कैदीबन्दीका लागि पुस्तकालय, कर्णाली सरकारको अभियान

  ०७५ पुस २७ गते

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका १० जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान सुरू गरेको छ । प्रहरी प्रशासन, विभिन्न सामाजिक सङ्घसंस्था, इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल, महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढा, पत्रकार डिबी बुढालगायतका व्यक्ति यो अभियान सफल पार्न जुटेका हुन् ।

विभिन्न मुद्दामा कारागारमा वर्षौँसम्म बाहिरी संसार नियाल्न नपाएका तथा बन्दी जीवन बिताइरहेका कैदीहरूका लागि पुस्तकालय बनाउने अभियान सुरू गरिएको हो ।

कर्णाली प्रदेशका १० ओटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजना प्रदेश सरकारले ल्याएको हो । यस नमूना योजनाको कार्यान्वयन स्वरूप जुम्लामा पुस २५ गते एक औपचारिक कार्यक्रमका बीच, कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन गर्ने अभियान शुरू गरिएको हो ।

“कारागारका बन्दीहरूको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ” भन्ने मुलनारा तय गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम रिजालले कर्णालीकै १० जिल्ला मध्ये पहिलो जिल्लाका रूपमा जुम्लामा सञ्चालन गरेको बताए ।

उनले भने–‘कैदीबन्दीलार्य एक अपराधिका रूपमा मात्र हेरिन्छ । जसका कारण उनीहरूले हिनताबोध गरेका हुन्छन् ।’ त्यसैले गर्दा, विभिन्न कला साहित्य, सफल जिन्दगी कथा, आम सञ्चार, मानव अधिकार, कानुनलगायतका पुस्तकहरू अध्यायन गर्न दिँदा मानसिकता समेत परिवर्तन हुने लक्ष्य राखिएको छ ।

जुम्लामा पुस २५ गतेबाट कारागारका लागि पुस्तक सङ्कलन अभिायन थालिएको छ । ‘किताब पढौँ, जीवनलाई बदलौँ, चाहेर वा नचाहेर गल्ती गर्दा, कारागारमा बन्दी हुन पुगेकालाई कारागार पछिको जीवनमा पनि केही गर्न सकिन्छ । यहि मात्र अन्त्य होइन भन्ने कुराको विकास गराउन, यो अभियान थालेका हौँ ।’–सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बताए ।

विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका कैदी तथा पुर्पक्षका लागि कारागारमा बन्दी जीवन विताइरहेका जुम्लामा ७७ जना कैदीबन्दीहरू रहेका छन् । ७७ जना मध्ये दुई जना मात्रै महिला कैदीबन्दी रहेको जेलर टङ्कराज न्यौपानेले बताए ।

उनले भने–‘आफूहरूलाई पुस्तक दिने कुरा थाहा पाएपछि कैदीबन्दी निकै खुशी भएका छन् ।’ कहिले पुस्तक दिन्छन् होला भन्ने दिन पर्खिएको उनले बताए ।


मानदत्त रावल