कोभिड–१९ः यो साता महिला सङ्क्रमित थपिए, १ सय भन्दा बढीको मृत्यु
एक सातामा महिला सङ्क्रमितको सङ्ख्या १ प्रतिशतले बढेको छ भने १ सयभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । एक सातामा कोभिड–१९ का सङ्क्रमित १६ हजार १ सय जना थपिएका छन् । अघिल्लो साताको तुलनामा थपिएका सङ्क्रमितको सङ्ख्यामा झण्डै ५ हजारले कमी आएको छ । गत साता २० हजार ७ सय १ जना सङ्क्रमित थपिएका थिए । कात्तिक ११ गते १ लाख ६० हजार ४ सय जना सङ्क्रमित भएकामा कात्तिक १७ गते कूल सङ्क्रमित १ लाख ७६ हजार ५ सय जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो बिचमा १९ हजार १ सय ४९ जना निको भएका छन् । गत साता निको हुनेको सङ्ख्या १९ हजार ६६ थियो । निको हुनेको कूल सङ्ख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ । एक साताको अवधिमा १ सय ८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ९ सय ८४ पुगेको छ । एक सातामा ६९ हजार १ सय १८ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साता ८३ हजार ४ सय ओटा स्वाब परीक्षण गरिएको थियो । यो साता पनि महिला सङ्क्रमितको सङ्ख्या बढेको छ । कात्तिक ११ गते ३२ प्रतिशत महिला सङ्क्रमित रहेकामा कात्तिक १७ गते आइपुग्दा ३३ प्रतिशतमा पुगेको छ । कात्तिक ४ गते कूल सङ्क्रमितमध्ये ३१ प्रतिशत महिला थिए ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक १८ गतेसम्मको अवधिमा झापामा २ सय ७१ जना पुरूष र १ सय ९० जना महिला गरी ४ सय ६१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३ सय ६३ जना पुरूष र ३ सय ६ जना महिला गरी ६ सय ६९ जना, खोटाङमा २१ जना पुरूष र पाँच जना महिला गरी २६ जना, मोरङमा ५ सय ६१ जना पुरूष र ३ सय ७२ जना महिला गरी ९ सय ३३ जना, उदयपुरमा ३० जना पुरूष र १८ जना महिला गरी ४८ जना, धनकुटामा १४ जना पुरूष र सात जना महिला गरी २१ जना, इलाममा ११ जना पुरूष र १२ जना महिला गरी २३ जना, पाँचथरमा तीन जना, ओखलढुङ्गामा आठ जना पुरूष र दुई जना महिला गरी १० जना, भोजपुरमा ६ जना पुरूष र ६ जना महिला गरी १२ जना, सङ्खुवासभामा १० जना पुरूष र तीन जना महिला गरी १३ जना, ताप्लेजुङमा एक जना पुरूष र एक जना महिला गरी दुई जना, सोलुखुम्बुमा ७२ जना पुरूष र १८ जना महिला गरी ९० जना र तेहृथुममा नौ जना पुरूष र तीन जना महिला गरी १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । एक साताको अवधिमा प्रदेश १ मा २ हजार ३ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ सङ्क्रमितको उपचारका लागि मोरङमा निजी क्षेत्रको सक्रियतामा अक्सिजनसहितको १ सय बेडको नागरिक केयर सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र परिसरमा रहेको नेशनल ट्रेडिङको भवनमा १ करोड रुपियाँको लागतमा १ सय बेडको नागरिक केयर सेन्टर निर्माण अन्तिम चरणमा पुगेको नागरिक केयर सेन्टरका संयोजक पवन सारडाले बताउनु भयो । तिहार अगावै सञ्चालन गर्ने गरी केयर सेन्टर निर्माण कार्य भइरहेको सारडाले बताउनु भयो । अक्सिजन चाहिने बिरामीका लागि निजी अस्पतालमा चर्को शुल्क लिने गरेको गुनासो आएपछि निजी क्षेत्रले प्रदेश सरकार र विराटनगर महानगरपालिकासँगको सहकार्यमा केयर सेन्टर निर्माण कार्य अघि बढाएको हो । कोभिड–१९ सङ्क्रमित बढ्दै आएपछि निजी क्षेत्रसँगको सहकार्यमा १ सय बेडको नागरिक केयर सेन्टर निर्माण सुरू गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो । विराटनगरमा कोभिड–१९ संक्रमित बढेसँगै अक्सिजन वेडको अभाव भएपछि निजी क्षेत्रसँगको सहकार्यमा नागरिक केयर सेन्टर निर्माण