डिसिसिएमसी र मानव अधिकारकर्मीबिच कोभिड १९ का सन्दर्भमा समिक्षात्मक बैठक सम्पन्न

  ०७७ असोज २७ गते

कोभिड भाइरसको रोकथाम र नियन्त्रणमा नागरिक समाजको साथ र सहयोग आवस्यक रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनु भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेले असोज २६ गते आयोजना गरेको छलफल कार्यक्रममा  प्रजिअ कुरुम्वाङले कोरोना नियन्त्रण गर्ने दायित्व राज्यको मात्र नभई सम्पुर्ण नागरिकको पनि भएकोले यसको नियन्त्रणमा सबैको साथको आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसिएशन, इन्सेक लगायतका सङ्घ संस्थाहरूको सहभागिता रहेको थियो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेशबाबु श्रेष्ठले कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि बजेट भएपनि स्वास्थ्य सामाग्री खरिद गर्न लामो प्रक्रिया भएकाले समयमा स्वास्थ्य सामाग्री खरिद गर्न नसकेको बताउनु भयो ।

भैरव प्रसाद गण बाँकेका प्रमुख सेनानी नकुल थापाले कोभिडबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन गर्न समस्या रहेको बताउँदै  शव व्यवस्थापन खर्चिलो मात्र नभई गाह्रो पनि भएको बताउनु भयो । उहाँले शव व्यवस्थापन गर्न सहयोग पुर्‍याउन मानव अधिकार सङ्घ संस्थाहरूलाई आग्रह गर्नुभयो ।

नेपाल बारका उपाध्यक्ष सुनिल श्रेष्ठले कोरोना भाइरसको बारेमा समाजमा गलत भ्रम फैलिएकाले सञ्चारकर्मीसँग समन्वय गरी  समाजमा जनचेतना अभियानलाई तिब्ररुपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले एकले अर्कोलाई दोषारोपण मात्र नभइ कसरी सहकार्य गर्न सकिन्छ भन्ने कुरामा अगाडि बढ्न आग्रह गर्नुभयो ।

इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले आइसोलेशनमा खानाको विषयमा धेरै जनगुनासोहरू आएकोले अनुगमन गरी सुधार ल्याउनुपर्ने बताउनु भयो ।

भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले अस्पालमा कोरोना भाइरसको सङ्मितका लागि पर्याप्त वेड नभएको बताउनु भयो । उहाँले कोभिड सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएपछि व्यवस्थापनमा गाह्रो भएको बताउँदै आइसियु र भेन्टीलेटरमा काम  गर्ने स्वास्थ्यकर्मीहरूलाई  तालिम आवश्यक रहेको बताउनु भयो ।

पत्रकार दामोदर भण्डारीले अस्पतालमा कोभिड सङ्क्रमितकाे राम्रो हेरचाह नगरेको बताउनु भयो । उहाँले आफु सङ्क्रमित भएर आइसोलेशनमा बस्दा आइसियु र भेन्टिलेटरमा रहेका बिरामीहरूले खाना नपाएर आत्तिएको र हिडडुल गर्न समेत गाह्रो भएको बताउनु भयो


स्मृति देवकोटा