कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)

  ०७७ माघ ११ गते

माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ४ सय १३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६४ हजार १ सय ३७ जना निको भएका छन् । माघ ११ गते ४ सय ३ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ११ गतेसम्म २ हजार १ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३ हजार ३ सय १२ जना सक्रिय सङ्क्रमित रहेकामा २  हजार ५ सय ३७ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ३९ जनाको उपचार आइसीयूमा र २३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

कर्णाली प्रदेश

सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार बनगाड कुपिण्डे नगरपालिकाको प्रभाकर मावि देवस्थल र गङ्गा प्रावि अम्रामा शिक्षक र विद्यार्थीमा कोभिड पोजेटिभ देखिएपछि विद्यालय एक साताका लागि बन्द गरिएको छ । ४६ जनाको स्वाब सङ्कलन गरिएकोमा प्रभाकर माविका शिक्षक र विद्यार्थी गरी १० जनामा र गङ्गा प्राविका तीन जना शिक्षकमा कोभिड पोजेटिभ देखिएपछि माघ ११ गतेदेखि १७ गतेसम्म एक साताका लागि विद्यालय बन्द गरिएको प्रभाकर माविका प्रधानाध्यापक शिखर यरीले जानकारी दिनुभयो ।


अनलाइन डेस्क