कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २८ गते)

  ०७७ असोज २८ गते

असोज २८ गते २ हजार ३ सय ६८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २८ गतेसम्म ६ सय ७५ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ८० हजार ९ सय ५४ जना निको भएका छन् । असोज २८ गते २ हजार १ सय ७४ जना निको भएका छन् भने निको हुनेको दर ६८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३६ हजार ३ सय ६७ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २१ हजार ५ सय ४८ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय ५ जनाको उपचार आइसीयूमा र ७० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

प्रदेश १
झापा प्रतिनिधि नरेश खातीका अनुसार अर्जुनधारा नगरपालिका–११ र अर्जुनधारा नगरपालिका–४ मा समुदायमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको र सङ्क्रमण फैलने जोखिम रहेको भन्दै वडा कार्यालयहरूले असोज २८ गतेदेखि लागु हुने गरी सेवा बन्द गरेका छन् । असोज २७ गते कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि असोज २८ गते सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सेवा प्रवाह बन्द गरिएको वडाध्यक्ष भैरवबहादुर खड्काले जानकारी दिनु भयो ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि काम कारबाही बन्द गरिएको छ । धनकुटा नगरपालिकाका दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म सेवा बन्द गरेको धनकुटा नगरपालिकाले जनाएको छ । साँगुरीगढी गाउँपालिकामा तीन जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि असोज ३० गतेसम्म गाउँपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । कर्मचारी र जनप्रतिनिधिहरूको स्वाब परीक्षणका क्रममा पोजेटिभ देखिएपछि कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले जानकारी दिनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार इनरूवा नगरपालिकाभित्र कोभिड–१९ का सङ्क्रमित बढ्न थालेपछि इनरूवा नगरपालिकाले असोज २९ गतेबाट अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सेवा प्रवाह बन्द गर्ने भएको छ । नगरपालिकासहित १० ओटै वडा कार्यालय बन्द हुने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि कार्यालय बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।

प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालयका एक २७ वर्षीय कर्मचारीमा असोज २८ गते कोभिड १९ सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अन्य कर्मचारीहरू आइसोलेशनमा बस्नु पर्दा नयाँ नागरिकता फाँट बन्द गर्नु परेको जनाउँदै प्रशासकीय अधिकृत आनन्द ठाकुरले प्रतिलिपी फाँटका कर्मचारीमा सङ्क्रमण देखिएपछि सो फाँटको कामकाज प्रभावित भएको बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकोले थप सङ्क्रमण फैलिन नदिन जोखिम न्यूनीकरण गर्न अर्को सूचना नभएसम्मको लागि कार्यालयबाट हाल प्रवाह भइरहेको शान्ति सुरक्षा, ठाडो निवेदन तथा उजुरी, मुद्दाको सुनुवाइ तथा विपद् व्यवस्थापनसम्बन्धी सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशन नभएसम्मको लागि बन्द भएको असोज २८ गते सूचना प्रकाशन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीहरूले नेपाल सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पुरा गरी अनिवार्य मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुपर्ने तथा कोभिड–१९ लक्षण देखिएका व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध गरिएको र नयाँ नागरिकता र प्रतिलिपि लागि टोकन लिइसकेका सेवाग्राहीहरुको काम कार्यालय पुनः सुचारु भएपश्चात मात्र सम्पादन गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।

बागमती प्रदेश
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार गजुरी प्राथमिक स्वास्थ्य केन्द्र असोज २८ गतेदेखि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका दुई जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि सबै किसिमको स्वास्थ्य सेवा बन्द गरिएको गजुरी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक डाक्टर रामहरी रेग्मीले जानकारी दिनुभयो । गाउँपलिकाले आजै सूचना जारी गरी दुई जना स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ देखिएपछि सबै जना स्वास्थ्यकर्मी समेत कन्ट्याक ट्रेसिङमा परेका कारण सबै स्वास्थ्य सेवा बन्द गरिएको उल्लेख छ ।

गण्डकी प्रदेश

स्याङ्जा प्रतिनिधि तिलकुमारी थापाका अनुसार असोज २८ गते चापाकोट नगरपालिकामा कोभिड सङ्क्रमण बढेसँगै नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको छ । असोज २७ गते चापाकोट नगरपालिकामा एकै पटक १४ जनामा सङ्क्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोभिड फैलिन सक्ने डरले नगरपालिकाले अति आवश्यक बाहेकका सबै सेवाहरू अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाले जानकारी दिनुभएको छ । उहाँले यस अवधिमा बजारमा खाद्यान्न र औषधि पसल बाहेकका पसल बन्द रहने पनि जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार शिखर नगरपालिका–१ कपल्लेकी शेरी गाउँमा भारतबाट आएका १२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि असोज २७ गतेदेखि एक हप्ताको लागि गाउँ नै सील गरिएको छ । भारतबाट आएका १६ जना व्यक्तिलाई केदारेश्वर मावि, कपल्लेकीस्थित क्वारेण्टिनमा राखिएको भएपनि कोभिड परीक्षण नै नगरी क्वारण्टिनबाट भागेर गाउँ गएका उनीहरूको स्वाब सङ्कलन गरी स्वास्थ्य कार्यालय, डोटीको ल्याबमा परीक्षण गर्दा १२ जनामा असोज २७ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँ नै सील गरिएको शिखर नगरपालिकाका स्वास्थ्य इकाइ प्रमुख हरिष शाहले बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा पीसीआर किट अभाव हुँदा असोज २७ गतेबाट कोभिड नमूना परीक्षण बन्द भएको छ । प्रयोगशालामा आवश्यक पर्ने पीसीआर किट नभएकाले सबै नमूना परीक्षण गर्न नसकेको प्रयोगशालाका इञ्चार्ज रमेश शाहीले बताउनु भयो । किट अभावका कारण परीक्षणका लागि सङ्कलन गरिएका २ हजार ५ सय बढी नमूना स्वाब प्रयोगशालामा थन्किएका र परीक्षण रोकिएको इञ्चार्ज शाहीले बताउनु भयो ।


अनलाइन डेस्क