कोभिड–१९ः सुदूरपश्चिम प्रदेशमा घटेन जोखिम, सचेतनाको खाँचो

  ०७७ चैत २० गते

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को जोखिम कायमै रहेको छ । कोभिड महामारीको सुरुका दिनमा यसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहहरुले बिभिन्न उपायहरु अवलम्बन गरेको भएतापनि पछिल्ला दिनहरुमा खासै चाँसो देखाइएको छैन् । जसका कारण पुनः सङ्क्रमित हुनेहरुको सङ्ख्यामा बृद्धि भएको छ । सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरु पालना भएको अवस्था छैन् । दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने र अनावश्यक भिडभाड नियन्त्रण जस्ता कार्यहरु हुन सकेको छैन् । कोभिड महामारीको उच्च जोखिममा रहेको छिमेकी मुलुक भारतबाट ठुलो सङ्ख्यामा दैनिक रुपमा घर फर्किरहेका नेपाली नागरिकहरुको सिमानाकामा चेकजाँच हुन सकेको छैन् । चैत १९ गतेसम्म सुदूरपश्चिममा ६२ जना सक्रिय सङ्क्रमितहरु रहेका स्वास्थ्यनिर्देशनालय राजपुर, डोटीले जनाएको छ । जसमध्ये कैलाली जिल्लामा ३१, अछाममा एक, बैतडीमा एक, डडेल्धुरामा दुई, दार्चुलामा एक, डोटीमा १२, कञ्चनपुरमा १२ र अन्य जिल्लामा दुई जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेश समाजिक बिकास मन्त्रालय स्वास्थ्यनिर्देशनालय राजपुर,डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा चैत १९ गतेसम्म पीसीआर बिधिबाट १ लाख ३७ हजार ९ सय ७४ जनाको नमूना सङ्कलन गरी परीक्षण गरेकोमा १४ हजार १ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु मध्ये १४ हजारलाई निको भएको छ । कोभिड सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको छ भने ६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अछाम जिल्लामा १ हजार ६ सय ७७ जना सङ्क्रमित भएकोमा १ हजार ६ सय ७४ जना निको भएका छन् । अछाम जिल्लामा कोभिड सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।

बैतडी जिल्लामा ६ सय ९३ जना सङ्क्रमित भएकोमा ६ सय ८९ जना निको भएका छन् । कोभिड सङ्क्रमणका कारण बैतडी जिल्लामा तीन जनाको मृत्यु भएको छ भने एक जना सक्रिय सङ्क्रति रहेका छन् ।

बझाङ जिल्लामा ९ सय ९७ जना सङ्क्रमित भएकोमा ९ सय ९४ जना निको भएका छन् । कोभिड सङ्क्रमणका कारण बझाङ जिल्लामा तीन जनाको मृत्यु भएको छ ।

बाजुरा जिल्लामा ५ सय २७ जना सङ्क्रमित भएकोमा ५ सय २५ जना निको भएका छन् । कोभिड सङ्क्रमणका कारण बाजुरा जिल्लामा दुई जनाको मृत्यु भएको छ ।

डडेल्धुरा जिल्लामा ७ सय ३१ जना सङ्क्रमित भएकोमा ७ सय २६ जना निको भएका छन् । कोभिड सङ्क्रमणका कारण डडेल्धुरा जिल्लामा तीन जनाको मृत्यु भएको छ भने दुई जना सक्रिय सङ्क्रति रहेका छन् ।

दार्चुला जिल्लामा ३ सय ५५ जना सङ्क्रमित भएकोमा ३ सय ५२ जना निको भएका छन् । कोभिड सङ्क्रमणका कारण दार्चुला जिल्लामा दुई जनाको मृत्यु भएको छ भने एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।

डोटी जिल्लामा १ हजार ४ सय ३५ जना सङ्क्रमित भएकोमा १ हजार ४ सय २२ जना निको भएका छन् । कोभिड सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ भने १२ जना सक्र्रिय सङ्क्रमित रहेका छन् ।

कैलाली जिल्लामा ५ हजार ८ सय ७५ जना सङ्क्रमित भएकोमा ५ हजार ८ सय १४ जना निको भएका छन् । कोभिड सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ भने ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कञ्चनपुर जिल्लामा १ हजार ७ सय ७४ जना सङ्क्रमित भएकोमा १ हजार ७ सय ५२ जना निको भएका छन् । कोभिड सङ्क्रमणका कारण १० जनाको मृत्यु भएको छ भने १२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका ७१ स्थानमा २ हजार १ सय ६ ओटा क्वारेन्टाइन वेड र ८५ ओटा स्थानमा २ हजार २ सय ६१ ओटा आइसोलेसन वेडहरु निर्माण गरिएको थियो । चैत १९ गतेसम्म कैलाली जिल्लामा एक महिलासहित दुई जना र कञ्चनपुर जिल्लामा एक महिला सहित ११ जना आइसोलेसनमा रहेका छन् भने २९ जना होम आइसोलेसनमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालहरुमा कोभिड सङ्क्रमितहरुको उपचारका लागि २९ ओटा आइसियु वेड, २५ ओटा भेन्टिलेटर र २ सय ५४ ओटा आइसोलेसन वेडहरुको व्यवस्था गरेको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशका १ लाख ४९ हजार ५ सय ७९ जनाले खोप लिएका छन् ।

कोभिड–१९ को जोखिम र प्रभावलाई नियन्त्रण तथा रोकथाम गर्न सुरुका दिनहरुमा प्रदेश सरकार र स्थानीय तहहरुसँग पूर्व तयारीका लागि प्रसस्त समय भएको भएतापनि सो समयको पूर्ण सदुपयोग हुन सकेन् ।  कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहको पूर्व तयारी फितलो रहेको पाइयो । संघीय, प्रादेशिक र स्थानीय तहहरुको आपसी समन्वयको अभाव देखियो । सङ्क्रमण हुने दर उच्च हुँदै गएपछि नेपालभारत सिमानाकाहरु पूर्व जानकारी बिना नै बन्द गर्ने कार्यहरु भए । जसका कारण भारतबाट फकिर्ने हजारौँ नेपाली नागरिकहरु सिमानाकामा नै अलपत्र परे । प्रदेश सरकार र स्थानीय तहले नागरिक समाजसँगको समन्वय र सहकार्यलाई महत्व नदिएको पाइयो । जसका कारण प्रदेश र स्थानीय तहबाट वितरण गरिएको राहत कार्यक्रम प्रभावकारी हुन सकेन् ।  कोभिड–१९ को महामारीबाट प्रभावित भई घर फर्किएका भारत प्रवासीहरुका लागि प्रदेश सरकार र स्थानीय तहले आय आर्जनका लागि तय गरेका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेनन् । जसका कारण कोभिड महामारीकैबीचमा हजारौँ सुदूरपश्चिमबासीहरु रोजगारीको खोजीमा भारत पलायन हुन बाध्य भए । यदपी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वरोजगार कोषको प्रबन्ध गरेको छ । स्थानीय तहले आय आर्जनका कार्यक्रमहरु तय गरेका छन् । स्थानीय तह र प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारीका अवसर सृजना गर्ने उद्देश्यमा जोड दिएको छ । नीति तथा कार्यक्रममा रोजगारीको अवसर सृजना गर्ने भनिएको भएपनि त्यसको ठोस योजना र कार्यक्रम नभएकोले यसतर्फ सरकारको ध्यान जान आवश्यक देखिन्छ । साथै, कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सचेतनाका कार्यक्रम र पूर्व सावधानीहरु अपनाउन पनि उत्तिकै आवश्यक छ ।


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी