कैदीबन्दीको मागः न्यूनतम सुविधा देउ

  ०७५ जेठ १ गते

२५ जनाको क्षमता भएको कारागारमा १ सय ३८ जना कैदीबन्दी भएपछि उनीहरूले दैनिक जीवनयापनका लागि चाहिने न्यूनतम सेवा सुविधाको अभाव भएको गुनासो गरेका छन् ।

हाल कारागारमा रहेका ८९ जना कैदी र ४९ जना बन्दीले क्षमता भन्दा बढी राखिएका कारण शौचालयका लागि २/३ घण्टा लाइन बस्नुपर्ने, नुवाइधुवाईका लागि ३/४ दिन पालो कुर्नुपर्ने, कारागारभित्र बढी मान्छे भएका कारण हिड्नै असहज भएको भन्दै न्यूनतम सुविधाको व्यवस्था गर्न कारागार प्रशासनसँग माग गरेका छन् ।

वि.स.१९५२ मा बनेको कारागार जीर्ण बनेको र क्षमता भन्दा बढी कैदीबन्दी भएका कारण कारागार सुधार गृह जस्तो नभएर साँच्चिकै पीडा दिने स्थल बनेको जेलर धनीराम चौधरीले बताए ।

कैदीबन्दीले तत्काल कारागार प्रशासनसँग पानी, सुत्ने ठाँउको सहज व्यवस्थापन र शौचालयको व्यवस्था गरिदिन माग गरेका छन् ।

कारागारमा कैदीबन्दी बढी भएका कारण दैनिक आवश्यक न्यूनतम सुविधादेखि बिरामी हुँदा औषधि उपचारमा समस्या देखिएको जेलर चौधरीले बताए ।

उनले भने–‘डिएपसी सञ्जयसिंह थापा आएदेखि कारागारमा कैदीबन्दी बढी भएका छन् । जसका कारण औषधिको बजेट कम भएकाले बाँकी राखेर औषधि तथा उपचार गराउनु परेको छ ।’

०७२ वैशाख १२ गतेको भुकम्पपछि यो कारागारको पर्खाल दुई पटक भत्किसकेको छ । टालटुल मात्र गरिएको छ ।

४० मिटर लामो पर्खाल भत्किएपछि काँडा लगाएर कैदीबन्दीलाइ राखिएको थियो । फुङ्लिङ नगरपालिकास्थित भानु जन मावि नजिक साढे ७ रोपनी जग्गा कारागारको भएपनि कारागार निर्माणमा कसैले चासो देखाएको छैन ।


देवराज गुरुङ