउनु भयो । निर्देशक खड्काका अनुसार जेठ ४ गतेबाट मट्टितेल, कैंची, डोरी, कपडा र प्लाष्टिक लगायतका सामग्रीहरू मृतकका आफन्तलाई जेठ ४ गतेबाट प्रदान गर्न सुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार जिल्लास्थित महाकाली अस्पतालमा जेठ ३ गते १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । कोभिड सङ्क्रमितको चाप बढेसँगै अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला स्वास्थ्य सेवा विभागबाट पठाइएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताउनु भयो । कोभिड सङक्रमितहरूको सङ्ख्या अत्याधिक भएपछि महाकाली अस्पतालमा नेपालगञ्ज र धनगढीबाट अक्सिजन आपूर्ति गरेर बिरामीको उपचार भइरहेकोमा अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि सङ्क्रमितको उपचारमा सहजता आएको डाक्टर श्रेष्ठको भनाइ छ ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लामा कोभिड सङ्क्रमणको दर बढ्दै जाँदा परीक्षणका लागि एन्टिजीन किटको अभाव भएपछि कोभिड परीक्षण प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको ९ सय ५० किटमध्ये १ सयको हाराहारीमा मात्रै मौजाद रहेकोले सीमा नाकाहरूमा परीक्षणका लागि मात्र किट रहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । प्रदेशबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराएको किट स्थानीय तहलाई समेत वितरण गर्नु पर्ने भएकोले जिल्लामा किट अभाव भएको स्वास्थ्य कार्यालय, दार्चुलाका कोभिड फोकल पर्सन विरेन्द्रराज भट्टले बताउनु भयो । जिल्लाका सबै स्थानीय तहमा सङ्क्रमण फैलिएको अवस्थामा पीसीआर परीक्षण नहुँदा एन्टिजेन परीक्षणको भरमा सङ्क्रमितको पहिचान भइरहेको भएपनि एन्टिजेन किट सकिएपछि कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको परीक्षण हुन नसकेको जनस्वास्थ्य अधिकृत भट्टको भनाइ छ ।
त्यसैगरी, जिल्लाका अधिकांश स्थानीय तहमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पाँच दिन बितिसक्दा पनि आउन सकेको छैन् । महाकाली नगरपालिकाका १ सय ५१, शैल्यशिखर नगरपालिकाका १ सय ४४, लेकम गाउँपालिकाका १ सय, मालिकार्जुन गाउँपालिकाका ५९, व्याँस गाउँपालिकाका ५१, नौगाड गाउँपालिकाका ९०, मार्मा गाउँपालिकाका ५१, दुहुँ गाउँपालिकाका २८ जनाको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षण गर्न बैतडी पठाइएको पाँच दिन बितिसक्दा समेत उहाँहरूको रिपोर्ट नआएकोले समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालय, दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ४ गतेसम्म २ सय ९५ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ ४ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…