सुरू गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनु भयो ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ५ सय २९ जना थपिएका छन् । अघिल्लो साता ५ सय ६६ जना थपिएका थिए । कात्तिक ११ गते १७ हजार ८ सय ४९ सङ्क्रमित रहेकामा कात्तिक १७ गते आइपुग्दा यो सङ्ख्या बढेर १८ हजार ३ सय ७८ पुगेको छ । एक सातामा थप सात जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश २ मा कात्तिक १७ गतेसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । एक सातामा ६ सय ७१ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । कात्तिक ११ गते १ हजार २ सय २१ जना सक्रिय सङ्क्रमित भएकामा कात्तिक १७ गतेसम्म आइपुग्दा १ सय ४९ घटेर १ हजार ७२ मा आएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा कात्तिक १८ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या महिला ३५ हजार ५ सय ७ जना र पुरुष ५७ हजार ८ सय २५ जना गरी जम्मा ९३ हजार ३ सय ३२ जना पुगेको छ । अघिल्लो साता ८२ हजार ५ सय ४७ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यो साता १० हजार ७ सय ८५ जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो साताभन्दा यो साता नयाँ सङ्क्रमणको यो सङ्ख्या ५ हजारले कम हो । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ६९ हजार ७ सय ३२ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा २३ हजार १ सय ३२ जना उपचाररत छन् । अघिल्लो साता सक्रिय सङ्क्रमतिको सङ्ख्या २६ हजार १ सय ९४ जना रहेकोमा यो साता २ हजार ३ सय ४० जना कम भई २३ हजार १ सय ३२ जनामा झरेको हो ।
यस प्रदेशमा महिला सङ्क्रमितको प्रतिशत प्रत्येक साता बढिरहेको छ । अघिल्लो साता ३७.६ प्रतिशत महिला र ६२.४ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा कात्तिक १० गते आइपुग्दा महिला सङ्क्रमित ०.४ प्रतिशन बढेर ३८ प्रतिशत पुगेको छ भने पुरुष सङ्क्रमित ६२ प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो साता देशको कूल सङ्क्रमणको सङ्ख्या ५१.६६ प्रतिशत मात्र रहेकोमा कात्तिक १७ गते आइपुग्दा बढेर ५२.८९ प्रतिशत पुगेको छ । यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रित दुई तिहाईभन्दा बढी रहेका छन् भने मृत्यु हुनेको प्रतिशत भने ६० वर्ष माथिका उमेरमा बढी छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ६७.७८ प्रतिशत निको हुनेको सङ्ख्या रहेकामा कात्तिक १७ गते आइपुग्दा यो सङ्ख्या बढेर ७४.७ प्रतिशत पुगेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कात्तिक १२ गते बाट कात्तिक १७ गतेसम्म थप १ हजार ३ सय ६१ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ८ सय ८८ जना पुरुष र ४ सय ७४ जना महिला रहेका छन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङख्या ८ हजार ४५ पुगेको छ । यो साता कोभिड–१९ को सङक्रमणबाट १ हजार ८ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको सङ्ख्या ६ हजार ६ सय ९४ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट ५४ जनाको मृत्यु भएको छ जसमध्ये यो साता १३ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कात्तिक १७ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल २ हजार ५ सय ४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कास्की र नवलपरासी (पूर्व) जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितहरूमध्ये १ हजार ३ सय ५९ जना होम आइसोलेशनमा बसेका छन् भने ६४ जना आइसीयू र आठ जना भण्टिलेटरमा रहेका छन् ।
