कैदीबन्दीहरूको आन्दोलनले कारागार आन्तरिक प्रशासन व्यवस्थापनमा अवरोध

  ०७६ जेठ ५ गते

सुर्खेत कारागारका कैदीबन्दीका नाइकेहरूको विवादपछि कैदीबन्दीहरूको आन्दोलनको कारण कारागारको आन्तरिक प्रशासन व्यवस्थापनमा जेठ ४ गतेदेखि अवरोध आएको छ ।

कैदीबन्दीका नाइके ४६ वर्षीया जनक दर्लामी र ३५ वर्षीय अजय गुरूङले कारागारका चौकीदार ४२ वर्षीय धीरज पराजुली, नाइकेहरू ३९ वर्षीय केशव सारू, ४२ वर्षीय इन्द्र राम्जाली र ३२ वर्षीय नवराज देवकोटामाथि आर्थिक अनियमितता गरेको आरोप लगाएर कैदीबन्दीहरूलाई आन्दोलनमा उतारेपछि आन्तरिक प्रशासन व्यवस्थापनमा अवरोध आएको हो ।

कैदीबन्दीहरूले चौकीदार पराजुली, नाइकेहरू सारू, राम्जाली र देवकोटालाई जेठ ४ गते साँझदेखि कारागार भित्र पस्न नदिएपछि चौकीदार र नाइकेहरूको सुरक्षार्थ प्रहरीले उनीहलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेको छ ।

कैदीबन्दीहरूले उनीहरूलाई कारागार भित्र पस्न नदिनका लागि जेठ ५ गते साँझ ६ बजेदेखि मुलगेटमा तालाबन्दी गर्नुका साथै उनीहरूको अन्यत्र सरूवाको माग गरी नाराबाजी समेत गरेका थिए ।

राजनीतिक पहुँच भएका नाइके दर्लामी र गुरूङले राजनीतिक पहुँच नभएका नाइकेहरूलाई अनावश्यक आरोप लगाई कैदीबन्दीहरूलाई आन्दोलनमा उतारेको कारागार प्रशासनले जनाएको छ । यसअघि सात दिन अघि दुवै पक्षका कैदीबन्दीहरूबीच कुटाकुट समेत भएको थियो ।

कारागारभित्र लागुऔषध ओसार पसार हुनुको साथै कैदीबन्दीहरूलाई ल्याइने सामानहरूमा आर्थिक अनियमितता गरेको भनी चौकीदार पराजुली, नाइकेहरू सारू, राम्जाली र देवकोटामाथि लगाइएको आरोप निराधार भएको सो कारागारका जेलर लक्ष्मी खरेलले बताइन् ।

कैदीबन्दीहरूको आन्दोलनको कारण चौकीदार र नाइकेहरू नहुँदा कैदीबन्दीहरूका लागि खाद्यान्न लगायतका सामान उपलब्ध गराउन नसकिएको र आन्तरिक प्रशासन व्यवस्थापनमा अवारोध आएको जानकारी पनि जेलर खरेलले दिइन् ।

कारागारका कैदीबन्दीहरूलाई अनावश्यक रूपमा उचालेको आरोपमा नाइके दर्लामी र गुरूङलाई आवश्यक कारवाहीका लागि कारागार विभागमा जानकारी दिइसकेको कारागार प्रशासनले जनाएको छ ।

चौकीदार पराजुलीसहित अन्य तीनजना नाइकेहरूलाई जिल्ला प्रहरी कार्यालय लगिएपछि कैदीबन्दीहरूले नाराबाजी गर्न छोडेका थिए ।


दुर्गा थापा