कोभिड–१९ को पीसीआर परीक्षणमा बढी शुल्क लिने दुई अस्पताललाई कारबाही

  ०७७ पुस १ गते

कोभिड–१९ को पीसीआर परीक्षणमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र चितवन मेडिकल कलेजलाई मङ्सिर ३० गते जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ ।

कोभिड–१९ को पीसीआर परीक्षणका लागि सरकारले २ हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यी दुई अस्पताल बिरुद्ध गुनासो दर्ता भएको थियो ।

यी दुई अस्पतालले सरकारले तोकेकोभन्दा ५ सय रुपैयाँ बढी शुल्क लिएर कोभिड–१९ को पीसीआर परीक्षण गराइरहेको गुनासो प्रशासन कार्यालयमा दर्ता भएपछि प्रशासनले अनुसन्धान सुरु गरिएको थियो ।

उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  गुनासोकर्ताको नाम प्रशासनले गोप्य राखेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर देजकुमार गौतमलाई  थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशले गौतम ८ लाख रुपैयाँ धरौटी राखेर मङ्सिर ३० गते नै तारेखमा रिहा भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताउनुभयो ।

प्रशासनले मङ्सिर १६ गते चितवन मेडिकल कलेजका सञ्चालकहरू सञ्जय यादव, पारस अधिकारी, उषाकुमारी थापा, दामोदर सापकोटा र प्रद्युम्न घिमिरेसँग बयान लिएको थियो ।

प्रद्युम्न घिमिरे फरार रहेको र अन्य सबै १८ लाख रुपैयाँ धरौटी राखेर मङ्सिर १७ गते तारेखमा रिहा भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।


दिपेन्द्र अधिकारी