केयर बाल गृहमा रहेका ११ जना बालिकाको उद्धार

  ०७७ साउन २१ गते

बुढानिलकण्ठ नगरपालिका–१० कपनमा रहेको केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ ।

बाल गृह नजिकै रहेको चौरमा बिस्कुटको कार्टुनमा बालिका भेटिएको भन्दै झुटो प्रचार गरी आर्थिक सहयोग लिइरहेको खुलेपछि साउन २१ गते राष्ट्रिय बालअधिकार परिषदले सो बाल गृहमा आश्रित ११ जना बालिकाको उद्धार गरेको हो ।

सो बाल गृहकी सञ्चालिका पुष्पा अधिकारीले साउन १६ गते बेवारिसे बालिका भेटिएको र आफूले पालन÷पोषणको जिम्मेवारी बहन गरेको बताएको केही दिनपछि उनकै योजनामा बेवारिसे बनाएर प्रचार प्रसार गरिएको थियो ।

‘केयर बाल गृह बालबालिकासँग सरोकार राख्ने र सरकारको कुनै पनि प्रशासनिक निकायमा दर्ता भएको नदेखिएको र पछिल्लो समय विवादित भएकोले त्यहाँ आश्रित बालिकाहरूलाई हामीले उद्धार गरेका हौँ ।’ राष्ट्रिय बालिअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुषालले भन्नुभयो, ‘त्यहाँको सञ्चालिकाले झुटो प्रचार गरी बालिका फेला परेको कुरा बाहिर आएपछि हामी स्थलगत रूपमै बुझ्न गयौँ । सम्बन्धित नगरपालिकाका जनप्रतिनिधि, प्रहरी र स्थानीयको रोहवरमा बालिकाकाहरूको उद्धार गर्यौँ ।’

उहाँले सो बाल गृहको न्युनतम मापदण्ड पनि नपुगेको पाइएको बताउनुभयो । उहाँले उद्धार गरिएका बालिकाहरूलाई हाल सरकारकै अस्थायी संरक्षण केन्द्रमा राखिएको र मापदण्ड पूरा भएको बाल गृहमा राखिने जानकारी दिनुभयो ।

परिषदले तत्कालका लागि अस्थायी संरक्षण केन्द्रमा राखे पनि सम्भव भएकालाई परिवारको खोजी गरी जिल्ला लगाउने र बाँकीलाई दीर्घकालीन गृहमा राख्ने जनाएको छ ।

उद्धार गरिएका बालिकाहरू पाँच देखि १० वर्ष भित्रका रहेका छन् । केयर बाल गृहकी सञ्चालिका पुष्पा अधिकारीले राज्यका निकायहरूको आँखा छल्न बाल गृह जिल्ला प्रशासन कार्यालयमा दर्ता नगरी कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको पाइएको छ ।

उनलाई कानुन बमोजिम कारबाही गर्न महिला तथा बालबालिका मन्त्रालयलाई पत्राचार गरिने बाल अधिकार परिषका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो ।


विमला पौडेल