पर्वतको जलजला गाउँपालिकामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेपछि समुदायस्तरमा परीक्षणलाई पालिकाले व्यापक बनाउने भएको छ । सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूमा धमाधम कोभिड पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पीसीआर जाँच’ अभियान सुरू गरेको हो । गाउँपालिकाले कात्तिक ११ गते बाट यो अभियान सञ्चालन गरेको छ । ‘आजैबाट अभियानको शुरुवात गरेका छौँ ।’–गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले भन्नुभयो–‘पीसीआर परिक्षणका लागि पहिलो चरणमा लक्षण देखिएका व्यक्तिहरू सम्पर्कमा आएका छन् ।’ जलजला गाउँपालिकाका करिब ५ हजार ७७ परिवारका सदस्यलाई परीक्षण गर्ने अभियान थालिएको अध्यक्ष मल्लले बताउनुभयो । हरेक घरमा एक जनाको स्वाब सङ्कलन गरिएपनि कोभिड–१९ सङक्रमितको परिवारका भने सबैको स्वाब सङ्कलन गरिनेछ ।
कास्कीमा गण्डकी प्रदेश सरकारले कोभिड सङक्रमितको उपचारको जिम्मा लिने घोषणा गरेपनि कोभिड सङक्रमितले सहज रूपमा अस्पतालमा बेड पाउन सकेका छैनन् । सङ्घीय सरकार मातहतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड सङक्रमितलाई भर्ना भएको १४ दिन पुग्नासाथ डिस्चार्ज गर्दै आएको छ । प्रतिष्ठानको आइसोलेशन सेण्टरमा उपचाररत पोखरा मनपा–५ की कोभिड सङ्क्रमित महिलालाई नेगेटिभ रिपोर्ट नआउँदै अस्पतालले डिस्चार्ज ग¥यो । बुधबार अस्पतालले डिस्चार्ज गरेपछि उहाँ हाल प्रस्याङ्स्थित आफ्नै घरमा हुनुहुन्छ । कोभिड सङ्क्रमण निको नहुञ्जेलसम्म उपचार गर्ने प्रदेश सरकारको घोषणा विपरीत सङ्घ अन्तर्गतको प्रतिष्ठानले बिरामी डिस्चार्ज गराएको छ । ४० शैयाको आइसोलेशन बेड रहेको प्रतिष्ठानमा बिरामीको सङ्ख्या दैनिक बढेकाले डिस्चार्ज गरिएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अर्जुन आचार्यको भनाइ छ । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर राम केसी प्रदेश सरकारले दिएको मौखिक निर्देशन प्रतिष्ठानले नमानेको तर्क गर्नुहुन्छ । केही समन्वयको अभावपनि रहेको हुनसक्ने बताउँदै छलफलबाट समस्या समाधान गरिने उहाँको भनाइ छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा कात्तिक १७ गते १३ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५ हजार ६ सय ६५ जना पुगेको छ । जसमध्ये ४ सय ४९ जना होम आइसोलेशनमा छन् भने पाँच जना आइसीयूमा उपचार गराइरहेका छन् । प्रदेशभरी ५ सय ४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै ५ हजार १ सय ४९ जना निको भएर घर गइसकेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । अघिल्लो साता मृतकको सङ्ख्या १० रहेको थियो । यस प्रदेशमा एक साताअघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय २२ रहेको थियो । यो साता १ सय ४३ जना सङ्क्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेश
एक सातामा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित २ सय ५४ जना थपिएका छन् । कात्तिक ११ गते ९ हजार ७ सय १७ सङ्क्रमित रहेकामा कात्तिक १७ गते आइपुग्दा यो सङ्ख्या बढेर ९ हजार ९ सय ७१ पुगेको छ । एक सातामा यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या भने थप भएको छैन । सुदूरपश्चिम प्रदेशमा कात्तिक १७ गतेसम्म १७ जनाको मृत्यु भएको छ । एक सातामा ५ सय ५९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । कात्तिक ११ गते १ हजार २ सय ९ जना सक्रिय सङ्क्रमित भएकामा कात्तिक १७ गतेसम्म आइपुग्दा ३ सय ४ घटेर ९ हजार ४ मा आएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…