कैदीबन्दीद्वारा कारागारमा नाराबाजी र आन्दोलन

  ०७४ साउन ३ गते

राजविराज नपा-६ स्थित सप्तरी कारागारका कैदी बन्दीहरूले साउन ३ गते नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका सई नागेश्वरप्रसाद यादवले दुर्व्यवहार गर्दै बन्दीहरूसँग रकम असुल गरेको आरोप लगाउँदै त्यसैको विरोधमा बन्दीहरूले प्रदर्शन गरेका हुन् ।

प्रत्येक बन्दीले दैनिक पाउने ४५ रुपियाँ र ७ सय ग्राम चामलबाट सई यादवले भाग खोजेपछि बन्दीहरू आन्दोलित भएको जेलर कृष्ण दाहालले बताए । कारागारका चौकिदार जितेन्द्रप्रसाद यादवले अतिरिक्त सुविधाको लोभ देखाएर यादवले पेट्रोल खर्च माग्ने, राशनबाट भाग माग्ने र बन्दी भेट्न आउने महिलासँग समेत दुर्व्यवहार गर्ने गरेकोले आन्दोलनमा उत्रिएको बताए ।

भोजपुर सरुवा भइसकेका सई यादव एक महिना अघि मात्र कारगारको सुरक्षार्थ खटिएका हुन् । सई यादवले भने चेकिङ्मा कडाई गरेपछि कैदीबन्दीहरूले झुठो आरोप लगाएको बताए ।

सई यादवविरुद्ध कैदीबन्दीको नाराबाजीपछि आरोपित सईलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले जानकारी दिए । अनुसन्धानको क्रममा दोषी पाइए कारबाही समेत गरिने एसपी सिंहको भनाइ छ ।

१ सय २५ जनाको क्षमता भएको 'घ' श्रेणीको जिल्ला कारागारमा हाल कैद तोकिएका १ सय ५७ कैदी र कैद नतोकिएका १ सय १२ बन्दी गरी २ सय ६९ जना थुनामा छन् । जसमध्ये १५ जना महिला र एक आश्रति बालिका छिन् ।


मनोहरकुमार पोखरेल