कैदीबन्दीद्वारा कारागारमा तालाबन्दी

  ०७६ कात्तिक १४ गते

बाँके कारागारमा रहेका कैदीबन्दीले आफूहरूमाथि आर्थिक शोषण गरेको भन्दै कात्तिक १४ गते कारागारमा तालाबन्दी गरेका छन् । उनीहरूले कारागार प्रशासन, नाइके र चौकीदारमाथि आर्थिक शोषण गरेको आरोप लगाएका हुन् ।

उनीहरूले कारागारका चौकिदार भरत फडेरा, कारागारका नाइके मानबहादुर शाहीलाई नियन्त्रणमा लिएर ताला लगाएका थिए ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले खबर पाएपछि घटनालाई समयमा नै समाधान गर्नुपर्छ भन्दै कारागार पुगेर कैदीबन्दीको गुनासो सुनेको बताए ।

उनले कैदीबन्दीहरूको माग सम्बोधन गरेर ऐन नियम विपरीत कुनैपनि गतिविधि कारागारमा हुन नदिने बताए ।

कैदीबन्दीहरूले पाउनुपर्ने सेवा सुविधामा कमी आएको भन्दै समाधानको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा कात्तिक १४ गते निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर वलीले बताए । वलीले निवेदन अनुसार उनीहरूको माग सम्बोधन गर्ने बताए ।

कात्तिक १४ गते कारागारमा भेट्न आउने मानिस तथा आफन्तहरूलाई समेत रोक लगाएको छ । कारागारको घटनाबारे स्थलगत अनुगमन गर्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली, मानव अधिकारकर्मी, पत्रकारहरूलाई समेत कैदीबन्दीहरूलाई भेट्न रोक लगाई प्रहरीले फिर्ता पठाएको छ ।

जेलर भरतराज पाण्डे विदामा भएकाले आन्तरिक बैठकपछि मात्र भेट्न दिइने कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले जानकारी दिए ।

३ सय जनाको क्षमता रहेको बाँके कारागारमा हाल ७ सय ६२ जना कैदीबन्दी रहेका छन् । पुरुष कैदी १ सय ३ र थुनुवा ६ सय ४ जना रहेका छन् । महिला कैदी २९ र थुनुवा २४ जना रहेका छन् । दुई  जना आश्रित बालक समेत रहेका छन् ।


स्मृति देवकोटा