कैदीबन्दी धेरै हुँदा व्यवस्थापनमा समस्या

  ०७६ कात्तिक १५ गते

जिल्ला कारागार रूकुम पश्चिममा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको र बस्न समेत असहज हुने गरेको कैदीबन्दीको गुनासो रहेको छ ।

कारागारको क्षमता २५ जनाको भएपनि अहिले जिल्ला कारागारमा १ सय १३ जना कैदीबन्दी रहेकाले खान, बस्न निकै समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

एक नाबालक सहित १ सय ६ पुरूष र ६ महिला कैदीबन्दी रहेको जिल्ला कारागार ‘घ’ वर्गको हो । विसं २०४१ सालमा निर्माण भएको जिल्ला कारागारको संरचना अहिलेसम्म उस्तै रहेकोले थोरै बन्दी राख्न बनाइएको कारागारमा यति धेरै मानिसलाई राख्दा समस्या भएको कारागार प्रमुख गौमता पुनले जानकारी दिइन् ।

भौतिक संरचनाको अभावमा कैदीबन्दी असजिलो भोग्नुका साथै व्यवस्थापनले पनि विभिन्न समस्या झेल्दै आइरहेको पुनले बताइन् ।

कैदीबन्दीको सङ्ख्या धेरै भएकाले कैदीबन्दीलाई खान, बस्न, सुत्न र शौचालयको समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

धेरै सङ्ख्यामा कैदीबन्दी हुँदा खान, बस्न र सुत्नसमेत पालैपालो गर्नुपर्ने अवस्था रहेको कैदीको गुनासो छ । सबै कैदीबन्दीहरू जिल्लाकै भएकाले अन्यत्र जान नमान्ने कारागार प्रमुख पुनकोे भनाई छ ।

सो कारागारमा रूकुम पश्चिमका साथै रूकुम पूर्वका कैदीबन्दी पनि राखिएको छ । रूकुम पूर्वमा कारागार नहुँदा दुवै जिल्लाका कैदीबन्दीलाई एकै ठाँउमा राखिएको पुनले जानकारी दिइन् ।

बहस र अनुसन्धान रूकुम पूर्वमा गरिए पनि बन्दीलाई राख्न रूकुम पश्चिममै ल्याइने गरिएको पुनले बताइन् ।

कारागार पुरानो र सानो भएर वर्षौँदेखि समस्या हुँदासमेत विविध समस्याका कारण अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसकेको पनि कारागार प्रशासनले जनाएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भवन निर्माणका लागि चालु आर्थिक वर्षमा १ करोड रुपियाँ बजेट बिनियोजन गरेपनि काम सुरू भएको छैन ।

गत वर्षकै बजेटबाट यो वर्ष भवन निर्माणको लागि टेण्डर गरिने तर सबै प्रक्रिया पूरा गरी कहीलेबाट भवन निर्माण थालिने हो भन्ने विषयमा केही थाहा नभएको जेलर पुनको भनाई छ ।

अघिल्लो वर्ष प्राविधिक नभएका कारण विस्तृत परियोजना प्रतिवेदन नै बनाउन नसकिएको र भवन निर्माण प्रक्रिया समयमै सुरू गर्न नसकिएको कारागार प्रशासनले जनाएको छ ।


मनिषा केसी